चितवन मेडिकल कलेजले मंगलबारदेखि पिसिआर परीक्षण सुरू गरेको छ।
चितवनमा अहिलेसम्म सरकारी प्रयोगशालामा मात्र परीक्षण हुँदै आएकामा मंगलबारदेखि निजी खर्चमा पनि परीक्षण गर्न पाइने भएको छ।
कलेजले केही दिनअघि मात्रै कोरोनाको पिसिआर परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालाबाट अनुमति पाएको थियो।
कलेजका अध्यक्ष प्रा.डा हरिशचन्द्र न्यौपानेले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच गरेर सर्वसाधारणका लागि पनि परीक्षण सुरू गरिएको जानकारी दिए।
न्यौपानेले सरकारले तोकेको एउटा नमूनाको पाँच हजार ५०० रुपैयाँमा १० प्रतिशत थप गरी शुल्क लिइने बताए।
नमूना परीक्षणका लागि छ हजार ५० रुपैयाँ लिइने उनले बताए।
कलेजले कोरोनाको महामारीसँगै पिसिआर मेसिन भित्र्याएको थियो। न्यौपानेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै उपकरण जडान गरिएको हो। प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख खर्च भएको कलेजले जनाएको छ।
प्रयोगशालामा आठ जना प्राविधिकले परीक्षणको काम गर्नेछन्। दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० को स्वाब परीक्षण गर्न सकिने प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए। यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले बताए।
भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैं शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन्।
निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन्।
जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ। भरतपुर अस्पतालमा संकलन भएको नमूनाको संख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ।
डा.न्यौपानेले सरकारले सिफारिस गरेका नमूनाहरू पनि यहाँबाट परीक्षण गरिने जानकारी दिए।