सशस्त्र प्रहरीको चितवनको भण्डारास्थित बाहिनी कोरोना संक्रमणको जोखिममा परेको छ । यहाँका ५० जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाहिनीका प्रमुख डिआइजी मन्दिप श्रेष्ठकाअनुसार अहिलेसम्म ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरूमध्ये ४२ जनाको रिपोर्ट सोमबार राति पोजेटिभ आएको थियो। संक्रमितहरू डीएसपी तहसम्मका छन्।
दश दिनअघि १७ जनाको स्वाब परीक्षण दुई चरणमा गरी ८ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु मध्ये २ जना भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन्। त्यतिखेरका बाँकी ६ जना बाहिनीमै छन्।
अहिले पुष्टि भएका ४२ जनालाई पनि बाहिनी भित्रै राखिएको डिआइजी श्रेष्ठले जानकारी दिए।
‘अस्पतालहरूमा ठाउँ छैन भनेपछि हामीले बाहिनी भित्रै छुट्टै आइसोलेसन खडा गरेर संक्रमितलाई राख्दै आएका छौं’, उनले भने, ‘बाहिनीकै स्वास्थ्यकर्मीले सेवा दिइरहनुभएको छ।’
डिआइजी श्रेष्ठकाअनुसार कोरोना संक्रमण पुष्टि भएका, स्वाब दिएर नेगेटिभ रिपोर्ट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेका र अन्यलाई छुट्टा–छुट्टै समूह बनाएर राखिएको छ।
‘आवश्यक परेको अवस्थामा तुरुन्तै अस्पताल पुर्याउन सकिनेगरी एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं’, उनले भने, ‘अतिआवश्यक उपकरणहरु पठाइदिन केन्द्रमा माग पनि गरेका छौं।’
अहिलेसम्म सामान्य ज्वरो र रुघा खोकीबाहेक गम्भीर लक्षण नदेखिएको उनले बताए।
श्रेष्ठकाअनुसार सुरुआतमा लक्षण देखिएर वा शंकास्पद लागेर स्वाब परीक्षण गरिएको थिएन।
‘लहरो तान्दा पहरो थर्किएको झैं भयो’, उनले भने, ‘अब सबै शंकास्पदमा परियो। सबैको परीक्षण गर्ने तयारी भइरहेको छ।’
यस बाहिनीमा तीन सय भन्दा बढी प्रहरीहरु कार्यरत छन्। प्रशासनिक काममात्रै हुने भएका कारण यहाँका प्रहरीका कारण समुदायमा जोखिम भने नरहेको उनी बताउँछन्। यद्यपी भाइरसको संक्रमण कताबाट भित्रियो भन्ने विषय भने पत्ता लगाउन नसकेको उनले बताए।
राप्ती नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुरेश न्यौपानेले प्रहरीमा कोरोना संक्रमण फैलिएपछि उच्च सतर्कता अपनाउँदै सबैको कन्ट्याक्ट ट्रेसिङ गर्न लागिएको बताए। बाहिनीमा एकजना आफ्नै स्वास्थ्यकर्मी भएपनि त्यो पर्याप्त नहुने भन्दै उनले अस्पताल लैजान नसकिने अवस्था हो भने यही चिकित्सकको टीम खटाउनुपर्ने बताए।
‘भाइरस धेरैमा फैलिएको जस्तो देखिन्छ, केहीमा लक्षण पनि देखिएको छ’, उनले भने, ‘एउटा एम्बुलेन्सले धान्ला जस्तो लाग्दैन। चिकित्सकको टीमनै खटाउनु अवश्यक देखिन्छ।’
राप्ती नगरपालिकामा अहिलेसम्म ६० जनामा संक्रमण पुष्टि भएको छ। ती ५ जना भरतपुर अस्पतालमा उपचार गराइरहेका छन्। ४८ जना बाहिनीमा र एक जना ८६ वर्षीया वृद्धा होम आइसोलेसनमा छन्। ती महिलाको स्वास्थ्यअवस्था अहिलेसम्म सामान्य रहेको न्यौपानेले बता । अन्यलाई निको भइसकेको छ।