भरतपुर-१० की अञ्जु पौडेल ६० वर्षकी भइन्। जीवनको अधिकांश समय उनले भान्सामा बिताएकी छन्।
गृहिणीको रूपमा भान्सामा काम गर्दा उनलाई सबैभन्दा ठूलो डर ग्याससँग लाग्थ्यो। किनकी ग्यास सिलिन्डर पड्किएकोदेखि सिलिन्डरबाट निस्किएको आगो सल्किएर जनधनको क्षति भएको समाचार उनले धेरै पटक सुनेकी थिइन्।
डरलाई नियन्त्रण गर्दै आफ्नो कामलाई निरन्तरता दिनु उनका लागि एकमात्र उपाय थियो। अब भने पौडेलको त्यो डर हट्न थालेको छ। सिलिन्डर ग्याससँग खेल्न थालेको वर्षौंपछि उनले यसबाट हुनसक्ने जोखिम र जोखिम हुन नदिन अपनाउनु पर्ने सावधानीको विषयमा तालिम लिइन्।
‘ग्यास बाल्दा पनि डर लाग्थ्यो, भान्सामा भइन्जेल केही भइहाल्छ कि भनेर डराउनुपर्थ्यो,’ पौडेल भन्छिन्, ‘तालिमले आत्मविश्वास बढाएको छ, भान्सालाई सुरक्षित बनाउन सघाएको छ।’
दातृनिकाय युरोपियन युनियनको सहयोगमा युएनडिपीको प्राविधिक सहयोगमा 'फरवार्ड' नामक गैरसरकारी संस्थाले भरतपुर महानगरपालिकाको वारुणयन्त्र शाखा, नेपाली सेना र सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन शाखा र नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर महिलालाई घरायसी जोखिम कम गर्ने विषयमा तालिम प्रदान गरेको हो। भरतपुर महानगरपालिकाको बाक्लो बस्ती भएको वडा २ र १० नम्बरका महिला तथा पुरुष अगुवालाई यस्तो तालिम दिइएको थियो।
तालिममा सहभागी भएपछि धेरै गृहिणी खाना पकाउन प्रयोग हुने सिलिन्डर ग्यासबारे भ्रमबारे बुझ्दै वास्तविक जोखिमलाई न्यूनिकरण गर्न, आगलागी भइहाले सुरुआतमै निभाउन, दमकलका कर्मचारीलाई सघाउन, ठूला भवनमा रहेका फायर ब्रिगेड प्रयोग गर्नेदेखि सामान्य घाइतेको प्राथमिक उपचार गर्नसम्म जान्ने भएका छन्।
आगोदेखि डराउने ४४ वर्षीया अम्बिका पौडेल दुई पटक नि:शुल्क तालिम लिएपछि भने छिमेकीलाई आगलागी नियन्त्रणबारे सिकाउन सक्ने भएकी छन्। भरतपुरको सैनिक नमूना टोलमा बसोबास गर्दै आएकी उनी अचेल तालिमबाट सिकेको सीप आफ्नो टोलका अन्यलाई सिकाउँछिन्।
‘अहिलेसम्म हामी आगो देख्दा डराउँथ्यौं तर डराउने होइन रहेछ यसलाई नियन्त्रण गर्ने तरिका जान्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘ग्यास, इलेक्ट्रिक सामानबाट हुने अगलागी हामी आफैंले पनि नियन्त्रण गर्न सक्ने रहेछौं।’
ठूलै आगलागी भए कसरी अग्निनियन्त्रकलाई खबर गर्ने, उनीहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा पनि जानेको उनले बताइन्।
‘हामी आँत्तिदा सानो आगोबाट पनि ठूलो क्षति हुने रहेछ,’ पौडेलले भनिन्, ‘यसलाई बढ्न कसरी नदिने, साना आगोबाट ठूलो क्षति हुन कसरी नदिने भन्ने कुरा सबैले जाने भने जोखिम घट्छ।’
केदार सुवेदी भरतपुरको मौलाकालिका अस्पतालमा मनोविज्ञानसम्बन्धी परामर्श दिने काम गर्छन्। लामो समयदेखि अस्पताल क्षेत्रमा कार्यरत उनले फायर ब्रिगेड (आगो नियन्त्रणमा प्रयोग हुने उपकरण) देखेको वर्षौं भयो। उनी कार्यरत अस्पतालमा पनि फायर ब्रिगेड छ, तर उनले यसको प्रयोग भएको कहिल्यै देखेका थिएनन्।
