कालिगण्डकी र त्रिशूलीको संगम देवघाटधाममा माघे संक्रान्तिको अवसरमा 'मकर स्नान' गर्नेको भीड लागेको छ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेला भने यसपाली गरेन। यद्यपि मकर स्नानका लागि चितवन, तनहुँ, नवलपुरका अलावा अन्य जिल्लाहरुबाट पनि धेरै संख्यामा भक्तजनको उपस्थिति रहेको थियो।
माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व यहाँ स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइन्छ।
यसपाली माघे संक्रान्तिमा देवघाटमा गत वर्ष भन्दा ४० प्रतिशत कम भक्तजनको उपस्थिति रहेको समितिका कर्मचारी किरण पौडेलले जानकारी दिए। समितिकाअनुसार गतवर्ष करिब २ लाख भक्तजन माघे संक्रान्ति मेला भर्न देवघाट पुगेका थिए।
कोरोना भाइरसको महामारीका कारण गत चैतबाटै देवघाटमा धार्मिक गतिविधिमा रोक लगाइएको थियो। हरेक वर्ष साउन महिनाको सोमबार लाग्ने बोलबम मेला पनि यस वर्ष स्थगित गरिएको थियो।
यसपाली भने यहाँ स्नान गर्न मकवानपुर, पर्सा, मोरङ, रुपन्देहीलगायतका जिल्लाका पनि भक्तजनको उपस्थिति देखिएको समितिले जनायो।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।
आजै थारु समुदायले माघी पर्व मनाइरहेका छन्। चितवनको बछ्यौली, कुमरोज, पर्सा, माडीलगायतका क्षेत्रमा बसोबास गर्ने थारु समुदाय धुमधामका साथ माघी मनाइरहेका छन्।
माघीका दिन उनीहरुले खाने परिकारलाई चिचर भनिन्छ।चिचर तयार पार्न अघिल्लो दिन अनदी बफ्याएर भोर्लाको पातमा पोको पारेर राख्छन्। आज त्यसलाई माछासँग खाने गरिन्छ।
माघीको अवसरमा पूर्वी चितवनको पर्सामा थारु खानाको परिकारहरुको प्रदर्शनी गरिँदैछ।