२०६० सालको पुस १० गते माडी-८ कान्तिपुरका लालप्रसाद रिमाललाई बाघले आक्रमण गर्यो। घर नजिकैको जंगलमा बाख्रालाई घाँस लिन जाँदा बाघले उनैलाई लग्यो। त्यतिखेर एक वर्षका थिए छोरा सन्दीप। अहिले उनी माडीको जनजीवन माविमा कक्षा ११ मा पढ्छन्।
१७ वर्षको अवधिमा देशमा धेरै कुरा परिवर्तन भए तर सन्दीपको परिवारको दिनचर्या भने उस्तै छ। कृषि र पशुपालन मुख्य पेशा भएको उनको परिवारलाई भैंसी र बाख्राका लागि घाँस लिन त्यही जंगल नगई सुख छैन, जुन जंगलले परिवारको मुलीलाई खोसेर लगेको थियो।
‘जंगली जनावर त घर वरपर नै डुलिरहेका हुन्छन्, लगाएको खेती पनि खाइदिन्छन्,’ सन्दीप भन्छन्, ‘बालाई त्यही जंगलले खोस्यो, बाख्रालाई घाँस काट्न अझै पनि त्यहीँ नगई सुख छैन।’
जंगलले घेरिएको माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। माडी क्षेत्र वरपरका जंगललाई वन्यजन्तुको मुख्य वासस्थान मान्ने गरिन्छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेका अनुसार यही क्षेत्र भएर बाघ, गैंडा, हात्तीलगायतका वन्यजन्तुहरू आफ्नो गन्तव्यतर्फ आवतजावत गर्छन्।
दुर्लभ बन्दै गएका यी वन्यजन्तु संरक्षणमा विश्वकै ध्यान पुग्ने गरे पनि उनीहरूबाट जनधनमा हुने क्षति रोक्ने विषयमा ठोस प्रगति भएको पाइँदैन। जसले गर्दा सन्दीपजस्ता सयौं बालबालिकाले अभिभावकविहीन जीवन जिउँदै आएका छन्।
माडी-७ दिवानगरकी मञ्जु कुमालको काँधमा सानै उमेरमा दुई भाइ, एक बहिनीको जिम्मेवारी आइलाग्यो। २०७२ फागुन २० गते उनका बुबा धनबहादुरको गैंडाको आक्रमणबाट ज्यान गएको थियो। पल्लो गाउँ जीवनपुर जाँदा बिहान साढे ४ बजे गैंडाको आक्रमणमा परेका थिए, धनबहादुर। बुबालाई छाडेकी मञ्जुको आमाको पनि स्यालले टोकेर मृत्यु भएको थियो।
अपाङ्गता भएका एक भाइ भरतपुरस्थित चितवन माविमा सांकेतिक भाषा पढ्छन् भने अर्का भाइलाई नवलपुरको दलदलेमा आशाको किरण नामक संस्थाले पढाएको छ। बहिनीले उनकै अभिभाकत्वमा विवाह गरिन्।
‘जनावरको आक्रमणबाट अभिभावक गुमाएपछि हामीले धेरै पीडा सहनुपर्यो,’ मञ्जु भन्छिन्, ‘निकुञ्जले सहयोग त गर्यो तर अझै पनि बाहिर हिँड्दा डर उस्तै छ, हाम्रो नियति पनि बुवाआमाको जस्तै हुने हो कि भन्ने पीर लाग्छ।’
माडी-९ कृष्णनगरकी कुमारी बिक भैंसी हराएर खोज्न बाटोमा निस्किएकी थिइन्। उनलाई गैंडाले लखेट्न थाल्यो। भाग्दा उनको जोर चलेन, गैंडाले भेट्टाइहाल्यो। गैंडाले उनको ज्यान त लिएन तर काम गर्नै नसक्ने गरी घाइते बनाइदियो।
छोरी ११ र छोरा कक्षा ६ मा पढ्छन्। २ वर्ष अघिसम्म कुमारीले मेलापातबाट आएको कमाइले घरधन्दा चलाउने गर्थिन्।
‘अचेल त सारै गाह्रो छ, छाती, कम्मरमा पुगेको चोटले काम गर्न सक्दिनँ,’ उनी भन्छिन्, ‘छोरा, छोरीलाई पढाउन हम्मे हुन्छ।’
चितवन राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०५५-०५६ देखि गत मंसिरसम्ममा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने २ सय ६ जनाको वन्यजन्तुको आक्रमणबाट ज्यान गएको छ। यो अवधिमा वन्यजन्तुको आक्रमणबाट घाइते हुनेको संख्या ७ सय ४३ छ।
आर्थिक वर्ष २०६०/०६१ मा वन्यजन्तु आक्रमणमा परेर २५ जनाको ज्यान गएको थियो । यो चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट सबै भन्दा बढीको मृत्यु भएको वर्ष हो। वर्षमा सरदर नौ जनाले ज्यान गुमाएको निकुञ्जको तथ्यांकमा छ। चालु वर्षको पाँच महिनामा पाँच जनाले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र चितवन, नवलपुर, मकवानपर र पर्सा जिल्लासम्म पर्छ। संरक्षित क्षेत्रका सीमावर्ती दुई दर्जनभन्दा बढी बस्ती छन्।
