चिउरीको महको माग बजारमा विशेष छ। मौरीले तोरी, फापर, रुदिलोबाट भन्दा चिउरीको रसबाट तयार पारेको महको मूल्य पनि बढी पर्छ।
त्यसैले, मौरी पाल्नेहरूलाई यसको फूल फुल्ने मौसमको चासो र खोजी बढी नै रहन्छ।
चितवनका चेपाङ गाउँहरूमा चिउरीको विशेष महत्व छ। चेपाङ समुदायले छोरीको बिहेमा चिउरीको बोट दाइजो दिने पुरानो चलन हो। यसबाट निस्कने घ्यूको प्रयोगबाट छोरीको जीवनमा सहजता आओस् भन्ने चाहना परिवारको हुन्छ। चेपाङ समुदायले चिउरीको घ्यू, भुटुन् र बत्ती बाल्न प्रयोग गर्छन् भने पातको टपरी बनाएर खाना राख्न प्रयोग गर्छन्।
उड्न सक्ने एकमात्र स्तनधारी प्राणी चमेराको बासस्थान पनि हो चिउरीको बोट। चिउरीको फूल चुस्न आउने चमेराको परागसेचनले दाना लाग्न सघाउँछ।
पहाडी इलाकामा पछिल्लो समयमा चिउरीको बोट कम देखिन्छन्। चमेराको संख्या पनि घट्दो क्रममा छ। मारेर खाने क्रम बढ्न थालेपछि अचेल चमेरा निकै कम देखिन थालेको स्थानीय बताउँछन्। चमेराको झुण्ड देखिने पहाडका चिउरी बोटमा अचेल मौरीको समूह भुनभुनाइरहेको देखिन्छ।
पहाडी क्षेत्र बढी रहेको चितवनको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा अचेल मौरीका घारहरू प्रशस्त देख्न पाइन्छ। पहिले घरायसी प्रयोजनका लागि सीमित घार देखिने यी इलाकामा अचेल व्यावसायिक रूपमा पालिएका मौरीका घार बढ्दो क्रममा छन्।
स्थानीयले मात्र नभई जिल्लाका अन्य क्षेत्रका र अन्य जिल्लाका पालकहरू समेत मौरी चराउन चितवनका पहाडी क्षेत्रमा पुग्ने गरेका छन्।
मौरीपालनलाई प्रोत्साहन गर्दै आएको प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघराज तिमिल्सिना सडकको पहुँच पुगेसँगै ग्रामीण क्षेत्र मौरीको चरन क्षेत्रका रूपमा विस्तार हुँदै गएको बताउँछन्।
‘सडक नहुँदा चिउरीको रस खुवाउन चितवनका मौरी पालकहरू घार बोकेर दाङसम्म पुग्नुपर्थ्यो,’ तिमिल्सिना भन्छन्, ‘चितवनमा चिउरी धेरै हुने इलाकासम्म गाडी जान थालेपछि अन्य जिल्लाका समेत यहाँ आउन थालेका छन्।’
तिमिल्सिनाका अनुसार पहाडी क्षेत्रमा सडक विस्तार हुँदा त्यहाँका बासिन्दाले पनि मौरी पालनलाई व्यावसायिक बनाउन थालेका छन्।
‘अन्य क्षेत्रबाट आउनेहरूले घार राख्दा स्थानीयलाई निश्चित रकम दिन्छन्, सामुदायिक वनहरूले पनि घारअनुसारको शुल्क लिने गरेका छन्,’ तिमिल्सिनाले भने, ‘सडकले पालक र स्थानीय सबैलाई फाइदा भएको छ।’
कार्यालयका अधिकृत माधव पौडेलका अनुसार मौरीले चिउरीको रस खाएपछि बन्ने महको मूल्य र माग बढी भए पनि जिल्लामै चिउरी भएको ठाउँसम्म पुग्न सहज नहुँदा पालकको लागत खर्च बढी हुन्थ्यो।
