पिसिआर परीक्षणको मान्यता नै नपाएको वीरगन्जको नारायणी बयोधा अस्पतालले बिरामीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने गरेको खुलासा भएको छ।
अस्पतालमा आएका बिरामीको पिसिआर परीक्षण गर्नुपर्ने भन्दै आफैले स्वाब संकलन गरेर काठमाडौं पठाउने गरेको र बिरामीसँग प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको खुलेको हो।
अस्पतालका फिजिसियन डाक्टर राजिव यादवले बिरामीहरुलाई आवश्यकताअनुसार पिसिआर परीक्षणका लागि सिफारिस गर्ने गरिएको बताए।
‘तर अस्पताल आफैले स्वाब संकलन गर्छ, आफैले परीक्षण प्रकृया अघि बढाउँछ भनेर मलाई पनि पहिले थाहा थिएन’, सेतोपाटीसँग उनले भने, ‘हामीले त आवश्यक पर्ने बिरामीलाई परीक्षण गर्नुपर्ने भनेर लेखिदिने हो।’
उनले आफूलेजस्तै अन्य दुई फिजिसियनले पनि त्यसैगरी परीक्षणका लागि सिफारिस गर्ने गरेको बताए।
डा. यादवले अस्पतालले स्वाब संकलन गरेको जानकारी केही दिन अघि मात्रै थाहा पाएको बताए। अस्पतालमा आएका केही व्यक्तिको रिपोर्ट पोजेटिभ पनि आएको उनले बताए।
पर्सास्थित स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरासियाका अनुसार जिल्लामा कोरोनाका शंकास्पद व्यक्तिको स्वाब संकलनको अनुमति नारायणी अस्पताल, गण्डक कोभिड अस्पताल र वीरगन्ज हेल्थकेयर कोभिड अस्पताललाई मात्र छ। तर बयोधा अस्पताललाई छैन।
बयोधाले नै स्वाब संकलन गरेको जानकारी पाएपछि पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले अस्पतालका पदाधिकारीहरुलाई बोलाएर अनुमति बिना स्वाब संकलन नगर्न निर्देशन दिएका छन्।
सेतोपाटीसँग कुरा गर्दै प्रजिअ तामाङले प्रकृया पुरा गरेर मात्रै स्वाब संकलन गर्न भनिएको बताए। उक्त अस्पतालले काठमाडौंस्थित बयोधा अस्पतालबाट अनुमति पाएका कारण स्वाब संकलन गरेको प्रतिक्रिया दिएको प्रजिअ तामाङले बताए। तर जिल्लाको अनुमति बिना कसैले पनि आफूखुसी परीक्षण गर्न नपाउने उनको भनाइ छ।
‘अनुमति लिएर काम गर्नुस्, तपाईहरुका लागि आवश्यक सामग्रीहरु हामी नै उपलब्ध गराउँछौं भनेका छौं’, उनले भने, ‘अन्यथा कारबाही प्रकृया अगाडि बढाउनुपर्छ।’
उनले वीरगन्जमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सबै स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्दै अघि बढ्ने र आवश्यकताअनुसार परीक्षणको दायरा फराकिलो बनाउँदै लगिने बताए।