वन्यजन्तुको चोरी सिकारी बढ्दै जाँदा पनि यसमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन नसकेको आलोचना व्यहोर्दै आएको चितवन राष्ट्रिय निकुञ्जले पछिल्ला ४५ दिनमा दर्जन बढी व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पक्राउ गरिएकाहरू परिवारका सदस्यलाई गैंडा मार्न उक्साउनेदेखि गैंडाको खाग बिक्रीका लागि विदेश पठाउनेसम्म छन्। पुस १३ देखि माघ १४ गतेसम्ममा पक्राउ परेका १४ जनालाई बुधबार अदालतमा बुझाउनुअघि निकुञ्जले मुख्य कार्यालय कसरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
निकुञ्जकाअनुसार यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा एक सिंगे गैंडा मरेका छन्। तीमध्ये ४ वटा सिकारीले मारेका थिए। गैंडा मर्ने र मारिने क्रम अनपेक्षित रूपमा बढ्दै गएपछि संसदीय समितिले समेत चासो राखेको थियो।
विगतका केही वर्ष दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणको अवस्थामा रहे पनि कोरोना भाइरसको महामारीसँगै सुरक्षा निकायको ध्यान अन्त मोडिँदा निकुञ्जमा चोरी सिकारी बढेको हो।
‘यस पटक हामीले ठूलो सफलता हात पारेका छौं,’ प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘विगतमा तस्करीमा कम संलग्नता रहेका व्यक्तिहरूमात्रै बढी समातिएको भन्ने गुनासा आउँथे, यसपालि हामीले तस्करीमा संलग्न मल्टिलेयर (धेरै तह) लाई समात्न सफल भएका छौं।’
उनले गैंडा मारिने क्रम बढेपछि विगतमा चोरी सिकारीमा संलग्न भएर सजाय पूरा गरी फर्किएका व्यक्तिहरू पुनः वन्यजन्तुको सिकारीमा संलग्न भएको भेटिएको बताए।
‘उनीहरूमध्ये कतिपय परिवारका अन्य सदस्यको दबाबमा पुनः तस्करीमा लागेको पाइयो,’ बरालले भने, ‘हामीले दबाब दिने, गोली हानेर गैंडा मार्ने, मार्ने क्रममा सघाउने, ओसारपोसारदेखि गैंडा मार्न निर्देशन दिने र खागलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गिरोहलाई नै नियन्त्रणमा लिएका छौं।’
निकुञ्ज प्रशासनले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायतको सहयोगमा उक्त गिरोहलाई नियन्त्रणमा लिएको जनाएको छ।
१५ वर्षको कारावासपछि फेरि तस्करीमै
भरतपुर महानगरपालिका-२८ स्यालबास बस्ने ४८ वर्षीय रणबहादुर भनिने जितबहादुर कुमाल गैंडा मारेको अभियोगमा २ पटकसम्म कारागार पुगे। उनले पहिलो पटक ५ वर्ष र त्यसपछि १० वर्ष कारागारमा बिताएका थिए। सजाय पूरा गरेर घर फर्किएको करिब २ वर्षपछि कुमाल पुनः गैंडा मारेकै अभियोगमा पक्राउ परेका छन्।
यसपटक निकुञ्जले उनीसँगै श्रीमती इन्द्रमायालाई पनि नियन्त्रणमा लिएर मुद्दा चलाएको छ।
‘जितबहादुरलाई श्रीमतीले गैंडा मार्न उक्साएको पाइयो। त्यत्रो वर्ष जेल बसेर फर्किएको मान्छेलाई पुनः त्यही काममा फर्कन दबाब दिने मान्छेलाई पनि सजाय हुनुपर्छ भनेर माग गरेका छौं,’ बरालले भने।
बरालकाअनुसार जितबहादुर ५ पटकसम्म गैंडाको सिकार गर्ने कार्यमा संलग्न भएका थिए।
त्यस्तै पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट-१ बस्ने ३२ वर्षीय सुकबहादुर गुरुङविरूद्ध गैंडा मार्ने काममा दुई पटक संलग्न भएको र चितवनको कालिका-९ शक्तिखोरका वीरमान सिंह प्रजाविरूद्ध तीन पटक संलग्न रहेको अभियोग छ। उनीहरू यसअघि गैंडा तस्करीकै मुद्दामा जेल नपरे पनि अन्य अपराधिक घटनामा पटक-पटक जेल परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी राजकुमार राईले बताए।
सिकारीको लहरो तान्दा भेटिए खाग व्यापारी
गैंडा तस्करीको आरोपमा अहिलेसम्म चितवन निकुञ्जले सयौं व्यक्तिलाई पक्राउ गरेको छ। तर तस्करीमा लगाउने व्यक्ति भने कमैमात्र पक्राउ परेका छन्। यस पटक भने उपल्लो तप्काका व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिन सफल भएको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी राईले बताए।
