रामको जन्मभूमि अयोध्या भारतमा होइन, चितवनको अयोध्यापुरीमा पर्छ भन्ने प्रधानमन्त्रीको भनाइपछि पुरातत्व विभागले स्थलगत अध्ययनमा सक्रियता देखाएको छ। स्थानीयबासी पनि जुर्मुराएका छन्। यही क्रममा प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिसँग शनिबार बालुवाटारमा छलफल गरे।
तर, भारतले समेत मान्दै आएको वाल्मीकि आश्रम वर्षौंदेखि ओझेल परेको सरकारले देखेको छैन।
रामायणमा सीताले लवकुशलाई जन्म दिएको, हुर्काएको र वाल्मीकि ऋषिले बह्मज्ञान पाएको क्षेत्रका रूपमा चिनिने यो आश्रम माडी नगरपालिका वडा नम्बर १, चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ। यहाँ पुग्न करिब ५ किलोमिटर भारतीय भूमि टेक्नुपर्छ। भारतलाई प्रवेश शुल्क बुझाएपछि मात्र यहाँ पुग्न सकिन्छ।
नवलपरासीको त्रिवेणी गाउँपालिकाबाट भारत प्रवेश गरेपछि भैंसालोटन (पछिल्लो समय 'वाल्मीकि नगर' भन्ने गरिएको) भएर आश्रम पुग्नुपर्छ। नेपाल हुँदै जान नारायणी नदीमा पुल छैन। चितवन राष्ट्रिय निकुञ्जको जंगल हुँदै जान पाइँदैन।
निकुञ्जको करिब १२ विघा क्षेत्रफलको धार्मिक वनमा रहेको यो आश्रम पुग्न नेपाल-भारत सीमाको ताम्रभद्र (तमोसा) र सोनाभद्र नदी तर्नुपर्छ। तमोसा नजिकै भारतीय सीमा सुरक्षा बलको क्याम्प छ। आश्रम क्षेत्रमा करिब १२ घर सुकुम्बासी छन्। नेपालको सशस्त्र प्रहरीको क्याम्प पनि आश्रम परिसरमै छ, जहाँ जनपदका ३ र सशस्त्रका २६ जनाको दरबन्दी छ।
'विरासत बोकेको आश्रम उपेक्षित रहँदै आएको छ,' माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल भन्छन्, 'नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सकेको छैन। गत वर्ष ३ लाख रुपैयाँ बराबरको वडास्तरीय योजना परेको थियो। त्यसबाहेक अरू बजेट छैन।'
वाल्मीकि आश्रम संरक्षण गर्न सके माडीकै अर्थतन्त्रमा टेवा पुग्ने उनी बताउँछन्। यसका लागि माडी हुँदै आश्रम जाने बाटो बनाउनुपर्छ। वाल्मीकि आश्रमबाट पाण्डवनगर निस्कने ट्रयाक बनाउन निकुञ्जसँग पहल भइरहेको छ। वाल्मीकि आश्रम, गोद्धक, सोमेश्वरगढी, बैकुण्ठताल लगायत धार्मिक क्षेत्र एकीकृत गरी विकास गर्नुपर्ने पौडेलले बताए।
'धुप, दीप किन्ने पनि पैसा भएन'
वाल्मीकि आश्रममा रहेको हरिहर मन्दिरका पुजारी रामशरण गिरी सरकारको उदासीनताका कारण खिन्न छन्। त्रिवेणी गाउँपालिकाको रानीनगर यर्साटाँडी घर भएका उनी यही आश्रममा हुर्किए। पहिले उनका बुबा जद्धु गिरी गोसाई यहाँका पुजारी थिए। बीस वर्षअघि बुबाको निधनपछि उनी पुजारी भएका हुन्।
