केही वर्षअघि गाउँका दुई महिलाहरू बाटोमा भेटिएको प्लास्टिक टिप्दै हिँड्थे। नक्कलीमाया र दीलकुमारी चेपाङले त्यसरी प्लास्टिक टिप्दै हिँडेको देखेर अरू छक्क परेर हेर्थे। उनीहरूको त फोहोर फाल्ने ठाउँ नै त्यही बाटो बनेको थियो।
दुर्गन्धले नाक छोपेर हिँड्दा पनि बाटो सफा गर्ने चेत गाउँलेमा आएको थिएन। गाउँभरमै एउटा शौचालय थिएन। बालबालिका स्कुल जान्थेनन्। धेरै युवाले मजदुरीका लागि गाउँ छाडेका थिए। गाउँमा भएकाहरूको दिन मदिरा सेवन गरेर झगडा गर्दैमा सकिन्थ्यो।
महिलाहरूको बिहान कुवा पुगेर पानी भरेर फर्कँदा सकिन्थ्यो। दिन घरधन्दादेखि खेतीपातीको चटारोमा बित्थ्यो।
चितवनको इच्छाकामना गाउँपालिका–१ मा पर्ने चेपाङ गाउँ तारसिलिङको यो अवस्था दुई वर्षअघिको हो।
पछिल्ला दुई वर्षमा तारसिलिङ फेरिएको मात्रै छैन, गाउँपालिकामध्ये नमूना गाउँ घोषणा हुँदैछ।
सुरूआती दिनमा सबै गाउँलाई अचम्ममा पार्दै प्लास्टिक उठाउने नक्कलीमाया र दीलकुमारी चेपाङलाई अहिले सुविस्ता छ। किनभने गाउँलेले अहिले बाटोमा फोहोर फाल्न छाडेका छन्। बाहिरका मान्छे आएर फालेको फोहोर गाउँका युवाले उठाउँछन्। बाटोछेउ रहेको डस्टबिनमा राखेर पछि व्यवस्थापन गर्छन्।
नक्कलीमाया र दीलकुमारीलाई चेपाङ संघले सरसफाई सम्बन्धी तालिम दिएको थियो। उनीहरूमार्फत गाउँमा जनचेतना विस्तार हुँदै थियो। पछि विभिन्न गैरसरकारी संस्था पनि आइपुगे र गाउँलाई नमूना बन्न सघाए।
२६ वर्षीया सीता चेपाङ बिहे गरेर यो गाउँमा आएको १४ वर्ष भयो। सानै उमेरमा बिहे गरेकी उनका तीन छोराछोरी छन्। उनीहरू सबै स्कुल जान्छन्। सीतासहित घरका अन्य सदस्य तरकारी उत्पादनमा खट्छन्।
'बिहे गरेर आउँदा गाउँ अनकन्टार थियो। घर, गाउँ, बाटो जताततै फोहोरै फोहोर। एउटै महिलाले ७/८ जना बच्चा जन्माउँथे। पुरूषहरू बेकामी थिए,' सीताले सम्झिइन्, 'अहिले त गाउँ पहिलेको ठाउँ पनि होइन कि जस्तो भएको छ।'
बिहे गरेर आउँदा उनको घरमा न शौचालय थियो न खानेपानी। पुरूषका लागि बाटो नै शौचालय, महिला भने जंगल पस्थे।
'महिलाका बिहान त शौचालय र पानीको जोहोमै सकिन्थ्यो,' उनी भन्छिन्, 'कसैले राम्रो कुरा सिकाउँदा अरूले सुन्थेनन्।'
२२ घर रहेको यो गाउँका सबै घरमा अहिले शौचालय र पिउने पानीको धारो छ। गाउँभरका लगभग ५० जना बालबालिका स्कुल जान्छन्। यो गाउँका रवि चेपाङले त कक्षा ९ बाट १० मा जाँदा प्रथम भए।