‘विगतमा आदेश पालना गर्ने तल्लो तहका व्यक्ति मात्र पक्राउ पर्ने, माथिल्लो तप्का लुक्ने अवस्था थियो भने यस पटक हामीले तल्लो तहदेखि माथिल्लो तहसम्मलाई नै नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीमार्फत् थप व्यक्तिसम्म पनि पुग्ने प्रयास गर्दै छौं।’
राईकाअनुसार नेपालमा सिकारीले गैंडा मारेर निकालेको खाग तिब्बत पुग्ने गरेको भेटिएको छ।
‘यो त्यहाँबाट कसले माग गर्छ, किन त्यहाँ बढी जान्छ, केमा प्रयोग हुन्छ भन्ने विषयमा पुगिसकेका छैनौं,’ उनले भने, ‘तर हामी त्यहाँ पठाउने गिरोहसम्म पुगिसकेका छौं।’
चितवन निकुञ्जको आइल्याण्ड क्षेत्रमा गत भदौ १६ र १८ गते अपरान्हको समयमा गोली चलेको आवाज सुनेपछि सक्रिय बनेको निकुञ्ज शंकास्पद व्यक्तिमार्फत् व्यापारीसम्म पुगेको प्रमुख संरक्षण अधिकृत बरालले बताए।
पुस १३ गते नवलपुरको कावासोती-७ लौगाई बस्ने ४८ वर्षीय शिवनारायण महतो र त्यसपछि जितबहादुर, सुकबहादुर र वीरमानलाई नियन्त्रणमा लिएपछि उनीहरूमार्फत् खागको व्यापारमा संलग्नसम्म पुगेको उनले बताए।
‘गैंडा मारेर खाग बिक्री गर्न लागेको सूचना पाएपछि हामीले गोर्खा बजारबाट कैलाशबाबु आलेलाई नियन्त्रणमा लियौं,’ बरालले भने,‘त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा काठमाडौंबाट लमजुङको बेशीशहर-१० बस्ने सोमबहादुर गुरुङ, चितवनको माडीऔ९ का दुर्गाबहादुर सार्की महोत्तरीबाट नियन्त्रणमा लियौं।’
त्यसपछि मकवानपुरको बागमती–३ का मेखबहादुर नेपालीलाई काठमाडौंबाट, मुगुका नांगे तामाङ र काठमाडौंका योन्देन ग्याम्जोलाई काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिइएको थियो। साथै माघ १४ गते तनहुँको आँबुखैरेनी-५ का हरिबहादुर मगरलाई पनि खागको कारोबारमा संलग्न रहेको अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
उनीहरू अधिकांशले आफ्नो फरक परिचय बताएर खागका अलावा नक्कली सुन, गाँजा, रक्तचन्दनलगायतको कारोबार गर्दै आएको भेटिएको डिएसपी राईले बताए। यस्तै कारोबारमा संलग्न थप १० जनाको पहिचान भएको र नियन्त्रणको प्रयासमा रहेको उनले बताए।
बरालकाअनुसार पक्राउ परेकाहरूमध्ये ८ जना विगतमा पनि गैंडाको चोरी सिकारी तथा खागको व्यापार गरेको अभियोगमा पक्राउ परेका थिए।
व्यापारीले पैसा भनेर दिने बिटाभित्र पत्रिकाका टुक्रा
खागको व्यापारमा संलग्न व्यक्तिले पत्रिकालाई पैसाको आकारमा काटेर झुक्याउने गरेको भेटिएको छ।
‘बिटाको तल र माथि एक हजार रुपैयाँको नोट राखेर भित्र पत्रिका काटेर राख्ने रहेछन्,’ राईले भने, ‘खागको कारोबार छिट्टो गर्नुपर्ने भएकाले व्यापारीले सामान झट्ट लिइहाल्ने र पैसाको बिटा दिएर भागिहाल्ने गरेको पाइयो।’
अनुसन्धानका क्रममा विपन्न समुदायका व्यक्तिलाई सिकारीमा लगाउने र नक्कली पैसा दिएर भाग्ने गरेको भेटिएको निकुञ्जले जनायो।
निकुञ्जले नक्कली पैसाको २३ वटा बिटा फेला पारेको जनायो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूबाट २ थान भरूवा बन्दुक बरामद गरिएको छ। साथै चोरी सिकारी र व्यापारमा प्रयोग भएको एउटा गाडी र एउटा मोटरसाइकल पनि बरामद भएको डिसपी राईले बताए।
निकुञ्जभित्र रहेको नेपाली सेनाको बटुक दल गणका गणपति अरूण श्रेष्ठले बढ्दो क्रममा रहेको वन्यजन्तुको चोरी सिकारीले देखाएको चुनौतीलाई चिर्न केही हदसम्म सफल भएको बताए।
‘तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँदा आगामी दिनमा यस्ता घटनाहरूमा कमी आउने विश्वास गरेका छौं,’ उनले भने।