कोरोनाभाइरसको संक्रमण बढदै जाँदा अस्पताल भरिँदै गएका छन्। आउने दिनमा संक्रमण झनै बढ्ने देखिन्छ। संक्रमण बढेसँगै गम्भीर समस्या नदेखिएका बिरामी घरमै बस्ने क्रम बढ्ने छ।
'होम आइसोलेसन’(घरमा अरू परिवारभन्दा अलग भएर)मा कसरी बस्ने, आफूलाई भएको संक्रमण परिवारमा कसरी सर्न नदिने भन्ने अत्यन्तै महत्वपूर्ण विषय छन्।
'होम आइसोलेसन’का दुई तरिका छन्। एउटा सबै परिस्थिति मिल्दा कसरी बस्न सकिन्छ भन्ने। अर्को आ-आफ्नो घरको अवस्थाअनुसार कसरी सावधानी अपनाएर बस्ने।
आइसोलेसनमा बस्नु पर्ने मुख्य कारण, कोरोनाभाइरस पोजेटिभ देखिएको व्यक्तिबाट अरूलाई नसरोस् भन्ने हो।
जसले घरमा अलग्गै कोठा र शौचालय प्रयोग गर्न सक्नुहुन्छ उहाँहरूले त्यसो गर्नुपर्छ। त्यो कोठा र शौचालयमा अरूले प्रवेश गर्नुहुन्न। बिरामी बस्ने कोठा छान्दा भरसक भेन्टिलेसन भएको, उज्यालो कोठा छान्नुपर्छ। प्रशस्त हावा खेल्ने र उज्यालो छिर्ने कोठामा बिरामीलाई संक्रमणबाट चाँडै निको हुन सजिलो हुन्छ। गुम्सिने, उज्यालो नपुग्ने खालको कोठा भयो भने रोग निको हुन समय लाग्छ।
त्यसरी घरमा बसेको बिरामीसँग परिवारका अरू सदस्य अलग्गै बस्नुपर्छ। बिरामी खाना दिँदा, ढोकामा बिरामीले प्रयोग गर्ने छुट्टै थाल बटुकामा खाना राखिदिने गर्नु पर्छ। ती थाल-बटुका अरूले नछुने, बिरामी आफैंले सफा गर्ने र आफ्नै कोठामा लगेर राख्ने गर्नुपर्छ। आइसोलेशनमा बसेको कोठाको, आफूले प्रयोग गर्ने बाथरूमको सरसफाइमा ध्यान दिनुपर्छ। सरसफाइमा जति ध्यान दियो, त्यति राम्रो।
सहरमा बस्ने सबै परिवारका लागि छुट्टै कोठा र बाथरूमको सुविधा नहुन सक्छ। परिवारसहित फ्ल्याटमा भाडामा बस्नेहरूका लागि प्राय: एउटै शौचालय हुन्छ। त्यस्तो बेला शौचालय जाँदा संक्रमित व्यक्ति सबैभन्दा पछि जानुपर्छ। शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले राम्रोसँग सफा गर्ने, ढोकाको ह्यान्डिललाई स्यानिटाइजर अथवा साबुन पानीले सफा गर्ने गर्नुपर्छ। यो सबै काम संक्रमित व्यक्तिले नै गर्नुपर्छ। संक्रमित मान्छेले छोएर किटाणु लागेको छ भने साबुन पानी परेपछि मर्छ जसले गर्दा परिवारको अर्को सदस्यलाई सर्दैन। घरमै बोल्दा, हाछ्युँ गर्दा भाइरस सर्ने भएकाले सबैले मास्क लगाउने, घरभित्रै पनि सकेसम्म दुई मिटरको दूरी कायम गर्ने गर्नुपर्छ। संक्रमित व्यक्तिले धेरै गफ गर्ने, धेरै हाँस्ने गर्नुहुन्न।
कतिपय परिवार शहरमा एउटै कोठाम बस्छन्। धेरै परिवारले मिलेर शौचालय पनि एउटै प्रयोग गर्छन्। काठमाडौंजस्ता सहरमा एउटै फ्ल्याटमा दुई-तीन वटा परिवारसमेत बसेका हुन्छन्। उनीहरूले प्रयोग गर्ने शौचालय पनि एउटै हुन्छ। एउटै कोठामा पनि दुई तीन जनासम्म पनि बस्नुपर्ने बाध्यता छ।
थोरै संख्यामा बिरामी हुँदासम्म सरकारले व्यवस्था गरेको आइसोलेसन प्रयोग गर्न सकेने विकल्प छ। अब विस्तारै यो सम्भावना सकिँदै गएको छ। त्यसैले अब आफ्नो तयारी आफैंले गर्नुपर्ने हुन्छ। संक्रमित सँगै एउटै कोठामा बस्नु पर्यो भने पनि सकेसम्म संक्रमित व्यक्ति र परिवारका अरू सदस्य बस्ने र सुत्ने ठाउँमा दुई मिटरको दूरी कायम राख्नुपर्छ।
कोठामा चिन्ह लगाएर एकातिर एउटा अर्कोतिर अर्को बस्न सकिन्छ।
