करिब सात दशक अघिसम्म चितवन घना जंगलले भरिएको थियो। जंगली जनावरको डर, अत्यधिक गर्मीमा लाग्ने औलो लगायत रोगका कारण यहाँ मानव बसोबास असाध्यै कम थियो।
त्यतिखेर यहाँको समथर भूभाग र उर्वर भूमिलाई मानव बस्ती र अन्न उत्पादनमा उपयोग गर्ने उद्देश्यले तत्कालीन राजा महेन्द्रले राप्तीदुन उपत्यका विकास समिति गठन गरेका थिए।
२०१२ सालमा अमेरिकी सहयोगमा राप्तीदुन उपत्यकाको वृहत गुरुयोजना तयार पारी यहाँ बस्ती बसाउन सुरू गरियो। योसँगै सीमित संख्यामा थारू समुदायको मात्रै बसोबास रहेको यो क्षेत्रमा पहाडी क्षेत्रबाट बसाइ सरेर आउने संख्या थपिन थाल्यो।
त्यतिखेर यहाँ महामारीका रूपमा फैलिएको औलो अमेरिकी प्रोजेक्टकै सहयोगमा उन्मूलन गरिएको थियो। यसलाई नेपाल भित्रिएको पहिलो सबभन्दा ठूलो विदेशी सहयोग मानिन्छ।
अमेरिकी सहयोगमा बस्ती बसालिएको चितवनमा अहिले सहरीकरण बढ्दो छ। यहाँ बसोबास गर्ने धेरैलाई यो क्षेत्रको इतिहासबारे जानकारी नै छैन। पछिल्लो पुस्ता त यसबारे बेखबर नै छ।
यस्तोमा एक जना अमेरिकी अनुसन्धानकर्ता भने वर्षौंदेखि नेपालसँग जोडिएको अमेरिकाको इतिहास खोजिरहेका छन्। खोजी क्रममा संकलित सूचना विभिन्न माध्यमबाट आफ्नो देशका नागरिक समक्ष पुर्याउने कोसिस गरिरहेका छन् डा. टम रबर्टसन।
अमेरिकी इतिहासमा विद्यावारिधि गरेका डा. टम कहिलेकाहीँ सौराहास्थित थारू सांस्कृतिक संग्रहालयमा भेटिन्छन्। सन् २००७ मा अनुसन्धानका लागि आएका उनले त्यसयता धेरै समय नेपालमै बिताएका छन्। टम नेपाली भाषा फरर बोल्न सक्छन्। आफूले देखे-भोगेका कुरा नेपाली भाषामै सहजै सुनाउन सक्छन्।
'यो अवधिमा नेपालका धेरै जिल्ला घुमेर आफ्नो देशसँग जोडिएको इतिहास बटुलेँ,' उनले सुनाए।
अमेरिकाको मेरिल्यान्ड राज्यमा घर भएका उनी त्यहीँको एक क्याम्पसमा इतिहास विषय पढाउँछन्। बिदाको समयमा यहाँ आएर अनुसन्धान गर्छन्। चितवन बसाइ क्रममा उनले आफ्नो देशबाट आएका पर्यटक यहाँको इतिहासबारे अनविज्ञ रहेको महसुस गरेका छन्। नेपालसँग जोडिएको अमेरिकी इतिहास आफ्ना विद्यार्थीलाई सुनाउने चाहना छ उनको।
'मेरो देशका धेरै मान्छे पर्यटकका रूपमा नेपाल घुम्न आउँछन्। सौराहा बसेर एक सिंगे गैंडा, बाघ, गोही हेर्छन्। तर त्यही सौराहा मात्रै नभएर समग्र चितवनको सुरूआत गर्न आफ्नो देशको पनि सहयोग छ भन्ने थाहा पाएकै हुँदैनन्,' डा. टम भन्छन्, 'मैले यस्ता धेरै साथीलाई इतिहास सुनाएको छु। यहाँ अनुसन्धानबाट भेटेका कुरा आफ्ना विद्यार्थीलाई पनि सुनाउने मन छ।'
यहाँ घुम्न आउने अमेरिकीले ६०–७० वर्ष पहिला नै आफ्नै देशका मान्छे आएर यस्तो गरिसकेका रहेछन् भन्ने बुझ्ने अवसर पाउनुपर्ने उनी बताउँछन्। आफ्नो देशको सहयोगबाट भएको प्रगति देखेर गर्व गरून् भनेरै उनलाई अमेरिका र नेपालको इतिहास कहाँ जोडिन्छ, त्यो लेख्न मन लागेको हो।
'मेरा देशका मान्छे मात्रै होइन, नेपाली र स्थानीयले पनि थाहा पाउनुपर्छ,' उनी भन्छन्, 'मेरो देशले अहिलेसम्म गरेको राम्रो मात्रै होइन, नराम्रो काम पनि जान्न चाहन्छु।'
