चितवनको खैरहनी नगरपालिकामा मृत्युपछि कोरोना पुष्टि भएकी वृद्धाका आफन्त तथा छिमेकी ४ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।
कन्ट्याक्ट ट्रेसिङ्का क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो। मंगलबार बिहान मृत्यु भएकी १०८ वर्षीया वृद्धामा साँझमात्र कोरोना पोजेटिभ पुष्टि भएको थियो।
चारैजना होम क्वारेन्टिनमा छन्।
भरतपुरस्थित प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरूमध्ये २० जना चितवनका हुन्।
प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार कोरोना पुष्टि हुनेहरू ९ वर्ष देखि १०८ वर्षसम्मका छन्।
भरतपुर महानगरपालिका भित्रका ५ महिला र ७ जना पुरुषगरी १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
उनीहरूले भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका थिए।
त्यस्तै राप्ती ४ र ५ का दुई जनामा संक्रमण देखिएको छ। उनीहरूको स्वाब भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट पठाइएको हो।
नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक/एक जनामा कोरोना पुष्टि भएको छ।
उनीहरू सबै भरतपुरकै विभिन्न अस्पतालका कर्मचारी तथा बिरामीहरू हुन्।