चितवनमा गरिएको पछिल्लो गणनामा जलपंक्षीको प्रजाति संख्या कम भेटिएको छ। पुस २६ देखि माग १ गतेसम्म गरिएको गणनामा ५३ प्रजातिका जलचरा भेटिएको वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष रमेश चौधरीले जानकारी दिए।
चौधरीकाअनुसार यस पटकको गणनामा नेपालमा दुर्लभ मानिएका दुई प्रजातिका चरा भेटिए। तीमध्ये श्वेतमाथा कलहाँस नामले चिनिन (ग्रेटर ह्वाइट फ्रन्टेड गोस) अघिल्लो वर्ष पनि सीमित संख्यामा भेटिएको थियो। ठूलो जलरड्ढ(डनलिन) भने केही वर्षदेखि देखिएको थिएन।
गत वर्षसम्म भेटिएका पाँच प्रजातिका चरा भने यस वर्ष नभेटिएको चौधरीले बताए। उनकाअनुसार वन सुडसुडिया, कलहाँस, हलिमुख, हिग्लिन गंगा चिल र प्रशान्त सषर्पी नामका जलपंक्षी यस पटकको गणनामा देखिएनन्।
सोसाइटीले जिल्लाका विभिन्न सिमसार क्षेत्र, ताल, पोखरी, खोला, नदीमा पुगेर चराको तथ्यांक संकलन गरेको थियो। नदी क्षेत्रमा बढ्दो मानव चहलपहल, विषादीको प्रयोग, चोरी सिकारी, जलवायु परिवर्तनको प्रभावलगायतका कारण जलपंक्षीको संख्या र प्रजाति घट्दो क्रममा देखिएको चौधरीले बताए।
चितवनमा यसपालि भेटिएको डनलिन वर्षौंअघि ठूलो संख्यामा युरोपबाट नेपाल आउने गरेको भेटिन्थ्यो।
‘युरोपका चिसो बढी हुने देशबाट जाडो छल्न नेपाल आउने यो चरो हामीले चितवनमा नदेखेको करिब दश वर्ष भयो,’ चौधरीले भने, ‘यसपालि चरा गणनाका क्रममा माडीको पाण्डवनगर नजिकै रिउ खोलामा यसलाई भेट्यौं।’
खोलामा तैरिरहेका चार वटा डनलिन रेकर्ड गरिएको उनले बताए।
नेपालमा असाध्यै दुर्लभ मानिएको श्वेतमाया कलहाँस यसपालि चितवनमा एउटामात्रै भेटिएको छ। कसरामा रहेको राप्ती पुलबाट २ किलोमिटर परको बगरमा यो चरो भेटिएको चौधरीले बताए।
श्वेतमाथा कलहाँस बटुवा चरा हो। घरमा पालिने राज हाँसजस्तो देखिने यो चरा नेपालमा लामो समय बिताउनका लागि आउँदैन।
‘उत्तरबाट दक्षिणतर्फ लाग्दै गर्दा कुनै कारणले नेपालमा उत्रने चरा हो यो,’ उनले भने, ‘विगतमा पनि फाट्टफुट्ट रेकर्ड गरिने यो पंक्षी यसपालि पनि एउटा मात्रै रेकर्ड भयो।’
उनले श्वेतमाया कलहाँस भारततर्फ उँड्दै गर्दा भोक लागेर नेपालमा उत्रिने गरेको पाइएको बताए।
यस वर्षको गणनामा नभेटिएको वन सुडसुडियाको अंग्रेजी नाम वुड स्याण्डपिपर हो। यो चरा झट्ट हेर्दा डनलिन जस्तै देखिन्छ। तर डनलिन जाडो छल्न केही महिना नेपालमै बस्ने आगन्तुक चरा हो भने वुड स्याण्डपिपर बटुवा चरा हो।
चौधरीले गत अगष्टमा चितवनको दिव्यनगरमा ठूलो संख्यामा वुड स्याण्डपिपर भेटेका थिए। औपचारिक रूपमा गरिएको गणनामा एउटा पनि भेटिएनन्।
