सोमबार सबेरै खोरसोर पुग्दा हात्तीसार रित्तै थियो। हात्ती प्रजनन् केन्द्रको मैदानमा रहेको एउटा टेबल भने औषधीले भरिएको देखिन्थ्यो। सँगै चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक, स्वास्थ्य प्राविधिक र केही कर्मचारी थिए।
केहीबेरमा घाँसका ठूला–ठूला भारी बोकेका हात्ती छावालाई अघिपछि लगाएर आइपुगे। माउते घाँस झारेर हात्तीको स्याहार सुसार गर्न थाले। झुल्के घाममा चञ्चल छावा भने यताउता दौडिँदै रमाउन थाले।
लगत्तै चिकित्सकले सबै हात्तीलाई मैदानमा ल्याउन आदेश दिए। माउतेले सबै हात्तीलाई मैदानमा लामवद्ध गराइहाले।
हात्ती प्रजनन् केन्द्रमा हात्तीका लागि स्वास्थ्य शिविर सुरू हुँदै थियो। सन् २०१५ पछि पहिलो पटक बृहत्रुपमा शिविर गरिँदै थियो। चितवन राष्ट्रिय निकुञ्जमा हुन लागेको एक सिंगे गैंडाको गणनाको पूर्वतयारी पनि हो यो स्वास्थ्य शिविर।
गैंडा गणनामा हात्तीको भूमिका महत्वपूर्ण हुन्छ। हात्ती निकुञ्जका सबैजसो ठाउँमा पुग्न सक्छन्। त्यसैले गणनापूर्व हात्तीको स्वास्थ्य अवस्था जाँच्ने गरिन्छ। यसैको आधारमा योग्य देखिएका हात्तीहरूलाई गणनामा सहभागी गराइन्छ।
निकुञ्जमा यसै वर्षभित्र गैंडाको गणना सुरू हुँदैछ। शिविरको पहिलो दिन सोमबार प्रजनन् केन्द्रमा रहेका ११ वटा हात्तीको स्वास्थ्य परीक्षण गरियो। यहाँ ११ वटा माउ हात्तीसँगै ९ वटा छावा छन्। छावा ८ वटा भाले र एउटा पोथी छन्।
चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार कोशी टप्पुबाट ल्याइएका ६ सहित यहाँ ५६ वटा सरकारी हात्ती छन्। यीसहित सौराहा क्षेत्रमा रहेका करिब ६० वटा निजी हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको श्रेष्ठले जानकारी दिए।
‘तीमध्ये कुन-कुन हात्ती गैंडा गणनाका लागि जान योग्य छन् भन्ने पत्ता लगाउने मुख्य उद्देश्य स्वास्थ्य शिविरको हो,’ डा.श्रेष्ठले भने, ‘शिविरमा सबै हात्तीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यकताअनुसार उपचार गर्छौं।’
१५ दिनसम्म चल्ने शिविरमा हात्तीहरूलाई जुकाको औषधी खुवाउने, रगत जाँच गर्नेदेखि फुट ट्रिमिङ(नङ काट्ने) काम गरिने डा.श्रेष्ठले बताए। दोश्रो चरणमा हात्तीको स्वाब संकलन गरेर टिबी रोगको जाँच गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेले बताए।
भेलीमा लुकाएर खुवाइन्छ जुकाको औषधी
हात्तीको मन पर्ने खाना हो भेली। घाँसमा भेली पोको पारेर हात्तीलाई नियमित खुवाउने चलन छ। स्वास्थ्य शिविरको सुरूमा हात्तीलाई जुकाको औषधी खुवाइयो।
हात्तीलाई जुकाको औषधी सिधै खुवाउन सकिँदैन। त्यसैले उसको मनपर्ने खाना भेलीमा पोको पारेर औषधी खुवाउने चलन छ। प्रत्येक हात्तीलाई १८ ट्याबलेट औषधी भेलीमा पोको पारेर खुवाइएको थियो।
डा.श्रेष्ठका अनुसार भैंसीलाई जुकाको तीनवटा ट्याबलेट खुवाए पुग्छ, त्यही ट्याबलेट हात्तीलाई १८ वटा खुवाउनुपर्छ। निकुञ्जले प्रत्येक ६ महिनामा जुकाको औषधी खुवाउने गर्छ। जुकाको औषधी नियमित खुवायो भने हात्तीलाई पेटको समस्या हुँदैन।
स्वास्थ्य अवस्था पत्ता लगाउन रगत परीक्षण
शिविरमा हात्तीको स्वास्थ्य अवस्था पत्ता लगाउन रगतको नमूना संकलन गरिएको छ। अब ती नमूनाबाट रक्त कोषहरूको अवस्था, तनाव र पोषणको अवस्था पत्ता लगाइनेछ।
हात्तीको कानबाट निकालिएको रगतमार्फत बायो केमेष्ट्री एनलाइसिस गरी शरीरमा रहेको हर्मोनको अवस्था पत्ता लगाइनेछ भने हेमाटोलोजीबाट रक्त कोषहरुको अवस्था बुझिने डा.लामिछानेले बताए।
‘हात्तीलाई तनाव बढी छ कि, शरीरमा पौष्टिक तत्वको अवस्था कस्तो छ, अन्य रोग पो छ कि भन्नेबारे रगतको परीक्षणबाट थाहा हुनेछ,’ उनले भने।
यी परीक्षणका लागि सौराहामा वन्यजन्तु अस्पताल यसै वर्षदेखि सञ्चालनमा आएको छ।
हात्तीलाई नङले दिन्छ सबैभन्दा पीडा
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा.अमिर सडौलाकाअनुसार हात्तीमा देखिने सबैभन्दा ठूलो समस्या नङको हो। नियमित रूपमा नङ काटिएन भने हात्तीलाई हिँड्नै मुस्किल पर्छ। त्यसमा बेवास्ता गर्यो भने खुट्टा कमजोर हुँदै जान्छ।
कोषका स्वास्थ्य प्राविधिक किरण रिजाल जंगली हात्तीमाथि कसैको हैकम नचल्ने भएकाले उसले आफ्नो अंगको व्यवस्थापन आफैं गर्ने भए पनि पालुवा हात्तीको व्यवस्थापन मान्छेले गरिदिनुपर्ने बताउँछन्।
‘जंगली हात्तीले लामो दूरीको यात्रा गरिरहेको हुन्छ, अनुकूल हुने ठाउँमा हिँड्छ त्यसैले उसको व्यवस्थापन प्राकृतिक रूपमै हुन्छ,’ रिजाल भन्छन्, ‘पालिएका हात्ती भने मान्छेले जता हिँडायो त्यतै र जति हिँडायो उतिमात्र हिँड्न भएकाले स्वास्थ्यमा हामीले धेरै ध्यान दिन सक्नुपर्छ।’
उनकाअनुसार नङ बढ्दै हात्तीको पैतालाभन्दा तल पुगेर भुइँ छुन्छ। जसले गर्दा खुट्टा टेक्न मुस्किल पर्छ।
‘४-५ हजार किलो तौलको ज्यानलाई धान्न सन्तुलित ढंगले खुट्टा टेक्नु पर्नेमा नङ लामो भएपछि हात्ती खुट्टाको पछाडिको भागले मात्र टेकेर हिँड्न थाल्छ,’ उनी भन्छन्, ‘यसो गर्दा खुट्टा कमजोर हुन पुग्छ।’
खुट्टामा काँडा बिझ्ने, सिसा गड्ने र इन्फेक्सन हुने समस्या बढी देखिएको भन्दै उनले बेला-बेलामा खुट्टा जाँच गराउने, नङ काट्ने नगरिए हात्तीहरू कमजोर हुँदै जाने बताए।
‘अन्यत्र घाउ आए बरू उपचार गराउँदै हिँडाउन सकिन्छ तर खुट्टामै समस्या आयो भने त अरू उपाय नै हुँदैन,’ रिजाल भन्छन्, ‘त्यसैले स्वस्थ हात्तीको ६-६ महिनामा र कमजोर हात्तीको अझै छिटो–छिटो नङ काट्ने गरिन्छ।’
हात्तीमा देखा पर्ने समस्यामध्ये ४० प्रतिशत खुट्टामा देखिएको उनी बताउँछन्।
‘त्यसमा पनि प्रमुख कारण नङ नै रहने गरेको छ’, उनले भने।
