चितवनमा थप तीन जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारीअनुसार उनीहरू भरतपुर अस्पतालमा कार्यरत हुन्।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्स र सघन उपचार कक्षमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि त्यहाँ कार्यरत अन्य ७० जना स्वास्थ्यकर्मी तथा बिरामीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।
शनिबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाका केशव भट्टले जानकारी दिए। यहाँ दुई जना नर्स र तीन जना एटेन्डरलाई संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो।
भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा कार्यरत एक जनामा पनि कोरोना पोजेटिभ देखिएको भट्टले बताए। यहाँको सेन्ट्रल अस्पतालबाट स्वाब संकलन गरिएका एक जनामा पनि कोरोना पुष्टि भएको छ।
नर्समा कोरोना संक्रमण देखिएपछि सिल गरिएको भरतपुर अस्पतालको आकस्मिक कक्ष शनिबार रातिबाट सञ्चालनमा ल्याइएको छ।
क्यान्सर अस्पतालको मेडिसिन वार्ड भने अझै सिल छ। मेडिसिन वार्ड सिल हुँदा किमो चढाउनुपर्ने अवस्थाका क्यान्सरका बिरामीहरुलाई असर परेको छ।
चितवनमा अहिलेसम्म दुई दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन्। शनिबार राती चितवनका २७ सहित २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो।