माछा मार्ने पेशा बोटे समुदायको परम्परागत पेशा हो। खोलानजिकै बसोबास गर्ने अल्पसंख्यक बोटे समुदायको ठूलो हिस्सा अझै पनि यही पेशामा छ।
२०६८ सालको जनगणनाअनुसार उक्त समुदायको संख्या देशभरि करिब १० हजार छ। उनीहरूमध्ये आधाभन्दा बढी चितवन र नवलपरासी जिल्लामा बस्छन्।
यस क्षेत्र भएर बग्ने नारायणी, राप्ती नदी तथा अन्य खोला आसपासमा बोटे समुदायको बसोबास रहेको छ। धेरैले अहिले पनि यिनै नदी, खोलाको माछा मारेर, बिक्री गरी गुजारा चलाइरहेका छन्।
चितवनको माडीस्थित बकट्टामा बसोबास गर्दै आएका बोटेले भने परम्परागत व्यवसाय त्यागेको धेरै वर्ष भयो। माछा मार्न छाडेर कृषि, पशुपालनमा रमाउँदै आएको यो गाउँको पछिल्लो पुस्ताले पर्यटन क्षेत्रमा पनि पाइला बढाएको छ। एक सयभन्दा बढी बोटे परिवार बस्ने यो गाउँमा केही महिनादेखि ‘बोटे होमस्टे’ सञ्चालनमा आएको छ।
यो बोटे समुदायले मात्रै चलाएको नेपालकै पहिलो होमस्टे हो।
‘हाम्रा बाबु, बाजेले माछा मारेरै गुजारा चलाए तर मैले कहिल्यै पनि त्यसलाई पेशा बनाइन,’ बोटे समाज बनकट्टाका अध्यक्ष सन्तोषप्रसाद बोटेले भने, ‘सानैदेखि खेतीपाती, पशुपालन गर्दै आयौं। अब होमस्टे चलाउन लागिपरेका छौं।’
कालीगण्डकी किनारमा बस्दै आएका उनका पुर्खाले नारायणी, राप्ती नदीको किनार हुँदै बनकट्टा पुगेर जंगल फँडानी गरी बस्ती बसाएका थिए। तिनै पुर्खाले चर्चेको जमिन अहिलेका पुस्ताले पनि प्रयोग गर्दै आएका छन्।
तराई भूपरिधि कार्यक्रम(ताल) नामक संस्थामार्फत् होमस्टेको महत्व र गाउँमा पर्यटनको सम्भावनाबारे जानकारी पाएपछि स्थानीयबासी होमस्टे सञ्चालनतर्फ अग्रसर भएको सन्तोषप्रसाद बोटेले सुनाए। उनीहरूको उत्साहमा प्रदेश सरकार र स्थानीय तहले पनि साथ दियो।
बागमती प्रदेश सरकार र माडी नगरपालिकाको २५/२५ लाख रुपैयाँ अनुदानमा आफ्नो करिब २/२ लाख रुपैयाँ थप गरेर अहिले यहाँका दश परिवारले होमस्टे सञ्चालनमा ल्याएका छन्।
२०७५ सालको चैतबाट निर्माण सुरू गरिएको होमस्टे एक वर्षमा तयार भएको थियो। सञ्चालन गर्न ठिक्क पर्दा कोरोना भाइरसको महामारीले देशमा लकडाउन भयो।
‘२ महिनाअघि देखि होमस्टे चलाउन थालेका छौं, विस्तारै मान्छेले थाहा पाउन थालेका छन्,’ होमस्टे सञ्चालन समितिका अध्यक्षसमेत रहेका सन्तोषप्रसादले भने, ‘यो व्यवसायले बोटे समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने आशा हाम्रो छ।’
हाल १० परिवारले सञ्चालन गरेको होमस्टेसँगै यस बाहेकका अन्य परिवारको पनि साझेदारी रहनेगरी सामुदायिक होमस्टे र गाउँभरिका सबैको अपनत्व हुनेगरी साँस्कृतिक भवन निर्माण भइरहेको छ। यसले लोप हुँदै गएको बोटे समुदायको पहिचानलाई संरक्षण गर्ने विश्वास उनीहरूको छ।
दुई महिनाको अवधिमा यी होमस्टेहरूमा २ सय बढी आन्तरिक पर्यटकहरू बसेका छन्। उनीहरूलाई स्थानीयले बोटे समुदायसँग नाता गाँसिएको माछाका परिकारका साथै स्थानीय अर्ग्यानिक उत्पादन खुवाए। माछाको तरकारी, माछाकै अचार(चोखा), घोंगी, तामाको चोखा, निउरोको तरकारी खुवाउने गरिएको सन्तोषकुमारले बताए।
उनीहरूले पाहुनासमक्ष आफ्नो परम्परागत कला र संस्कृति पनि पस्किए। बोटे समाजका अगुवा युवा जगनारायण बोटेका अनुसार स्थानीयले पाहुनालाई जगिया, सोहोर्ना, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारूनीलगायतका कला/नाचहरू देखाउने गर्छन्। यीमध्ये जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाच हुन्।
बोटे समुदायमा हुने विवाहका क्रममा गरिने क्रियाकलापलाई जगियामा देखाइन्छ। सोहोर्नामा बोटेहरुले माछा मार्ने क्रममा बालुवा सोहोर्न प्रयोग गर्ने सामग्री लिएर नृत्य गर्छन्। गोलेनी वर्षाको उर्लंदो नदी तर्न नसकेकी बहिनीलाई दाजुले डुँगामा राखेर तार्दै घरमा पठाउन लाग्दाको गीत हो। सोल्टी–सोलोटना बोटे युवा युवतीले रमाइलोको क्षणमा गाउने गीत हो।
‘यी सबै संस्कृति लोप भइसकेका थिए। हामीले भएका वृद्धवृद्धाहरुलाई जम्मा गरेर उनीहरूले भनेका कुरामा थपथाप पारेर गीत तयार पारेर त्यसलाई पाहुनाका सामु प्रस्तुत गर्न थालेका छौं,’ जगनारायणले भने, ‘पाहुनालाई केही त देखाउनै पर्छ भनेर लाग्दा आफ्नो पुरानो संस्कृति पत्ता लगाउने अवसर मिल्यो।’
पाहुनासामु यी संस्कृतिको प्रदर्शन गर्न महिला, पुरूष एक साथ जुट्छन्।
‘सुरूआतमा हामी यहाँ आउने पाहुनालाई आफ्नै भाषा, शैलीमा बिन्तीबाटी(स्वागत छ) भनेर स्वागत गर्छौं,’ स्थानीय कोपिला बोटेले सुनाइन्, ‘त्यसपछि बोटे समुदायको पहिचान झल्कने खनाको परिकार खुवाउँदै संस्कृति प्रदर्शन गर्छौं।’
उनका अनुसार यहाँ आउने पाहुनाले बोटे समुदायको पेशा, खानाका अलावा भाषा, भेषभुषा, रहनसहनको विषयमा धेरै चासो राख्ने गर्छन्।
‘हामीले उहाँहरूलाई जानेको जति सबै कुरा सुनाउँछौं। उहाँहरुको चासो देख्दा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘फर्कंदा हामीलाई पनि बिन्तीबाटी भनेर फर्कनुहुन्छ।’
होमस्टे सञ्चालक सविता बोटेकाअनुसार यहाँ बस्न चाहने पाहुनालाई एउटा कोठाको ६०० रुपैयाँ लिने गरिएको छ। एउटा कोठामा तीन जनासम्म अट्छन्। सादा खानाको मूल्य १५० रुपैयाँ तोकिएको छ।
पाहुनालाई बनकट्टाबाट नजिकै रहेका धार्मिकस्थलहरू गोद्धक क्षेत्र, परशुराम कुण्ड, सीता गुफा, पाण्डवनगर, भीम मन्दिरको भ्रमण गराउने उनीहरूको लक्ष्य छ। यो क्षेत्रलाई त्रेता युगमा राम र द्वापर युगमा पाँच पाण्डव वनबास जाँदा समय बिताएको स्थान मान्ने गरिन्छ।
चितवन राष्ट्रिय निकुञ्जबाट माडी प्रवेश गर्ने मुख्यद्वारमै अवस्थित बनकट्टामा रहेको होमस्टेमा बस्ने पाहुनालाई निकुञ्ज क्षेत्रको भ्रमण गराउने लक्ष्य पनि राखेको अध्यक्ष सन्तोषप्रसाद बोटेले बताए।
‘यहाँ रहेर कृषि, पशुपालन गर्ने क्रममा निकुञ्ज, वन्यजन्तुबाट हामीले ठूलो क्षति व्यहोर्यौं,’ उनले भने, ‘अब त्यो निकुञ्ज र जनावरबाट हामीले पनि फाइदा लिनुपर्छ भनेर लागेका छौं।’
निकुञ्जबाट निस्किएका जनावरको आक्रमणमा परी यस क्षेत्रका ८ जना मान्छेको मृत्यु भएको छ। दर्जन बढी मान्छेहरू वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन्। जनावरबाट बालीनालीमा भएको क्षतिको त हिसाब गरिसाध्य छैन।
‘ढिलै भए पनि पर्यटन क्षेत्रमा हामी लागेका छौं। अब बोटे होमस्टेको प्रचार-प्रसार गरी गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउने प्रयास गर्छौं,’ जगनारायणले भने, ‘यसले निकुञ्ज र हामी दुबैलाई फाइदा हुन्छ।’
होमस्टे सञ्चालनमा आएसँगै स्थानीयबासीले तरकारी खेती, कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यवसायिक बनाउन थालेका छन्। गाउँलेले समूह बनाएर तीन वटा सामूहिक माछा पोखरी तयार पारेका छन्। सामूहिक तरकारी खेतीका लागि जमिनको खोजी भइरहेको उनीहरूले बताए।
‘तत्कालका लागि कम्तिमा पनि आफू र पाहुनाले खाने कुरा गाउँमै तयार होस् भनेर हामी लागेका छौं,’ जगनारायणले भने, ‘बिस्तारै होमस्टे थप गर्दै जाने र कृषि उत्पादन बढाएर अन्यत्र पनि बिक्री गर्ने तयारी छ।’
नेपाल बोटे समाज महिला महासंघकी महासचिव बिना बोटे कृषि, पशुपालन हुँदै पर्यटन क्षेत्रमा अग्रसर हुनु बोटे समुदायकै ठूलो सफलता भएको बताउँछिन्। निकुञ्ज आसपासमा रहेका बोटेहरूले पर्यटन विकासका लागि ठूलो योगदान दिए पनि यस क्षेत्रबाट बोटेले कमै मात्र फाइदा पाउने गरेको उनले सुनाइन्।
‘हामीले पर्यटकको गाइडको काम गर्नेदेखि, गोही जोगाउनमा सघाउने, अन्य जनावरको अवस्थाबारे खबर गर्नेसम्मका सहयोग गर्दै आएका छौं तर हामीलाई माछा मारेर सके भन्ने आरोपमात्र लाग्ने गर्छ,’ उनी भन्छिन्, ‘हाम्रो समुदायले बोटेले माछा मार्ने काम मात्रै गर्दैन, धेरै कुरामा सक्षम छ भनेर देखाउने बेला आएको छ।’
राज्यले बोटे समुदायलाई सधैँ तल्लो स्तरको व्यवहार गर्ने गरेको गुनासो छ नेपाल बोटे समाज चितवनकी अध्यक्ष इन्दिरा बोटेको। सोही व्यवहारका कारण आफ्नो समुदायका धेरैले थर नै परिवर्तन गर्ने गरेको पाइएको उनी बताउँछिन्।
बोटे समुदायको नयाँ पुस्ताले राम्रो काम गरेर समाजलाई देखाउन थालेको उनले बताइन्।
‘बोटे होमस्टे बोटेले खोलामा माछा मार्ने र निकुञ्जका निहुरो टिप्ने काम मात्रै गर्दैन, कृषि, पशुपालन र पर्यटनमा पनि उसको ठूलो योगदान छ भन्ने उदाहरण बन्दैछ,’ उनले भनिन्।
उनका अनुसार बोटेहरूले चितवन र नवलपरासीमा अन्य स्थानमा पनि अन्य समुदायसँग मिलेर होमस्टे सञ्चालन गरेका छन्।
‘तर बोटे समुदायले मात्र चलाएको होमस्टे भने बनकट्टामा नै पहिलो पटक हो,’ उनले भनिन्, ‘केही साथीहरूले होटल, रेष्टुरेन्ट पनि सुरू गर्नुभएको छ। नयाँ पुस्ताका युवाहरू सरकारी सेवामा लागेका छन्। समयअनुसार हामी र हाम्रो सोचमा परिवर्तन आउँदैछ, राज्यले हामीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आओस्।’