१५ वर्षअघि गैंडा सिकारीमा संलग्न व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। चितवनको माडी नगरपालिका–५ पिपरिया भन्ने स्थानबाट ४८ वर्षीय शनिचरा महतोलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।
पुस १७ गते पक्राउ परेका उनलाई मंगलबार चितवन जिल्ला कारागार चलान गरिएको छ।
निकुञ्जको ‘कोर इलाका’ भालुटापु भन्ने स्थानमा २०६२ साल असारमा गैंडा मार्न प्रत्यक्ष संलग्न रहेको अभियोगमा सोही सालको असोज १२ गते महतोविरुद्ध मुद्दा दायर गरिएको थियो। २०६४ सालको पुस २० गते उक्त मुद्दामा फैशला गर्दै महतोलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरीवाना तोकिएको थियो।
तर महतो फरार रहँदै आएका थिए। उनले गैंडा सिकार गर्न भारतबाट अत्याधुनिक हतियार खरिद गरि ल्याउने र गैंडा मार्न प्रत्यक्ष सघाउने गरेको निकुञ्जको आरोप थियो। साथै उनी गैंडाको खाग बिक्रीमा पनि संलग्नता देखिएको अधिकारीले बताए।
यसै मुद्दाका अर्का फरार अभियुक्त सूर्जे महतो भनिने सुरज चौधरीलाई करिब एक महिनाअघि पूर्वी चितवनबाट पक्राउ गरिएको थियो।
उनी सुरज चौधरी नामको राहदानीमार्फत दुई पटक कतार पुरेर फर्किएका थिए। पक्राउ पर्ने डरले लुक्दै आएका शनिचरालाई सुरजकै बयानका आधारमा पक्राउ गरिएको स्रोतले बतायो।
नेपाली सेनाका भगौडा सुरज चौधरीले निकुञ्जमा गैंडा मार्न सकृय गिरोहमा ‘शार्प सुटर’ को रूपमा काम गरेका थिए।
केही वर्ष तस्करी हुने क्रम रोकिएको चितवन निकुञ्जमा यस वर्ष गैंडा तस्करी हुने क्रम बढ्न थालेपछि निकुञ्ज प्रशासन सकृय हुन थालेको छ। ‘विगतमा फरार भएकादेखि अहिलेका घटनाका सम्भावित अभियुक्तको सूची तयार पारेर खोजी भइरहेको छ,’ चिफ वार्डेन अणनाथ बरालले सेतोपाटीसँग भने, ‘हामी भएका स्रोत, साधनहरुको भरपुर उपयोग गर्दै संरक्षण तथा तस्करको खोजीमा लागेका छौं।’
यसै आर्थिक वर्षमा मात्रै चितवन निकुञ्ज भित्र १९ वटा एक सिंगे गैंडा मरेका छन्। ती मध्ये ४ वटालाई सिकारीले मारेको भेटिएको छ।