गत पुस २० गते चितवनमा अगुवा कार्यकर्ता भेलामा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तपाईंहरुलाई एक रहस्य सुनाउँछु भन्दै चितवनमा निर्माण हुन लागेको सिटी हलसँग सम्बन्धित कुरा निकालेका थिए।
‘दुई अध्यक्षका बीचमा चरम विवाद भएका बेलामा महासचिव र मैले एउटा सल्लाह गरेका थियौं। चितवनमा अर्वौंको लगानीमा सभाहल बनाउने र त्यो सभाहलको शिलान्यास गर्न प्रधानमन्त्री र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने। ताकि भविष्यमा प्रचण्डलाई यो ठाउँका जनताका बीचमा स्थापित गराउँदा पार्टी एकता मिल्ला भन्ने हामीले सोचेका थियौं। पटक–पटक निर्वाचन क्षेत्र फेर्नुपर्ने उहाँको चिन्तालाई दूर गर्न एउटा महत्वपूर्ण परियोजनासहित प्रधानमन्त्रीलाई ल्याउने हाम्रो चाहना थियो। जुन दिन हामीले योजना बनाएका थियौं त्यसको एक दिन पछि त उहाँले आफ्नो राजनीतिक भविष्य माथि खुँडा प्रहार गर्नुभयो। केपी ओली माथि संगिन आरोपसहितको अभियोग पत्र दर्ता गर्नुभयो,’ त्यसदिन उनको भनाइ यस्तो थियो।
पार्टी भित्रको विवादले शिलान्यास रोकिएको सिटीको निर्माण कार्य भने अहिले धमाधम भइरहेको छ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उक्त योजनालाई महानगरको प्रतिष्ठासँग जोड्दै आफ्नो कार्यकालमै उद्घाटन गर्ने गरी काम अघि बढाउन अभिभावत्व लिने बताउँदै आएकी छन्।
संघीय सरकारको बजेटमा बन्दै गरेको सिटी हललाई महानगरकै योजना झैं प्रचार गरिएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई भने मन परेको छैन। उनीहरुकै प्रयासमा प्रधानमन्त्री ओली माघ १७ गते उक्त सिटी हलको उद्घाटन गर्न भरतपुर आउँदैछन्।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई फकाउन दुबै जना अध्यक्षले शिलान्यास गर्ने तयारीका साथ अघि बढेको योजनाको जस अब भने दाहाल समूहलाई दिन ओली समूह तयार छैन।
‘नेपाल सरकारको बजेटमा बनेको योजनाको जस पनि सरकार पक्षले नै लिन्छ,’ ओली समूहका एक नेताले भने, ‘जबरजस्ती दाहाल समूहले सिटी हल बनाएको देखाउन खोजिँदैछ, यो स्वीकार्य छैन।’
मेयर रेनु दाहालले भने दुई हजार जना अट्ने भरतपुर सभागृह निर्माणको काम सुरु भइसकेका कारण शिलान्यास गरिरहनु आवश्यक नरहेको बताइन्।
‘शिलान्यासको कार्यक्रम थियो तर अहिले नगरौं बरु काम सुरु गरौं भन्ने भयो, अब एकैचोटी उद्घाटन गर्ने हो,’ उनले भनिन्, ‘बोर्डहरु गाडिसक्यौं। काम सुरु भइसक्यो, अब के को शिलान्यास?’
प्रधानमन्त्रीले शिलान्यास गर्न खोजेको विषयमा उनले सिटी हललाई प्रतिष्ठाको विषय बनाउन जरुरी नरहेको बताइन्।
‘सबैलाई थाहा छ यो कसको कन्सेप्ट हो, निरन्तर को लागि पर्यो, यहाँसम्म आइपुग्न कसको भूमिका महत्वपूर्ण भयो, दिनको घाम झैं छर्लङ्ग छ,’ दाहालले भनिन्, ‘यसमा कुनै होडबाजी गर्नुपर्ने आवश्यकता छैन, यदी कोही होडबाजी ढंगले प्रतिष्ठाको विषय बनाएर जान खोज्छ भने आयोजना अप्ठेरोमा पर्छ।’
उनले बजेटको सुनिश्चितता भएर काम अघि बढेको भन्दै कुनै अबरोध, समस्या आए महानगरले समाधान गर्ने बताइन्।
भरतपुर नगरपालिका उपमहानगरपालिका हुँदै महानगरपालिका बन्ने तर्खर हुँदाताकाबाटै सभागृहको विषयमा चर्चा सुरु भएको हो। तर यसका लागि उपयुक्त जग्गाको पहिचान गर्न धेरै समय लाग्यो। महानगरले कहिले शिवनगर त कहिले भरतपुर क्यान्सर अस्पताल अन्तर्गतको जमिनमा सभागृह बनाउने निर्णय गर्यो। तर मन्त्रिपरिषद्बाट स्वीकृत हुन सकेन।
अन्ततः महानगरले भरतपुरमा जिल्ला समन्वय समितिको भवनसँग जोडिएको ४ विघा ४ कट्ठा जमिनमा सभागृह बनाउने निर्णय गर्यो। उक्त निर्णयपछि संघीय सरकारले सुविधा सम्पन्न सभागृह निर्माणका लागि वहुवर्षीय कार्यक्रममा ८७ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
उक्त बजेटमध्ये यस वर्ष २५ करोड रुपैयाँ खर्च हुँदैछ।
सघन शहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख प्रकाश अर्यालकाअनुसार बन्दै गरेको अत्याधुनिक सभागृह नेपाली शैलीमा तयार हुनेछ। यसमा २००० र ३०० जना अट्ने दुईवटा हल बन्ने छ।
सभागृह निर्माणको काम २७ महिनामा सक्नेगरी एन्डो सगुन जेभीसँग मंसिर १८ मा सम्झौता भएको हो। निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले निर्माण सामग्रीको अभाव नभए समयमै योजना सम्पन्न हुने बताए।
यही निर्माण कम्पनीले अहिले नारायणगढको पुल्चोक देखि गोद्राङसम्मको सडकलाई ६ लेनको बनाउने काम पनि गरिरहेको छ।