‘कुनै गन्तव्यका लागि उडेका चरा त्यतिखेर नेपाल आइपुगेका थिए, उनीहरू यहाँको बास बिताएर गन्तव्यतर्फ लागिहाले,’ उनले भने, 'अब अप्रिल, मार्चताका पुनः मूल बासस्थानमा फर्कने बेलामा उनीहरू पुनः नेपाल आइपुग्छन्।’
गणनामा यसपालि नेखिएको कलहाँस(ग्रेलेग गोस) श्वेतमाथा कलहाँस जस्तै देखिन्छ। उनीहरूको बीचमा फरक छुट्याउन ठुँड र खुट्टामा ध्यान दिनुपर्ने हुन्छ। चौधरीकाअनुसार कलहाँसको चुच्चोको माथिल्लो भाग सेतो हुन्छ। खुट्टाको रंग कलेजी हुन्छ। श्वेतमाथाको खुट्टाको रंग सुन्तालाको जस्तो हुन्छ।
‘यी साना-साना कुरालाई ध्यान दिएर हामीले प्रजाति छुट्याउनुपर्ने हुन्छ,’ उनले भने।
हलीमुख नामको ठुँड लामो हुने जलपंक्षी रिउ र राप्तीमा देखिन्थे। तर यसपालि भेटिएनन्। यो निकै आकर्षक देखिने झिलमिले चरा हो। बाटो परेर यदाकदा नेपालमा देखिने चरा पर्यटकले निकै मन पराउने गरेको चौधरी बताउँछन्।
हिग्लिन गंगा चिल र प्रशान्त सषर्पी नामका बटुवा चरा पनि यसपालि चरा विज्ञहरूका नजरमा परेनन्। चराको बासस्थान मानिने अधिकांश क्षेत्रमा पुग्दा यी चरा नदेखिएको चौधरीले बताए। उनकाअनुसार प्रशान्त सषर्पी केही महिनाअघि भने सौराहा क्षेत्रमै देखिएको थियो।
गणनाका क्रममा यसपालि लक्ष्मण सारस र खोया हाँसको संख्या निकै कम भेटियो। यी दुबै प्रजाति हजारौं किलामिटरको यात्रा गर्दै जाडो छल्न वर्षेनी नेपाल आइपुग्ने गर्छन्।
यसपालि भेटिएका ५३ प्रजातिका जलपंक्षीमध्ये करिब एक दर्जन नेपालमै मुख्य बासस्थान भएका हुन्। उनीहरूले नेपालमै अण्डा पार्छन्, यहीँ बच्चा कोरल्छन्। अन्य भने जाडो छल्न यहाँ आइपुगेका र गन्तव्यतर्फ जाँदै गर्दा बास बसेका चरा हुन्।
यसपालिको गणनामा सबैभन्दा बढी संख्यामा जलकौवा भेटिएका थिए। करिब १३ सय वटा जलकौवा गणनाका क्रममा भेटिएको बर्ड एजुकेशन सोसाइटीले जानकारी दियो। त्यसैगरी, करिब १ हजार संख्यामा चखेवा देखिएका थिए।
जलपंक्षी गणनामा टेलिस्कोप, दूरबिन, क्यामरा, जिपिएस, चरासम्बन्धी पुस्तकहरुको प्रयोग गरेका थिए। नेपालमा चराको गणना गरिएको यो ५४ औं पटक हो। चितवनमा बर्ड एजुकेशन सोसाइटीले आधिकारिक रूपमा चराको गणना गर्न थालेको दश वर्ष भयो। त्यस अघि भने व्यक्तिगत रूपमा गणना गरिन्थ्यो।
अब चितवनमा जस्तै देशभर गरिएको गणनाको तथ्यांकलाई एकीकृत गरिन्छ। त्यो तथ्यांकलाई अन्तर्राष्ट्रिय रूपमा पनि सार्वजनिक गर्ने गरिन्छ।
‘यसरी आवधिक रूपमा गरिने गणनाले पत्ता लाग्ने तथ्यांकले संरक्षणसम्बन्धी योजना बनाउन सरोकारवाला निकायलाई सहयोग पुग्छ,’ चौधरी भन्छन्, ‘यसपालिको तथ्यांक हेर्दा हामीले चराको बासस्थान गुमाउँदै गएका छौं भन्ने निष्कर्ष निकालेका छौं। यस विषयमा सरकारी निकायको पनि ध्यान जाने आशा छ।’