उनकाअनुसार एउटा हात्तीको नङ काट्न दुई घन्टा लाग्छ। हात्तीलाई माउतेले नियन्त्रणमा लिएर सुताएपछि सुरूमा धारिलो हँसियाले, त्यसपछि अन्य हतियारको पनि प्रयोग गरेर नङलाई पैतालाभन्दा माथिल्लो तहसम्म पुर्याउने गरी काटिन्छ। स्वास्थ्य शिविरमा सबै हात्तीको नङ काटिने रिजालले बताए।
स्वास्थ्य शिविरपछि टिबी परीक्षण
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.लामिछानेका अनुसार क्षयरोग (टिबी) रोगका कारण यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २ वटा हात्ती मरे।
यस वर्ष मरेका ६ वटा हात्तीमध्ये ५५ वर्षको भाले दीपेन्द्रगज र २० वर्षको विक्रमप्रसादमा टिबी देखिएको थियो।
टिबीको उपचारका लागि स्वाब संकलन गर्नुपर्छ। त्यसलाई पिसिआर मेसिनमा परीक्षण गर्नुपर्छ। हरेक २-२ वर्षमा गर्ने गरिएको यो परीक्षण गत वर्ष कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।
सन् २०१६ मा देशभरका २०० वटा हात्तीमा परीक्षण गर्दा २५ प्रतिशतमा टिबी देखिएको लामिछानेले बताए।
‘उनीहरूमध्ये धेरैको उपचार भइसक्यो तर यस वर्ष पनि यही रोगले २ वटा हात्ती मरेका कारण नियन्त्रण भएको छैन भनेर अब छिट्टै परीक्षण गर्ने तयारी गरेका छौं,’ उनले भने।
चितवन निकुञ्जमा यसै वर्ष ७० वर्षकी हात्ती रूपकली, ७५ वर्षकी सुन्दरमाला, ६० वर्षकी कीर्तिकली र ४५ वर्षको शंकरप्रसादको पनि मृत्यु भयो।
रूपकलीका १६ वटा सन्तान अहिले पनि निकुञ्जमा छन्।
‘पनातीसम्म हुर्काएर रूपकलीको मृत्यु भयो,’ लामिछानेले सुनाए। सुन्दरमाला भने पूर्वरानी ऐश्वर्याको सवारी गर्ने हात्ती हो।
कीर्तिकली गत वैशाखमा कालगतीले मर्यो भने केही हप्ताअघि आन्द्रा बटारिएर शंकरप्रसादको मृत्यु भएको थियो।
‘तीनवटा हात्ती प्राकृतिक कारणले मरे, उनीहरूमा रोग देखिएन, बाँकी ३ वटामा समस्या देखियो,’ लामिछानेले भने, ‘नियमित स्वास्थ्य परीक्षण हुँदामात्रै हात्तीको रोग पत्ता लगाएर उपचार गर्न सकिन्छ।’
नेपालमा छावाको मृत्युदर कम
पशु चिकित्सक डा.अमिर सडौला विश्वमा ९० प्रतिशत छावा विभिन्न कारणले मर्ने गरेका छन्। तर नेपालमा भने यो समस्या निकै कम छ।
‘हामीले यहाँ नयाँ उपचार पद्धति विकास गरेका कारण धेरैलाई बचाउन सफल भएका छौं,’ उनले भने, ‘अन्यत्र सानैमा धेरै मर्ने गरेका छन्।’
हात्तीका शरीरमा घाउ हुने, उसलाई धेरै प्रयोग गर्दा खुट्टामा घाउ लाग्ने, बस्दा उठ्दा राम्रोसँग ध्यान नदिँदा पिलो आउनेजस्ता समस्या पनि देखिन्छन्। जुकाको औषधी नियमित खुवाउने, नियमित फुट ट्रिमिङ र अन्य जाँच गर्ने गर्दा कम बिरामी हुने र यसले मृत्युदर घटाउने उनी बताउँछन्।
एलिफेन्ट केयर इन्टरनेशनल, गोल्डेन ट्रयाङगल एसियन एलिफेन्ट फाउन्डेसन, वर्क फर वाइल्ड लाइफ इन्टरनेसनल र एलिफेन्ट हेल्थ केयर एन्ड वेलफेयर इमरजेन्सी लाइफलाइन फण्डको सहयोगमा गरिएको स्वास्थ्य शिवरमा एउटा हात्तीको उपचारका लागि १० हजार रुपैयाँसम्म खर्च हुने सडौलाले बताए।