एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ३० जना स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिनमा राखिएकामध्ये ६ जना डाक्टर हुन्।
मंगलबार गरिएको परीक्षणका क्रममा चितवनमा डाक्टर, एक नर्स, एम्बुलेन्स चालक तथा अस्पतालका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएको थियो।
उनीहरूमध्ये एक नर्स क्यान्सर अस्पतालकी हुन्। संक्रमित डाक्टरले भरतपुर अस्पताल र मौलाकालिका अस्पतालमा काम गर्दै आएका थिए।
यहाँ मंगलबार नै इच्छाकामना गाउँपालिकाका अर्का एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको थियो।
त्यसैगरी, नारायणी सामुदायिक अस्पतालका दुई जना कर्मचारी र एक जना एम्बुलेन्स चालकमा कोरोना पोजेटिभ देखिएको थियो।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार कोरोना देखिएकी नर्सको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य ७ जना नर्सहरूलाई क्वारेन्टिनमा राखिएको छ।
उनीसँग सम्पर्क भएको हुनसक्ने ६ जना डाक्टर, नर्स र कर्मचारीहरू गरी बाँकी २३ जनालाई होम क्वारेन्टिनमा बस्न भनिएको छ।
उनीहरू सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको डा.गौतमले बताए।
डा.गौतमका अनुसार अहिलेसम्म उक्त अस्पतालमा उपचारका लागि आएका बिरामी र स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना संक्रमण भएको छ।
‘कोरोनाको हटस्पट बन्दै गरेका तराईका जिल्लाका बिरामीहरू धेरै आउने भएका कारण संक्रमणको खतरा यहाँ छ’, डा.गौतमले भने, ‘हामी असाध्यै जोखिममा रहेर सेवा दिइरहेका छौं।’
उनले लक्षण देखिएका, ट्राभल हिस्ट्री भएका र अपरेसन गर्ने तयारीमा रहेका बिरामीहरूको स्वाब परीक्षण गर्ने गरिएको बताए।
अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्यकर्मीहरूमा चिन्ता थपिएको बताए।
स्टाफ नर्समै संक्रमण देखिएपछि उनले काम गर्दै आएको मेडिकल अंकोलोजी विभागको काम रोकिएको उनले बताए।
‘केमो चढाउनुपर्ने क्यान्सर रोगका बिरामीहरूलाई पनि एक–दुई दिन पर्खनुस् भनेका छौं। सबैको रिपोर्ट नेगेटिभ आयो भने सञ्चालन गरिहाल्छौं’, उनले भने।
क्यान्सर अस्पतालमा दैनिक करिब ५ सय जना बिरामी उपचारका लागि आउँछन्।
उनीहरूमध्ये करिब एक सय जना नयाँ बिरामी हुन्छन्। करिब ७० प्रतिशत बिरामी तराई क्षेत्रका हुने गरेको महतोले बताए।
‘उपचारका लागि आएका बिरामीलाई यसै फर्काउन मिलेन’, महतोले भने, ‘स्वास्थ्यकर्मीहरूले जोखिम मोलेरै पनि सेवा दिनुभएकै छ।’
चितवनमा अहिलेसम्म ७ जना स्वास्थ्यकर्मीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये दुई जना डाक्टर हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका कोभिड १९ हेर्ने अधिकृत गिताञ्जली ढकालका अनुसार चितवनमा अहिलेसम्म १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यहाँको ल्याबमा गरिएको परीक्षणका क्रममा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको ढकालले जानकारी दिइन्।
(* सम्पादन गरिएको)