अमेरिकाले विभिन्न देशमा धेरै राम्रो काम गरेको र कतिपयमा नराम्रो काम पनि गरेको उनलाई लाग्छ। अमेरिकी सहयोगबाट परेको विकासको प्रभाव बुझ्ने, कसले फाइदा पायो, कसले पाएन भन्नेबारे अमेरिकी नागरिकलाई जानकारी गराउन सकिन्छ कि भन्ने उनलाई लाग्छ।
उनले भने, 'अमेरिकाले अरू देशमा चलाएको विकास प्रभावबारे धेरैले लखेका थिएनन्। त्यसैले मलाई अनुसन्धान गर्न मन लाग्यो।'
डा. टमलाई लाग्छ, अमेरिकी सहयोग नआएको भए चितवनको इतिहास र अहिलेको अवस्था फरक हुन सक्थ्यो। त्यसैले पनि अमेरिकीका लागि यो महत्वपूर्ण विषय छ।
टम सन् १९८८ मा पहिलो पटक नेपाल आउँदा विद्यार्थी थिए। अमेरिकाको 'पिस कोर भोलेन्टियर्स' मार्फत शिक्षा सम्बन्धी कार्यक्रममा आएका उनले खोटाङको एक सरकारी विद्यालयमा ३ वर्ष पढाएका थिए। यहाँबाट गएपछि विद्यावारिधि पूरा गरी क्याम्पस पढाउन थालेका उनलाई फेरि नेपाल आएर अनुसन्धान गर्ने इच्छा लाग्यो।
'नेपाल भन्ने बितिक्कै धेरैले काठमाडौंलाई हेर्छन्। म भने पहिले गाउँमा बसेर गएका कारण गाउँतिरै डुल्छु भन्ने लागेको थियो। तर मलाई अमेरिकासँग सम्बन्ध जोडिएका गाउँ सबैतिर पुग्न मन लाग्यो,' उनले सुनाए।
उनले चितवन र थारू समुदायका विषयमा अनुसन्धान गरेका श्रीलंकाका नागरिक डा.अर्जुन गुणरत्नेलाई भेटे। उनैको सल्लाहअनुसार टम चितवनको तत्कालीन बछौली गाविस आइपुगे। यहाँका थारू अगुवा बासु महतो लगायतलाई भेटेपछि आफ्नो खोज अघि बढाएको उनले बताए।
चितवनको इतिहास खोतल्दै जाँदा टमले यहाँका आदिवासी थारू समुदायको इतिहास बुझे। बिस्तारै उनले थारू समुदायका चिन्ता र चासो नजिकबाट नियाल्न थाले। अहिले उनी यहीँको थारू सांस्कृतिक संग्रहालयको अन्तर्राष्ट्रिय सल्लाहकार समितिमा पनि रहेर थारू समुदायको हितका लागि सहयोग गरिरहेका छन्।
सल्लाहकारका रूपमा उनले संग्रहालयमा आउने पर्यटकलाई थारू जातिको इतिहास बुझाउन सहयोग गर्छन्।
'थारू समुदाय चितवनको इतिहास हो। घुलमिल हुँदै जाँदा उनीहरूको विषयमा धेरै जान्ने अवसर मिल्यो,' टमले सुनाए, 'यहाँ आउने पर्यटकले वन्यजन्तु हेरेर मात्रै पुग्दैन, यसको संरक्षणमा आदिवासीको भूमिका कस्तो रह्यो भन्ने पनि जान्नुपर्छ।'
थारू जातिको विषयमा हुने गलत टिप्पणीका विषयमा अनुसन्धान गरी त्यसको वास्तविकता पत्ता लगाउन पनि उनले सहयोग गरिरहेका छन्।
'थारू सिकारी थिए, प्राचीन तराई जंगलमा बस्थे, असभ्य र जंगली थिए, उनीहरूलाई कहिल्यै औलो लाग्थेन, थारूहरू इतिहासभन्दा बाहिर रहे र नेपाली समाजभन्दा अलग बसे' जस्ता टिप्पणीबारे उनले खोज-अनुसन्धान गरी पत्ता लगाएका छन्। यी कुरा संग्रहालयले भित्तामा टाँसेको छ।
टमले चितवन र थारू समुदायबारे खोज्न धेरै समय खर्चेका छन्। कोरोना महामारी सुरू हुँदै गर्दा उनी नेपालमै थिए। उनलाई अमेरिका फर्कन मन लागेन। यहीँ सुरक्षित लाग्यो। बरू यो अवधिमा आफ्नो अनुसन्धान अझ सशक्त रूपमा अघि बढाए।
उनका अनुसार अनुसन्धान क्रममा उनले केही कागजपत्र काठमाडौंमा भेटे। धेरै त अमेरिकाको अभिलेखालयमै थियो। उनले उहीँ पढेका थिए। चितवन आएर यहाँका पुराना मान्छे भेटे। भेटेका कागज मान्छेसँग जुधाए, मान्छेलाई कागजसँग। चितवनका थारूका कुरा दाङ, बर्दियाकासँग पनि जुधाएर हेरे। अनि निष्कर्षमा पुगेको उनी बताउँछन्।
