चितवनमा सशस्त्र प्रहरीका ४२ जनासहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिए।
संक्रमित सशस्त्र प्रहरी मध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए।
उनले एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको न्यौपानेले बताए। यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो।
उनीहरू मध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन्।
चितवनमा सोमबार राति गरिएको परीक्षणमा कुल ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये भरतपुर महानगरपालिकाका ४ जना, बाराका २ जना तथा मकवानपुर र गोरखाका एक/एक जना रहेका छन्। उनीहरू सबै भरतपुरकै विभिन्न अस्पतालमा उपचाररत छन्।
सोमबार कुल ३ सय ५५ नमुना परीक्षण गरिएको थियो।