भरतपुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन बुधबार मध्यान्ह १२ बजेबाट सुरू गर्ने तयारी गरिएको थियो। त्यहीअनुसार सामान्य रुपमा औपचारिक कार्यक्रम गरियो। बोल्ने क्रम सकिएपछि जब खोप लगाउने तयारी सुरू भयो कोही पनि लगाउन तयार भएनन्।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डाक्टर जगन्नाथ तिवारीले खोप लगाएर जिल्लामा खोप अभियानको विधिवत् सुरुआत गरे। उनले लगाएपछि चिकित्सक र अन्य पुराना स्वास्थ्यकर्मीगरी १९ जनाले पनि खोप लगाए। तर, त्यसपछि अन्यले भने खोप लगाउने आँट गरेनन्।
अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीका अनुसार नकारात्मक असर आउन सक्ने भयले अन्यले खोप लगाउनै मानेनन्। ‘सुरूमा लगाएका २० जनालाई करिब दुई घण्टासम्म पनि केही नभएपछि बल्ल अन्य स्वास्थ्यकर्मीहरू खोप लगाउन तयार भए,’ अधिकारीले भने, ‘सुरुआती चरणमा मानसिक रुपमा तयार नभएका कारण पनि होला पहिलो दिन खोपबारे बुझाउन समय लाग्यो।’
खोपबाट हुनसक्ने असरलाई व्यवस्थापन गर्न अस्पतालले बनाएको समितिका अध्यक्ष डा. युवानिधि बसौलाले छोटो समयमा तयारी गर्नुपर्दा सबैलाई बुझाउन नसकिएको बताए। ‘बुधबारबाट सुरू गर्ने भनेर मंगलबार दिउँसो मात्रै खबर आयो,’ बसौलाले भने, ‘हामीले खोपको बारेमा धेरै तयारी गर्नै भ्याएनौं।’
सरकारले चितवनमा केही दिनपछि मात्रै खोप लगाउने तयारी गरेको थियो। तर, मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई देशभर बुधबारबाट खोप अभियान सुरू गर्ने निर्णय भएकाले तत्काल तयारी थाल्न निर्देशन दिएको थियो। ‘खोप लगाउने काम गर्ने स्वास्थ्यकर्मीलाई तत्कालै तालिम दिनुपर्ने अवस्था आयो,’ बसौलाले भने, ‘रत्ननगर र माडीका स्वास्थ्यकर्मीहरूलाई पनि तुरुन्तै बोलाएर तालिम सञ्चालन गरियो।’
खोप लगाउने काम गर्ने कर्मचारीलाई नै हतारमा तालिम दिनु परेका कारण अन्यलाई यस विषयमा समयमै जानकारी दिन नसकिएको उनले बताए। ‘त्यसैले पनि होला धेरै जना सुरुमा डराए। हामीलाई त अब अरुले खोप नलगाउने भए कि क्या हो जस्तो लाग्यो,’ उनले भने, ‘तर केही समयसम्म पनि खोपको ठूलो असर नदेखेपछि भने फेरि लगाउने क्रम सुरू भयो।’
बुधबार खोप लगाउनेमध्ये तीन जनालाई सामान्य रिँगाटा लाग्ने समस्या देखिएको भरतपुर अस्पतालले जनाएको छ। उनीहरूलाई सामान्य औषधीको सेवनपछि ठीक भएको अध्यक्ष अधिकारीले बताए।
अस्पतालले बिहीबारदेखि खोप लगाउनेको संख्या बढ्ने अपेक्षा गरेको छ। यस अस्पतालमा मात्रै ५ सय बढी स्वास्थ्यकर्मीहरू काम गर्छन्।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार बुधबार जिल्लाभरमा २७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा खोप अभियानको पहिलो दिन भरतपुर अस्पतालका १२० जना स्वास्थ्यकर्मीहरूले खोप लगाए।
त्यस्तै, रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा ११९ जना र माडीको बघौडा अस्पतालमा ४० जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव बाहनका चालक, शव व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई खोप लगाउन सुरु गरिएको तिवारीले जानकारी दिए।
तिवारीका अनुसार पहिलो चरणका खोप लगाउन ती पाँच वटा क्षेत्रका ६ हजार २०० जनालाई पुग्ने खोपको माग गरिएको थियो। तर, चितवनमा ४ हजार १०० डोजमात्र प्राप्त भएको छ।
उनले पहिलो चरणका लागि लगत लिइएकामध्येबाट पनि प्राथमिकीकरण गरेर खोप लगाउने बताए। ‘उनीहरूमध्ये केही खोप लगाउन अयोग्य पनि छन्,’ तिवारीले भने ‘योग्यहरूको पहिचान गरी लगाउँदै जान्छौं। अपुग भएपछि पनि आइहाल्ला।’
उनले चितवनमा तयारी नपुग्दै खोप आइपुगेकाले पहिलो दिन केही कमले लगाएको बताए।
४ हजार ५०० भन्दा बढीले भरतपुर अस्पतालको खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउने उनले बताए।
खोप लगाएपछि हुनसक्ने जोखिमलाई मध्यनजर गरेर तीनवटै केन्द्रमा व्यवस्थापन समिति बनाइएको छ। उक्त समितिले खोप लगाएकालाई परामर्श दिनुका साथै असर परेमा उपचारका लागि व्यवस्थापन गर्ने काम गर्नेछ।