लकडाउन सुरू भएपछि यहाँ भक्तजन आउन छाडेका छन्। उनी भने साताको दुई दिन पुग्छन्। आश्रम सरसफाइ र मन्दिरमा धुप, दीप गर्न मुश्किल हुन थालेको उनी बताउँछन्।
'पहिले यही मन्दिरबाट आउने दक्षिणाले परिवार चल्दै आएको थियो,' श्रीमती, तीन छोरी र एक छोरासहित छ सदस्यीय परिवारनिम्ति यही एक मात्र कमाइ स्रोत बताउने गिरी भन्छन्, 'अहिले त भक्तजन पनि आउँदैनन्, के खाने, परिवारलाई के खुवाउने भन्ने समस्या हुन थाल्यो।'
उनले मन्दिरका लागि आवश्यक धुप, दीप पनि सापटी खोजेर किन्ने गरेको बताए।
'पूजा सामग्रीमै १५ हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो,' उनले सुनाए, 'कसैले वास्ता गर्दैन। मन्दिरको मायाले जसोतसो आफ्नो काम गरिरहेको छु।'
उनका बुबालाई राजा महेन्द्रले पुजारी बनाएका थिए। आमा पनि त्यहीँ काम गर्थिन्। त्यतिखेर दुई जनाले मासिक ३५-३५ रुपैयाँ पारिश्रमिक पाउँथे। बुबाको निधनपछि सरकारले २० हजार रुपैयाँ उपदान भनेर दिएको थियो। तर, उनी पुजारी भएदेखि कुनै सुविधा पाएका छैनन्।
'भक्तजनले पनि सहयोग गर्नुहुन्थ्यो, समाजसेवीहरूबाट पनि सहयोग आउँथ्यो। त्यही सहयोगले घर खर्च चलाउँदै आएको थिएँ,' दुःख सुनाउँदै उनले भने, 'अहिले त एउटा पसलले पैसा तिरेन भनेर उधारो दिन छाड्यो, अर्कोबाट उधारोमा ल्याउन थालेको छु। यसरी कहिलेसम्म गुजारा चलाउने?'
उनले मन्दिर परिसरमा पूजा सामग्री पसल राखेका थिए। भक्तजन आउन छाडेपछि त्यो पसल बन्द छ।
आश्रम व्यवस्थापनबारे संस्कृति मन्त्रालयमा पटक–पटक कुरा पुर्याए पनि प्राथमिकतामा नपरेको स्थानीय बताउँछन्। यहाँ दैनिक ५० जनादेखि २ हजारसम्म भक्तजन पुग्थे। तीमध्ये ९० प्रतिशत भारतीय थिए। माघे औंसीका दिन लाग्ने त्रिवेणी मेलामा यहाँ दर्शनार्थीको भीड लाग्छ।
नेपाल धार्मिक सम्पदाले धनी देश भएर पनि संरक्षण हुन नसकेको गिरी बताउँछन्।
'भारतले नेपालकै भनेर मानेको सम्पदाको नै संरक्षण हुन सकेन। उनीहरूले दाबी गरेकोलाई आफ्नो भनेर कसरी विकास होला र?' उनले प्रश्न गरे, 'यस्तो पवित्र तीर्थस्थल राज्यको नजरमा कहिल्यै परेन। यहाँ आउने सहज बाटो छैन, धार्मिक महत्वका कयौं शिला, मूर्तिहरू खुला आकाशमुनि छन्।'
वाल्मीकि आश्रममा हरिहर र सीता मन्दिर छन्। धार्मिक मान्यताअनुसार यहीँ बसेर वाल्मीकि ऋषिले रामायण रचना गरेका थिए। रावणको अपहरणबाट मुक्त भएर अयोध्या फर्किएकी सीतामाथि लाञ्छना लागेपछि उनलाई लक्ष्मणले वाल्मीकि आश्रम नजिक लगेर छाडेका थिए। त्यहीँ लव–कुशको जन्म भयो। अश्वमेघ यज्ञ गरेर छाडेको घोडा लव–कुशले मौलोमा बाँधे। पछि सीताले लव–कुशलाई रामको जिम्मा लगाएर सोही क्षेत्रमा पाताल प्रवेश गरेको कथा छ।