‘अहिले लागत घट्न थालेको छ, चिउरीको महको मूल्य पनि राम्रो हुँदै गएको छ,’ उनले भने, ‘यसले स्थानीयलाई पनि मौरीपालनमा प्रोत्साहन गर्दै स्वरोजगार बनाउन थालेको छ।’
स्वादिलो र जंगलमा पाइने फूलको रसबाट बन्ने भएकाले चिउरीको महलाई अर्ग्यानिक मानिन्छ। समथर भू-भागका फाँटहरूमा लगाइने तोरी, फापरलगायतमा विषादीको प्रयोग बढ्न थालेपछि चिउरीको महतर्फ आकर्षण बढ्दै गएको छ।
मौरीपालक किसानहरू उपभोक्ताले मन पराएको चिउरी भएको क्षेत्रमा चरन क्षेत्र विस्तार भएकोमा खुसी छन्। चरन क्षेत्र विस्तार भएसँगै मौरीपालकहरूले घारहरू थप्न थालेका छन्।
‘तर, चिउरीकै संरक्षण हुन भने सकेको छैन, चिउरीको बोटहरू घट्दो क्रममा छन्,’ नेपाल मौरी पालक महासंघका अध्यक्ष शिवप्रसाद शर्मा भन्छन्, ‘गाउँमा सडक त पुग्यो तर सडक बन्ने क्रममा पहिरोले जंगल मासिएको छ। चिउरीको संख्या बढाउनु पर्ने चुनौती छ।’
उनका अनुसार भएका चिउरीका बोटमा पनि फूल कम फुल्ने गरेका छन्।
‘दुई वर्ष यता चितवन र दाङमा पहिलेको तुलनामा २५ प्रतिशत मात्रै फूल फुलेको छ,’ उनी भन्छन्, ‘यसपालि त पोहोरभन्दा एक महिना ढिला फुल्न थाल्यो।’
नेपालमा चिउरीका धेरै जाति छन्। चितवन, दाङ, अर्घाखाँची, प्युठान, सुर्खेत, बाजुरा, बैतडी, रोल्पाका चिउरी फरक–फरक समयमा फुल्छन्। चितवनको लोथरमा पाइने तोम्बे जातको चिउरी भदौमा फुल्न थाल्छ। यहाँका अन्य स्थानमा भने मंसिरको अन्त्य तिरबाट फुल्न थाल्छ। मह उत्पादक हेमराज लामाका अनुसार असोजमा प्युठानमा र कात्तिकमा दाङमा चिउरी फुल्न थाल्छन्।
जता चिउरी फुल्छ मौरीपालक घार बोकेर त्यहीँ पुग्छन्। व्यावसायिक मौरीपालकहरू चितवन, दाङ, झापा, प्युठान, भैरहवा, सर्लाही, महोत्तरी, सुर्खेत, बाँकेलाई मौसमअनुसार मौरी चराउन उपयुक्त क्षेत्र मान्छन्। चितवन र दाङमा चिउरी, तोरी, रुदिलोलगायतको चरन क्षेत्र बढी छ। सर्लाही, महोत्तरीमा मसलाको फूल फुल्ने समयमा मौरीपालक त्यतै पुग्छन्। बाँके, बर्दियामा जामुन पाइन्छ।
स्थानीय जातका मौरीबाट भने स्याङ्जा, बागलुङ, लमजुङ, जाजरकोटमा धेरै उत्पादन लिइने गरेको छ। मूल्य राम्रो आउने भएकाले ७० प्रतिशत भन्दाबढी समय मौरीलाई चिउरी भएको क्षेत्रमा राख्ने गरिएको लामाले बताए।
चिउरीको बोट र फूल पर्याप्त नहुँदा महको उत्पादन परिमाण सन्तोषजनक भने नरहेको महासंघका अध्यक्ष शर्माले बताए। चितवनमा प्रतिघार वार्षिक ६० केजीसम्म मह उत्पादन हुने गरेकोमा यस वर्ष उत्पादन अस्वाभाविक रूपमा घटेर १५ किलो पुगेको उनले बताए।