‘फायर ब्रिगेडले आगो निभाउने काम गर्छ भन्ने थाहा भए पनि यसको प्रयोग गर्न जानिएको थिएन, अस्पतालमा आगलागी भइहाले पनि यसको प्रयोग गरेर निभाउन जान्ने मान्छे थिएनन्,’ उनले भने, ‘अब त म पनि यसको प्रयोग गर्न जान्ने भएको छु, अब यो मेरो जीवनमा त काम लाग्छ, मैले जानेको कुराको फाइदा मेरो समुदायले पनि लिने भयो।’
सहरी क्षेत्रका ठूला र व्यावसायिक भवनमा फायर ब्रिगेड देख्न सकिन्छ। मानवीय चहलपहल बढी हुने स्थानमा अग्नि नियन्त्रणका उपकरण राख्न अनिवार्य गरिए पनि यसको प्रयोग गर्ने जनशक्ति तयार गर्नेतर्फ भने खासै ध्यान पुग्ने गरेको थिएन। जसले गर्दा अग्निनियन्त्रक उपकरण देखाउने साधनमात्रै बनिरहेको थियो।
भरतपुर महानगरपालिका वारुण यन्त्र इन्चार्ज देवेन्द्रराज रेग्मीकाअनसार महानगरको वारुण यन्त्रले एक वर्षमा ६० भन्दा बढी स्थानमा आगलागी भएर नियन्त्रणको काम गर्ने गरेको छ।
‘ठूलो आगलागी हुँदा पनि हामी दमकलका कर्मचारीमात्रै नियन्त्रणमा खट्नुपर्ने अवस्था छ, यसमा समुदायको पनि सहयोग भयो भने क्षति कम हुन्छ भनेर हामीले स्थानीयलाई तालिम दिइरहेका छौं,’ रेग्मी भन्छन्, ‘यस्तो तालिमले सर्वसाधारणलाई आत्मविश्वास बढाउने काम गरेको छ।’
स्थानीयवासीलाई सबै कुरा देखाएर प्रयोगात्मक तालिम दिँदा स्पष्ट रूपमा बुझेर अन्यलाई पनि सिकाउन सक्ने भएको रेग्मीले बताए।
‘समुदाय तहमा देखिने समस्या आगो देख्दा आँत्तिने, कतिपयले नजान्दा-नजान्दै पनि आगो नियन्त्रणमा खटिएका दमकलका कर्मचारीको पाइप आफैंले लिन खोज्ने अवस्था देखिन्थ्यो,’ उनी भन्छन्, ‘उहाँहरूलाई तालिम दिएपछि त हामीलाई अग्निनियन्त्रणका लागि जाँदा सहयोग गर्ने मान्छे हुने भए, यसले छिटो निभाउन सहयोग पुग्ने भयो।’
आगलागी हुँदा, घाइते हुँदा अस्पताल लैजाने, कसैलाई पर्यो भने सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पनि सरकारी निकायबाटै सर्वसाधरणलाई तालिम सञ्चालन गर्नुपर्ने रेग्मी बताउँछन्। नारायणगढ बजार क्षेत्र र भरतपुरका अस्पताल र ठूला भवन रहेका क्षेत्रमा अग्निनियन्त्रणका आकस्मिक प्रणाली भए पनि दक्ष जनशक्तिको अभाव रहँदै आएको उनले बताए।
‘जता घटना भए पनि हामी पुग्ने पर्ने अवस्था छ। धेरै ठाउँमा आगलागी हुँदा सबैतिर एकैचोटी पुग्न नसकेर क्षति बढी भएका उदाहरण पनि छन्,’ रेग्मी भन्छन्, ‘घटनास्थलमा सबैभन्दा चाडो पुग्ने समुदाय हो, उनीहरुले जाने भने सुरूमै नियन्त्रण गर्न सकिन्छ।’
फरवार्ड नेपालको सहरी विपद न्यूनीकरण कार्यक्रममा कार्यरत ऋषि ढकालले अग्निप्रतिकार्यका लागि काम गर्न सक्नेगरी टोल–टोलमा स्वयंसेवक तयार पार्ने काम सुरू भएको बताए। महानगर, नेपाली सेना, सशस्त्र प्रहरी बल र रेडक्रससँग समन्वय गरेर तत्कालका लागि भरतपुरका दुई वटा वडामा कार्यक्रम सञ्चालन गरिएको भन्दै उनले यो अभियान देशव्यापी बन्दा विपद व्यवस्थापनमा सहयोगी हुने बताए।
‘हामीले घना बस्ती, मानवीय चहलपहल बढी हुने क्षेत्र, ग्यास बेच्ने पसल, पेट्रोल पम्पजस्ता जोखिमका क्षेत्रको नक्सांकन गरेर त्यस क्षेत्रका बासिन्दालाई अग्निप्रतिकार्यसम्बन्धी तालिम सञ्चालन गरेका छौं,’ उनले भने, ‘यस कार्यले स्थानीय सरकारलाई पनि भविष्यमा विपद् व्यवस्थापनमा सहयोग गर्नेछ भन्ने अपेक्षा छ।’