हिमाली क्षेत्र हिउँले भरिएपछि मान्छेहरू पोको, पुन्तरो बोकेर पहाड हुँदै तराईसम्म झर्ने गर्छन्। त्यस क्षेत्रमा रमाउने धेरै चराहरू भने यो समयमा आफ्नो गुँड, आहारा सबै छाडेर रित्तै बेसी झर्छन्। जाडो छल्न करिब तीन महिना मध्य पहाड तथा तराईका क्षेत्रमा बसेर आफ्नै बासस्थान फर्कने उनीहरूको पुरानो चलन हो।
‘तिलहरी’ त्यस्तै चराको एक प्रजाति हो, जो लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिनगोम्पाबाट खोलाखोलै चितवन राष्ट्रिय निकुञ्जको कसरा, गोलाघाटसम्म आइपुग्थे। तर धेरै वर्ष भयो तिलहरीको झुण्ड यस क्षेत्रमा देखिएको छैन।
वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्षसमेत रहेका चरा विज्ञ रमेश चौधरी सौराहा, कसरा क्षेत्रमा तिलहरी देखिनै छाडेको बताउँछन्।
‘२०५६ सालमा हेटौंडा क्षेत्रमा राप्ती नदीमा एकै ठाउँमा ८ वटा देखिएका थिए, केही समयपछि वेल्खु क्षेत्रमा पनि ६ वटासम्म भेटिएका थिए’, उनले भने, ‘अचेल त्यसरी समूहमा देखिएका छैनन्।’
राप्ती नदीको बाटो हुँदै झर्ने तिलहरी पहिले चितवन राष्ट्रिय निकुञ्ज आसपासका लोथर, सौराहा, कसरा, गोलाघाट क्षेत्रमा पनि देखिने गर्थे। सुपारी खोलाबाट लोथरसम्म त ठाउँ–ठाउँमा देखिन्थे।
‘पछिल्ला वर्ष यता देख्न पाइएको छैन,’ उनले भने, ‘हेटौंडा र त्यसभन्दा उपल्लो भेगमा भने फाट्टफुट्ट देख्न पाइन्छ तर पहिले जसरी झुण्डमा होइन।’
रातो रंगको लामो ठुँड र बांगो घाँटी हुन्छ, यो चराको। त्यो बांगो घाँटीमा बेरिएकोजस्तो देखिने कालो रंग झट्ट हेर्दा महिलाले घाँटीमा लगाउने तिलहरीजस्तै देखिन्छ। त्यसैले नेपालमा यो चराको नाम नै तिलहरी बन्न पुग्यो। अंग्रेजीमा यसलाई ‘इबिचबिल’ भन्ने गरिएको छ।
नेपालको हिमाली क्षेत्रका अलावा भुटान, काजिकस्तान, भारतको लद्धाखमा पनि यो प्रजातिका चरा भेटिन्छन्। सिन्धुपाल्चोक जिल्लामा पर्ने लाङटाङ भ्यालीको सबैभन्दा उपल्लो क्षेत्र क्यान्जिनगोम्पा, सोलुखुम्बुको गोक्यो र मुस्ताङमा पनि उनीहरूको वासस्थान हो। तिनीहरूले त्यही क्षेत्रमा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन्।
‘जब त्यस क्षेत्रमा हिउँ पर्न थाल्छ उनीहरू आफू रहेकै खोलाको बाटो भएर तल–तल झर्न थाल्छन्’, चरा विज्ञ वासु बिडारीले भने, ‘यसले हाँस प्रजातिका चरा जसरी लामो दूरी पार गर्न सक्दैन, छोटो–छोटो दूरीमा अघि बढ्दै तल्लो क्षेत्रमा आइपुग्छ।’
खोलामा माछा, लेउलगायतका आहारा खाएर जीवन चलाउने यो जलपंक्षी आफ्नो परिवारको एकमात्र सदस्य हो। ‘यो प्रजातिको कुनै उपप्रजाति भेटिएको छैन, तिलहरी एक्लो प्रजाति हो त्यसैले यो अरू चराभन्दा फरक पनि छ’, उनले प्रस्ट्याए।
धेरै समयमा हिमालमा र बढी जाडो हुँदा ठाडो खोला, ढुंगा बढी भएको ठाउँमा अल्ली धेरै, तराई क्षेत्रमा आक्कलझुक्कल यसलाई देख्न सकिन्छ। पछिल्ला वर्ष खोला नालामा यस्ता चरा बिरलै भेटिने गरेको भन्दै उनले तिलहरी खतराको सुचीमा पुगेको बताए।
‘हेटौंडामा डिस्टर्बेन्सका बाबजुद् वर्षेनी आइरहेको छ तर संरक्षण कुनै संस्थाले गरेको छैन,’ उनले भने, ‘राप्ती खोलालाई प्राथमिकतामा राखेर अब यसको अब नियमित अनुगमन गर्नुपर्ने देखिएको छ।’
यो कहिले तल झर्छ देखि कहिले फर्कन्छ, कति संख्यामा आउँछ सबै पत्ता लगाएर संरक्षणको योजना बनाउनुपर्ने उनले बताए।
वर्ड एजुकेशन सोसाइटीले यो चरालाई बागमती प्रदेशको ‘बर्ड अफ स्टेट’(प्रदेश चरा) घोषणा गरेर लोप हुनबाट जोगाउनुपर्ने प्रस्ताव प्रदेश सरकार समक्ष राख्ने तयारी गरेको छ।
‘बागमती प्रदेशको उच्च भूभाग सिन्धुपाल्चोकको क्यान्जिनगोम्पाबाट देखि तल्लो भूभागसम्म ओहोरदोहोर गरिरहने यो सुन्दर चरालाई लोप हुन नदिन प्रदेश सरकारको पनि सहयोग चाहिन्छ,’ अध्यक्ष चौधरी भन्छन्, ‘हामी अब यसलाई प्रदेश चरा घोषणा गर्न औपचारिक रूपमै प्रस्ताव गर्छौं, तिहलरीलाई संरक्षण गरेर प्रदेशकै गहना बनाउन सकिन्छ।’
उनले जलवायु परिवर्तनको असरले चराका धेरै प्रजातिहरू लोप हुँदै जाँदा देशको पहिचान र पर्यटनमा असर पर्ने बताए।
‘खोलाको सरसफाइ, नियमित अध्ययन, तथ्यांक संकलनलगायतका कार्यक्रमगरी संरक्षण अभियान सञ्चालन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘निजी, सरकारी र गैरसरकारी क्षेत्र सबैको प्रयासमामात्रै हामी सफल हुन सक्छौं।’
नेपालमा भेटिएका ८८७ प्रजातिका चरामध्ये करिब ४०० प्रजातिले मौसमअनुसार बसाइ सर्ने गरेको बिडारी बताउँछन्।
‘बसाइँ सर्ने चराहरू खतरामा छन्,’ उनले भने, ‘यिनको संरक्षणमा सहयोग पुग्नेगरी राज्यको नीति आउनुपर्छ।’