कोठामा बस्दा सबैले मास्क लगाउनु पर्छ। एकअर्कासँग सकेसम्म बोल्नु हुँदैन। बोल्न परे मुखामुख गर्नु हुँदैन। अझ फरक-फरक दिशातिर हेरेर बोल्नु राम्रो हो।
स्यानिटाइजर र साबुन पानीको प्रयोग धेरै गर्ने हात हरदम सफा राख्ने गर्नुपर्छ। यसो गर्दा रोग सर्ने सम्भावना कम गर्न सकिन्छ।
आजकाल परिवारको एकजनालाई संक्रमण देखिएपछि अरूलाई पनि सर्न थालेको छ। यो सावधानी नअपनाएर, अनुशासन पालना नगरेर हो। जति अनुशासनमा नबस्यो, त्यति नै समस्या पर्छ। सक्नेले पनि अनुशासनको पालना गरेका छैनन्। त्यसले पनि भाइरसलाई मद्दत पुगेको छ। संक्रमण बढेको छ।
संक्रमितले खानामा ध्यान दिनु पर्ने कुरा
खानपिनको हकमा प्रशस्त मात्रामा तरल पदार्थ खानुपर्छ। बेसार, तुलसीको पत्ता,अदुवा,कागती खान हुन्छ। यिनले भाइरससँग लड्ने क्षमता बढाउँछन् भन्ने वैज्ञानिक आधार भने अहिलेसम्म भेटिएको छैन। तर यी खाने कुराले शरीरलाई फाइदा गर्छन्। यिनमा 'एन्टी अक्सिडेन्ट’ हुन्छ, जसले सामान्य रूपमा शरिरको प्रतिरोधात्मक क्षमता बढाउँछन्। तर कोरोना भाइरससँगै लडन सक्ने क्षमता बढाउँछन् भन्ने छैन। यस्ता कुरा ठिक्क मात्रामा खानु पर्छ, धेरै खायो भने त्यसले शरिरमा हानी गर्छ।
संक्रमण भएका वा नभएका हामी सबैले मास्कको व्यापक प्रयोग गर्नुपर्छ। बाहिर जाँदा, भेटघाट गर्दा अहिले पनि धेरै मानिसले मास्क लगाउने गर्दैनन्। आफूले चिनेको वा परिवारका सदस्यसँग भेट गर्दा मास्क नलगाउने चलन छ। नजिकको मानिसलाई कोरोना भएको छैन भन्ने आत्मविश्वास देखिन्छ। त्यो गलत सावित हुनसक्छ। सबैलाई लक्षण नदेखिने हुँदा कसलाई कोरोना छ, थाहा हुन्न। धेरैलाई यो बुझाउन सकिएको छैन, धैरैलाई मास्कको अनिवार्यता थाहा छैन। आफूलाई नलागुन्जेल ढुक्क हुने हाम्रो बानी छ। यसले हामीलाई हानी गर्नेछ।
कोरोना लागेको व्यक्तिसँग ५ देखि १५ मिनेट सम्पर्कमा आएपछि संक्रमण सर्छ भनिन्छ। तर हाछ्युँ गर्ने र खोक्ने भएमा ५ मिनेटभन्दा थोरै समयमा पनि सर्नसक्छ। त्यसैले दुबैले मास्क लगाउने अनि दुई मिटरको दूरी कायम गरे एकजनाबाट अर्कोमा भाइरस सर्ने सम्भावना कम हुन्छ।
कस्तो अवस्थामा अस्पताल जाने?
घरमा बस्दा ज्वरो आएको छ कि छैन हेर्नुपर्छ। ज्वरो १ सय १ डिग्रीभन्दा माथि आएको छ भने तुरून्तै अस्पताल जानुपर्छ। श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने कुनैपनि खालका पहिला नदेखिएका अप्ठेरा महशुस भए तुरून्तै चिकित्सकलाई सम्पर्क गरेर नजिकको अस्पताल जानुपर्छ। त्यसका लागि एम्बुलेन्सको समेत जानकारी राख्न जरूरी हुन्छ।
घरमा संक्रमण भएका सदस्य आइसोलेसनमा बसेका छन् भने अरू सदस्य सचेत हुनुपर्छ तर अत्तालिनु हुन्न। त्यसले बिरामीको मनोबल खस्कन्छ। बिरामीलाई संक्रमणले च्याप्दैछ कि छैन भनेर सधैँ सचेत हुनपर्छ। सास फेर्न गाह्रो हुन थाल्यो भने कसरी अस्पताल लैजाने, कुन अस्पताल लैजाने भनेर पहिले नै सल्लाह र निर्क्यौल गरेको हुनपर्छ।
(वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्टरनल मेडिसिन विभाग प्रमुख प्राध्यापक सञ्जीवकुमार शर्मासँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित)