कपिलवस्तु, तौलिहवाका ६५ वर्षीय शाहिद मोहम्मदले हात्तीको संगत थालेको ४० वर्ष भयो। अहिले सौराहामा हात्तीका माउते छन्।
करिब चार दशक उनले हात्तीको स्याहारसुसार गरे। धेरै मान्छेलाई हात्ती स्याहार्न सिकाए। हात्तीको सफारी चलाउन पनि सिकाए। यतिका समय हात्तीसँग बिताएका उनलाई हात्तीबारे धेरै जानकारी छ।
यसका बाबजुद यो उमेरमा उनले हालै हात्ती स्याहार्ने नयाँ तरिका सिके। केही समयअघि उनले हात्ती स्याहार्ने तालिम लिए। यो तालिमले आफूलाई हात्तीसँग झन् नजिक बनाउने शाहिदको बुझाइ छ।
यो तालिम हात्तीको माया गर्नेहरूबाट प्रेरित भएको हो।
'वाइल्ड-लाइफ टुरिजम'को केन्द्र सौराहामा हात्ती सफारी मुख्य पर्यटकीय गतिविधिमध्ये एक हो। केही वर्षयता हात्ती चढ्ने विदेशी पर्यटक कम हुँदै गए। पर्यटनका नाममा हात्तीमाथि गरिने शारीरिक शोषण उनीहरूले मन पराएनन्।
हात्तीलाई साङ्लोले बाँधेर राख्ने, फलामको रडले, लाठीले पिटेर शारीरिक कष्ट दिँदै गरिने सफारीको पशु कल्याणको क्षेत्रमा सक्रिय राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाले विरोध गर्दै आएका छन्। हात्तीमाथि मान्छेहरू चढाएर गरिने सफारी बन्द गर्नुपर्ने माग उनीहरूको छ। माउतेले हात्तीलाई चरम शारीरिक पीडा दिने गरेको पशुकल्याणका क्षेत्रमा काम गर्नेहरूको आरोप छ।
बढ्दै गएको विरोधका कारण यो व्यवसाय नै संकटमा पर्ने हो कि भन्ने चिन्ता हात्ती पालकमा देखिन्छ। ठूलो खर्च गरेर हात्ती किनेका व्यवसायीले तत्कालै सफारी बन्द गराउन सकेका छैनन्। त्यसैले उनीहरू माउतेलाई हात्तीको स्याहारमा फरकपन ल्याउन सिकाउन थालेका छन्।
परम्परागत तालिम लिएर हात्तीलाई नियन्त्रण गर्दै आएका माउतेलाई हात्तीलाई माया गर्न सिकाइन्छ। पिटेर होइन, प्रेमले हात्तीलाई रिझाउने तरिका बुझाइन्छ।
'मैले जसरी काकाबाट सिकेँ, त्यहीअनुसार काम गर्दै आएँ। पछि नयाँलाई पनि त्यसरी नै सिकाएँ,' शाहिदले भने, 'तर पिट्न हुँदो रहेनछ, माया गर्नुपर्ने रहेछ भन्ने सिकेँ। मायाले पनि हात्ती चलाउन सकिने रहेछ भन्ने बल्ल जानेँ, अब सिकाउँदा त्यसरी नै सिकाउँछु।'
बाघमारा मध्यवर्ती सामुदायिक वनमा केही समयअघि हात्ती स्याहार सम्बन्धी तालिममा भेटिएका उनले ४० वर्षे नोकरीका दौरान पहिलो पटक यस्तो तालिम पाएको सुनाए।
युरोपियन, बेलायती, अमेरिकी पर्यटकहरू चढ्न छाडेपछि महाजनहरूले आफ्ना हात्तीलाई स्याङच्यूरीमा राखेर पर्यटकलाई देखाउने, हात्तीसँग नुहाउने, हात्तीसँगै पैदल हिँडेर जंगल डुल्नेलगायत कार्यक्रमको पनि योजना बनाएका छन्।
केहीले छाडे पनि सबैले हात्ती सफारी चटक्कै छाड्न सक्ने अवस्था बनिसकेको छैन। बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङका अनुसार नेपाली, भारतीय र चिनियाँ पर्यटकको अझै पनि मुख्य रोजाइ हात्ती-सफारी नै हो।
सौराहा आउने ती पर्यटकले हात्ती चढेर वन र वन्यजन्तु अवलोकन गर्ने चाहना राख्ने भएकाले तत्कालै सफारी बन्द हुने अवस्था नरहेको उनी बताउँछन्। उनका अनुसार अहिले हात्ती चढेर जंगल घुम्ने नेपाली पर्यटकको संख्या कोरोना लकडाउनअघिकै जस्तो छ।
दैनिक एक सयभन्दा बढी मान्छे हात्ती चढेर बाघमारा र चित्रसेन वन घुम्छन्। यहाँ २४ वटा हात्तीले सफारी गराइरहेका छन्। सौराहा नजिकैको कुमरोज मध्यवर्ती सामुदायिक वनमा भने १४ वटा हात्तीले पर्यटकलाई जंगल घुमाउँछन्।
'पर्यटकलाई हात्ती चढाएर जंगल घुमाउँदा सबभन्दा बढी भूमिका माउतेकै हुन्छ। त्यसैले हामीले माउतेलाई तालिम दिएर सक्षम बनाउने प्रयास गरिरहेका छौं,' तामाङले भने, 'धेरै पर्यटकले माउतेले हात्तीलाई धेरै पिटे, गलत गाइड गरे भन्ने गुनासो गरे। त्यसैले यस विषयमा उनीहरूलाई सचेत बनाउने अभियान पनि थालेका छौं।'
हात्ती सफारीमा छुट्टै पथप्रदर्शक जाँदैनन्। माउते नै गाइड भएकाले उनीहरूलाई यहाँ के–के जंगली जनावर छन् भन्ने सामान्य जानकारी हुनैपर्छ।
बाघमारासँगै जोडिएको चित्रसेन मध्यवर्ती सामुदायिक वन हात्ती-सफारी हुने अर्को प्रमुख ठाउँ हो। यस वनकी सचिव रिता थापा चौधरी माउतेलाई वन्यजन्तुको महत्व र विशेषता बुझाउन सके मात्रै यसबाट फाइदा लिन सकिने बताउँछिन्।
बाघमारा वनका अध्यक्ष तामाङले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र चित्रसेन मध्यवर्ती सामुदायिक वनसँग मिलेर माउतेलाई तालिम दिइएको बताए।
'तालिमबाट उनीहरूले धेरै कुरा सिके। अबदेखि हात्तीलाई शारीरिक पीडा कम नहुनेगरी काम गर्ने, पर्यटकलाई सही गाइड गर्ने तरिका जानेका छन्,' उनले भने।
हात्तीको स्याहार र सञ्चालन राम्रोसँग गरेका छन् भन्ने सन्देश गए सफारीको विरोध कम हुने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी बताउँछन्।
'यसमा मुख्य भूमिका त माउतेकै रहन्छ,' उनी भन्छन्, 'त्यसैले हामीले उनीहरूलाई आवश्यक ज्ञान र सीप उपलब्ध गराउन थालेका छौं।'
अर्का माउते रामकुमार चौधरीले तालिमपछि हात्तीको उपयोग र स्याहारबारे धेरै नयाँ कुरा जानेको बताए।
'अहिलेसम्म आफूले जसरी जानेको थिएँ, त्यसरी गरेँ। तर आफूले जानेजस्तो गरेर मात्रै नहुने रहेछ,' उनले भने, 'माउतेले हात्ती, साहु र स्वास्थ्य प्राविधिकसँग मिलेर काम गर्नुपर्दो रहेछ भन्ने थाहा पाएँ।'
के गर्दा हात्तीलाई पीडा हुँदैन, कसरी उसलाई स्वस्थ राख्दै काम गर्नुपर्छ भन्ने बुझेको चौधरीले सुनाए।