जनावरलाई नवलपुर, चितवनबाट मकवानपुर, पर्सा जानका लागि माडी क्षेत्र मुख्य बाटो हो। लामिछानेकाअनुसार जंगली हात्ती चितवन-पर्सा ओहोरदोहोर गर्छन्। ती हुलले माडी क्षेत्रका बासिन्दालाई बढी दुःख दिन्छन् ।
बाघ पनि घरपालुवा जन्तुको सिकार गर्न बस्ती पुग्छ। गैंडा बाटाबाटै निस्किरहेका देखिन्छन्। संरक्षित क्षेत्रप्रति वरपरका बासिन्दाको अपनत्व बढाउन मध्यवर्ती क्षेत्रको अवधारण आएको हो। तर घाँस-दाउराका लागि नजिकका वनमा निर्भर बासिन्दाले सधैं डराएर बस्नु परेको छ।
मान्छेमाथि आक्रमणका साथै वन्यजन्तुबाट खेती र घरपालुवा पशुचौपायाको नोक्सानी पनि हुने गरेको छ। आर्थिक वर्ष २०५५/०५६ यता हालसम्म वन्यजन्तुको आक्रमणमा २५ सय ६४ वटा घरपालुवा पशु चौपाया मारिएका छन्। वन्यजन्तुले भत्काइदिएका घरको संख्या ४ सय ३९ वटा छ। खेतीमा नोक्सानी गरेका २ हजार ७ सय ४० वटा घटना छन् । घरमा राखेको अन्न नोक्सान गरेको घटना दुई सयवटा भएको चितवन निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।
अयोध्यापुरी मध्यवर्ती वनका पूर्वअध्यक्ष नारदमणि पौडेल ठूलो संघर्षपछि वन्यजन्तुबाट क्षति भएकालाई राहत दिने व्यवस्था भएपनि समयानुकूल बढाउने नगरिँदा पीडित परिवारलाई जीवन चलाउन गाह्रो भएको बताउँछन्।
‘संरक्षण के हो भन्नेकुरा जनताले अझै पनि बुझ्न सकेका छैनन्, बुझाउन नसक्नु निकुञ्जको कमजोरी हो,’ पौडेल भन्छन्, ‘आफूमाथि आक्रमण गर्न आउने जनावरसँग लड्दा जनतालाई तस्कर भनेर दु:ख दिने गरिएको छ। यसैगरी दुःख भइरह्यो भने जनताले मध्यवर्ती क्षेत्र खारेज गर्न माग गर्नुपर्ने हुन्छ।’
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख लामिछाने पनि मध्यवर्ती क्षेत्रमा सबैभन्दा बढी प्रभावित माडी क्षेत्र रहेको बताउँछन्। यसैलाई मध्यनजर गरेर अयोध्यापुरी र पाँच पाण्डवमा १२ लाख ६५ हजार रुपैयाँका दरले अक्षय कोष निर्माण गरेर पीडित परिवारका छात्रछात्रालाई नियमित रूपमा छात्रवृत्ति दिने गरिएको उनले बताए। यस्ता राहतलाई विस्तार गर्दै लैजाने पहल भएको पनि उनले बताए।
‘विशेष अवस्थितिका कारण यस क्षेत्रबाट भारतको वाल्मिकी टाइगर रिजर्भबाट आउने जनावार पास हुन्छन्, यही क्षेत्र भएर हात्ती पर्सा हुँदै रौतहट पुग्छन्, सोमेश्वर क्षेत्र हुँदै पर्सासम्म बाघ पुग्ने गरेका छन्,’ लामिछाने भन्छन्, ‘यसलाई व्यवस्थापन गर्ने मान्छेले नै हो। क्षतिलाई कम गर्दै अघि बढ्नुपर्छ।’
उनले संरक्षणसँगै माडीको विकास पनि अघि बढ्नु पर्ने बताए। मध्यवर्ती क्षेत्रबाट स्थानीयले फाइदा लिनसक्ने वातावरण बनाउनु पर्ने उनी बताउँछन्।
‘एसियामा ७० हजार वर्ष अघिमात्र आएको मान्छेले आफूलाई आदिवासी दाबी गर्दैगर्दा ५ करोड वर्षअघि आइसकेको गैंडा, २० लाख वर्षदेखि रहेको चितुवा, १५ लाख वर्षबाट रहेको बाघको अधिकारलाई पनि ख्याल गर्नुपर्छ,’ लामिछाने भन्छन्, ‘आफ्नो क्षेत्र घट्दै जाँदा जनावर गाउँ पस्न थालेका छन्, स्थानीयले यस विषयमा ख्याल गर्न सक्ने हो भने तिनै जनावरलाई देखाएर फाइदा लिन सकिन्छ।’
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल मानव-वन्यजन्तु द्वन्द्व कम गर्दै जानुपर्ने बताउँछन्। वन क्षेत्रले घेरिएको भौगोलिक अवस्थाका कारण माडीमा द्वन्द्वका घटना धेरै देखिएको उनले बताए।
निकुञ्जको आम्दानीको ५० प्रतिशत हिस्साका रूपमा वार्षिक करिब २ अर्ब रुपैयाँ मध्यवर्ती क्षेत्रमार्फत् स्थानीय क्षेत्रमा खर्च हुँदै आएको उनले बताए।
‘वन्यजन्तुका कारण श्रीमान् गुमाएका एकल महिलालाई बढी समस्या भएकाले उनीहरूको समूह बनाएर सस्तो ब्याजमा परिचालन गर्ने गरी कोषको व्यस्था मिलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामी निकुञ्जको कारणले विकासमा अवरोध भएको सुन्न नपरोस् भन्नेमा पनि सचेत छौं।’