चितवनको पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमितको उपचार उक्त अस्पतालमै गर्न थालेको छ।
उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि सघन उपचार कक्ष आइसीयू सिल गरी त्यहीँ उपचार गर्न थालेको हो।
जिल्लाका अन्य अस्पतालहरुले बिरामीमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पताल पठाउने गरेका थिए। केही साताअघि जिल्लाको एक निजी अस्पतालले कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा रहेका बिरामीलाईसमेत निकालेर सरकारी अस्पताल पठाएको थियो।
भरतपुर–१०, चौबिसमोठीमा रहेको पुष्पाञ्जली अस्पतालले सरकारको निर्देशनअनुसार सोही अस्पतालको सघन उपचार कक्षमै राखेर बिरामीको उपचार गराइने उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि बीस प्रतिशत शैया सुरक्षित राख्न निर्देशन दिएको थियो।
उक्त अस्पतालले जिल्ला प्रशासन कार्यालय र हव अस्पताल भरतपुर अस्पतालसँगको समन्वयमा बिरामीको उपचार भइरहेको जनाएको छ। यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन भइसकेको अस्पतालले जनाएको छ।
सघन उपचार कक्षको भवन छुट्टै रहेका कारण अन्य बिरामीलाई छुट्टै भवनबाट आवश्यक सतर्कता अपनाउँदै ओपीडी तथा आन्तरिक सेवा दिइने अस्पतालले जनाएको छ। त्यहाँ उपचाररत रत्ननगर–९ निवासी ६१ वर्षका पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
ती बिरामी साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि उक्त अस्पताल भर्ना भएका थिए।
ती बिरामीको दुईवटै फोक्सोमा ‘भाइरल निमोनिया’ देखिएको छ। उनको अवस्था अहिले गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ। तर, भेन्टिलेटरको आवश्यकता भने नदेखिएको अस्पतालले जनाएको छ।