'सरकारी निकायबाट संरक्षण गर्न सहयोग भए यो ठाउँ आस्थाकै केन्द्र बन्न सक्थ्यो,' पुजारी गिरी भन्छन्।
भारतले देख्यो, नेपालले देखेन
राजा महेन्द्रले सोनाभद्रा र तमोसा नदीमा पुल बनाइदिएर वाल्मीकि आश्रमको विकास गर्ने योजना ल्याएका थिए। लगत्तै भैंसालोटनको नाम वाल्मीकि नगर राखियो। नजिकैको जंगललाई 'वाल्मीकि परियोजना' नामकरण गरियो।
२०५४ सालदेखि वाल्मीकि आश्रमको विकासमा पहल गर्दै आएको विश्व सनातन धर्म स्थापनार्थ मूल समितिका अध्यक्ष दीपकजंग रायमाझी वाल्मीकि क्षेत्रलाई नेपालले चिन्न ढिलाइ गरेको बताउँछन्।
'डिपिआर तयार छ, मन्त्रालयमा फाइल पुगेको छ,' उनी भन्छन्, '२०५९ सालमा बनेको डिपिआरको २०६९ सालमा संशोधन पनि भयो, १० करोड रुपैयाँ बजेट अनुमान गरियो, तर गुरुयोजनाअनुसार बजेट परेन।'
रायमाझीका अनुसार गुरुयोजनामा भिआइपी र साधारण धर्मशाला, हवन गृह, भग्नावशेषहरूलाई नछोपी २–३ फिट परबाट सानो पर्खाल लगाएर माथि चार कुनामा नेपाली शैलीको टायल राखी संरक्षण गर्ने, पुस्तकालय, खानेपानी, शौचालय लगायत पूर्वाधार निर्माण गर्ने परिकल्पना गरिएको थियो। त्यो योजना अहिलेसम्म अलपत्र छ।
'हामीले वाल्मीकि आश्रम विकास समिति बनाएर तीव्र गतिमा विकास गरौं भनेर बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं,' रायमाझीले भने, 'गुरुयोजना कार्यान्वयन गर्न सकेको भए वाल्मीकि आश्रम धार्मिक पर्यटनका लागि विश्वकै एक प्रमुख गन्तव्य बन्थ्यो।'
निकुञ्जले छेक्छ बजेट
वाल्मीकि आश्रम विकास गर्न बेलाबखत बजेट परे पनि राष्ट्रिय निकुञ्जका कारण कार्यान्वयनमा बाधा परेको १५ वर्षदेखि निर्माण उपभोक्ता समितिमा रहेका रामप्रसाद ढकाल बताउँछन्।
करिब पाँच वर्षअघि धर्मशाला बनाउन ७० लाख रूपैयाँ बजेट परेको थियो। तर, रुख काट्न नपाइने कारण देखाउँदै निकुञ्जले रोक्यो। सुकुम्बासीलाई घर बनाउने भनिएको ११ लाख रुपैयाँ पनि काम नभई रोकियो।
'यसपालि खानेपानी र टायल बिछ्याउन २५ लाख बजेट पर्यो,' ढकाल भन्छन्, 'काम हुनै पाएन, समितिले काम थाल्न नपाउँदै बजेट रोकियो।'
यहाँ करिब ५ वर्षअघि झोलुंगे पुल बनाउन सुरू गरिएको थियो, जुन यो वर्ष पूरा हुन लागेको छ। निर्माणको जिम्मा पाएको जलप नेपालका तारा पौडेल माघ महिनामा निर्माण पूरा हुने दाबी गर्छन्। २ सय ७० मिटर लामो पुलको लागत ९ करोड रुपैयाँ छ। पुल ४ फिट चाक्लो हुनेछ।
पुल बनेपछि त्यहाँबाट करिब २ किलोमिटरको बाटो पैदल हिँडेर वाल्मीकि आश्रम पुग्न सकिनेछ। अहिले त्रिवेणीधाम नजिकैको नारायणी नदीमा हिउँदमा डुंगाबाट तरेर जान सकिन्छ।