‘यसको कारण मौसमको गडबडी हो, जलवायु परिवर्तनलगायतका कारण चिउरीको फूल कम फुल्ने, ढिलो फुल्ने गरेकाले यसपालि उत्पादन घटेको छ,’ उनले भने।
२०७५ सालमा देशभरमा तीन हजार पाँच सय मेट्रिक टन मह उत्पादन भएकोमा गत वर्ष दुई हजार पाँच सय मेट्रिक टनमा झरेको थियो। यस वर्ष एक हजार पाँच सय मेट्रिक टन मात्रै उत्पादन हुने अवस्था देखिएको अध्यक्ष शर्मा बताउँछन्।
बजारमा चिउरीको महको माग अत्यधिक भएको र मूल्य पनि आकासिएकाले उत्पादकले राम्रै आम्दानी लिइरहेका छन्। गत वर्षसम्म प्रतिकेजी दुई सय ६० सम्म पाइने चिउरीको मह यसको मूल्य यस वर्ष पाँच सय भन्दामाथि पुगेको छ।
महासंघका अनुसार बजारमा महको माग कोरोना महामारीसँगै ह्वात्तै बढेको थियो।
‘महले रोग प्रतिरोध क्षमता बढाउने भएकाले यसको माग थेगिनसक्नु भयो,’ शर्माले भने, ‘मौरीपालकले बजारको माग पुर्याउनै सकेका छैनन्।’
माग बढी, उत्पादन कम हुँदा महको मूल्य बढेको हो।
१८२ घार मौरी पाल्दै आएका खैरहनी–४ का सुरेश बस्नेतलाई पहिले उत्पादन भएको मह बेच्नै गाह्रो हुन्थ्यो। बिक्री भइहाले पनि उधारोमा बढी हुन्थ्यो।
‘अहिले नगद लिएर किन्न घरमै आइपुग्ने गरेका छन्,’ बस्नेत भन्छन्, ‘चरन क्षेत्रमा थप सुधार गर्न पाए विदेशी महलाई विस्थापित गर्न सकिन्थ्यो भन्ने लाग्छ।’
गुणस्तर जाँच गरेर मात्रै मह आयात गर्न माग
मौरीपालकहरूले महको गुणस्तर जाँच गरेर मात्रै महको आयात गर्नुपर्ने माग गरेका छन्। स्वदेशी उत्पादन घटेको मौका छोपेर गुणस्तरहीन मह बजारमा आइरहेको भन्दै नेपाल मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद शर्माले जाँच गरेर मात्रै आयातको अनुमति दिन माग गरे।
भारतसँग नाका जोडिएका विभिन्न क्षेत्रबाट नेपाली बजारमा नक्कली मह भित्रिएको उनको दाबी छ। झट्ट हेर्दा महजस्तै देखिने ‘सुगरसिरफ’ ल्याएर उपभोक्ता ठग्ने काम गरिएको उनले बताए।
‘प्रतिकिलो एक सय रुपैयाँमा पाइने सुगरसिरफ झट्ट हेर्दा महजस्तै देखिन्छ तर यसले उपभोक्ताको स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘व्यापारीले सुगरसिरफमा स्थानीय मह घोलेर बेचिरहेको भेटिएको छ। यस्ता वस्तुको आयात कसरी भइरहेको छ सरकारले ध्यान दिनुपर्यो।’
शर्माले नेपालमा उत्पादन भएको महले बजारको माग धान्न नसक्दा बिक्रेताहरू विदेशी मह ल्याउन बाध्य भएको बताए।
‘तर विदेशी मह बिक्री गर्दा कुन देशबाट, कुन स्तरको मह ल्याइएको हो उपभोक्ताले जान्न पाउनुपर्छ,’ उनी भन्छन्, ‘गुणस्तरहीन मह भित्र्याएर नेपालमा बनेको भन्दै बेच्ने गरिएको छ। यो काम बन्द गर्नुपर्छ।’