उनले भेटेका कतिपय व्यक्ति राणाकाल, पञ्चायत, बहुदलदेखि गणतन्त्रसम्म देखेकाहरू थिए।
'मैले यो संग्रहालयका लागि एक पैसा सहयोग गरेको छैन। त्यो मेरो काम होइन। तर मैले र मजस्ता अनुसन्धानकर्ताले अनुसन्धान क्रममा पत्ता लगाएका कुरा जानकारी गराएर थारू जातिको इतिहास जीवित राख्न सहयोग गर्छौं,' उनी भन्छन्, 'यहाँका आदिवासीको इतिहास विश्वले जानोस् भन्ने मेरो चाहना छ।'
धेरैले यहाँ आएर अनुसन्धान गरे पनि अंग्रेजीमा रिपोर्ट बनाइने र थन्क्याइने उनी बताउँछन्। उनले भने त्यस्ता धेरै रिपोर्ट जुटाएर नेपालीमा रूपान्तरण गरेर संग्रहालयमा राखेका छन्। अब थारू गीत, आवाज, भिडिओ पनि संग्रहित गर्ने तयारी छ।
यहाँ बस्दा डा. टम थारू समुदायसँग नजिकिएका छन्। संग्रहालय आउने मान्छेले थारू समुदायको इतिहासबारे लेखिएका कुरा नपढी फर्किएको देख्दा उनलाई खिन्न लाग्छ। भन्छन्, 'मान्छे आउँछन्, यहाँका मूर्ति हेर्छन् तर लेखिएका कुरा पढ्दैनन्। वास्तविक कुरै नबुझी फर्कन्छन्। त्यस्तो देख्दा म निराश हुन्छु।'
थारू सांस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र महतो डा.टमसँग देशका विभिन्न ठाउँ पुग्छन्। उनैको संगतबाट टमले थारू भाषा सिकिसके।
टम लगायत अनुसन्धानकर्ताका कारण संग्रहालयको विकासमा धेरै सहयोग पुगेको बताउँछन् महतो।
'देशी, विदेशी धेरैले थारू समुदायका विषयमा पिएचडी गरेका छन्। विज्ञहरूले गरेको सोध, खोजलाई हामीले संग्रहालयमार्फत सार्वजनिक गर्छौं,' उनले भने, 'यसले हाम्रो समुदायको इतिहास र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन सहज भएको छ।'
डा. टमले गरेका अनुसन्धानबाट प्राप्त जानकारीले राप्तीदुन उपत्यका योजना अघि र पछिको थारू समुदायको इतिहास सुरक्षित भएको उनी बताउँछन्।
महतोका अनुसार टम लगायत अन्य अनुसन्धानकर्ता पनि रहेको अन्तर्राष्ट्रिय सल्लाहकार समितिले चितवनको इतिहासबारे अन्य देशमा रहेका जानकारी पनि खोजेर ल्याउँछन्। यहाँ भेटेका विषय आफ्नो ठाउँसम्म पुर्याउन सहयोग गरिरहेका छन्।
२०५८ सालमा सामान्य तरिकाले खुलेको सामुदायिक संग्रहालयमा अहिले उनीहरूकै सहयोगका कारण चितवन, दाङ, कञ्चनपुर लगायत क्षेत्रका थारू जातिको ऐतिहासिक तस्वीर तथा दस्तावेज संग्रहित भएको उनले बताए।
'यो हाम्रो लागि गर्वको कुरा हो,' महतोले भने, 'हामीले यहीँ जन्मिएर नगरेको कुरामा उनीहरूले त्यति परबाट आएर सहयोग गरिरहेका छन्।'
यहाँ आउने सबैले सहज तरिकाले पूर्ण रूपमा चितवन र यहाँका आदिवासीको इतिहास जान्ने अवस्थामा संग्रहालयलाई पुर्याउने इच्छा डा. टमको छ।
टमले थारू समुदायबारे मात्र नभई गाउँगाउँ पुग्दा देखे-भोगेका कुरा लेखमार्फत पनि प्रस्तुत गर्छन्।
'आफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्न सम्बन्धित ठाउँमै पुग्नुपर्छ। एक ठाउँलाई मात्रै हेर्दा सबै नेपाली एकै खालको हुँदैन, सबै गाउँ पनि एकै खालका हुँदैन भन्ने थाहा हुँदैन। त्यसैले मैले सबैतिर पुग्नुपर्छ भन्ने निर्णय गरेको थिएँ,' उनले सुनाए, 'त्यसबाट मलाई सन्तुष्टि मिलेको छ।'