सानै उमेरमा बिहे गरेका रविकी छोरी जन्मिएकी छन्। उनी भने अहिले आफूभन्दा कम उमेरका भाइबहिनीलाई सानो उमेरमा बिहे गर्न हुँदैन, पढाइमा ध्यान दिनुपर्छ भनेर सिकाउँछन्।
विगतमा मजदुरीका लागि अन्यत्र जाने धेरै युवा अहिले गाउँ फर्किएर कृषि कर्ममा रमाएका छन्। उनीहरू आफूलाई खान मकै, कोदो उब्जाउँछन्। अनि काउली, सिमी, बोडी, टमाटर लगायत तरकारी फलाएर बेच्छन्। उनीहरूको बारीमा सुन्तला पनि राम्रै फल्छ। यिनै तरकारी, फलफूल बिक्री गरेर उनीहरूको घर सजिलै चल्दै छ।
तिनैमध्ये एक हुन् २८ वर्षीय राजन चेपाङ।
'धेरै जोगाउन नसके पनि मन फुकाएर खान लाउन पुगेको छ। छोराछोरी पढाउन सकिएको छ,' उनले भने, 'परिवारसँगै बसेर जीवन चल्ने भएपछि अरू के नै चाहियो र?'
अझै पनि पहाडी क्षेत्रका चेपाङ गाउँहरू यस्ता छन् जहाँ वर्षभरी मिहिनेत गरेर उब्जिएको अन्नले तीन महिना खान पुग्दैन। बाँकी समय गिठ्ठा, भ्याकुर लगायत जंगली कन्दमूल खाएर निर्वाह गर्नुपर्छ।
तरसिलिङको पीडा पनि केही वर्षअघि यस्तै थियो। तर समयसँगै अवस्था फेरियो। यहाँका बासिन्दालाई जीवन चलाउन कन्दमूलको सहारा लिनु परेको छैन।
३२ वर्षीय सन्तबहादुर चेपाङका अनुसार अवस्था यसरी फेरिएको कृषि गर्ने नयाँ तरिका सिकेर हो।
'जमिन उही हो, मान्छे पनि उही नै। तर पहिले यहीँ उब्जिएको अन्नले खान पुग्थेन। अहिले खाएर, बिक्री गरेर पैसा जोगाउन पनि सकिएको छ,' उनले भने, 'कृषि सम्बन्धी तालिमले हामीलाई सीप दिलायो। त्यहीअनुसार गर्दा हाम्रो जीवनमा सुधार भइरहेको छ।'
पहिलेपहिले जथाभावी फोहोर फाल्नेले अहिले कुहिने फोहोरको मल बनाउँछन्। नकुहिनेलाई उब्जाउ नहुने जमिनमा लगेर गाड्छन्। केटाकेटीको स्वास्थ्यमा समेत निकै परिवर्तन आएको स्थानीय दीलमाया चेपाङ बताउँछिन्।
'नानीबाबु सधैं बिरामी पर्थे। हामीलाई अस्पताल कुदाउँदैमा हैरान हुन्थ्यो,' उनले भनिन्, 'अहिले पो थाहा भयो बिरामी बनाउने त यही फोहोरले रहेछ।'
यो गाउँका घरले समेत अचेल आफ्नो मुहार फेरेका छन्। भुइँचालोमा धेरैजसो घर भत्किएका थिए। पुनर्निर्माण प्राधिकरणमार्फत प्राप्त बजेटले चिटिक्कका घर बनेका छन्। गत वर्ष गाउँमा बिजुली पनि पुग्यो। सडक सञ्जालले पनि तारसिलिङलाई छोयो। अब उनीहरूलाई तरकारी बेच्न सजिलो हुन थालेको छ।
'किन्ने मान्छे गाउँमै पनि आउँछन्। नआए पनि गाडीमा हालेर बजार पुर्याए बिकिहाल्छ,' सीता भन्छिन्, 'त्यस्तो गाउँ यस्तो भएको देख्दा अचम्मै लाग्छ।'