चेपाङ समुदायको बाहुल्यता रहेको चितवनको पहाडी क्षेत्रमा यतिखेर मकै लगाउने चटारो छ।
गएको साल चेपाङ गाउँमा लगाइएको मकै आकासे पानी र हावाहुरीले सोत्तर बनायो। बचेको बोटमा पनि राम्रोसँग गेडा लागेन। लगत्तै लगाएको कोदो भने पानी नपुगेर बिग्रियो।
अहिले खेत, बारीका पाटा, खोरियाहरू जोत्दै गर्दा किसानहरू पोहोरजस्तो नहोस् भनेर कामना गर्दैछन्।
चितवनको राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा चेपाङ समुदायको बाक्लो बसोबास छ।
वर्षभरि खान पुग्ने गरी अन्न नउब्जिएपछि यस क्षेत्रमा अबको केही महिना भोकमरी लाग्ने अवस्था देखिन्छ।
‘अरू बेला यतिखेर घरमा केही मकै र केहीअघि थन्काएको कोदो बाँकी नै हुन्थ्यो,’ राप्ती नगरपालिका–१३ स्यामराङकी इन्द्रमाया चेपाङले भनिन्, ‘यसपालि त रित्तै छ।’
नौ जना बस्ने इन्द्रमायाको घरमा काम गर्न सक्ने ३ जना मात्रै छन्।
पहिले उनको खेतमा वर्षमा ६० डोको मकै, ९ मुरी कोदो फल्थ्यो। यिनै अन्नले परिवारको वर्षभरिको गुजारा चल्थ्यो। तर गत साल २० डोको मकै भित्र्याउन पनि हम्मे भयो। कोदो २ मुरीमात्रै भित्रियो।
चुल्होको आडमा पिँडालु तास्दै गरेकी इन्द्रमायाले अहिले लगाएको मकै नफल्दासम्म कन्दमूलको सहारामा जीवन धान्नुपर्ने बताइन्।
‘छोराहरू कुल्ली काम गर्न जान्छन्। हामी महिला र बच्चाहरूले गिठा, भ्याकुरजस्ता कन्दमूल खोजेर र बेसाएको अन्नले काम चलाउनुपर्छ,’ उनले भनिन्।
कान्दाका दिनेश चेपाङले कोदो छाडेर फापर लगाउन थालेका थिए। यसपालि भने फापरको ठाउँमा राजमा लगाए। बजार लगेर बेच्ने सोचले लगाएको राजमाको उत्पादन राम्रो नभएपछि उनी निरास छन्।
‘मकै बिग्रिएपछि खानाका लागि पैसा जुटाउन दुई हलको मेलोमा व्यवसायिक राजमा खेती सुरू गरेको थिएँ तर मौसमले धोका दियो,’ उनले भने, ‘मकैको बेलामा झरी थामिएन, तरकारी हुर्काउन पानी नै पुगेन।’
राप्तीकै सार्लिङका मनबहादुर चेपाङ अन्न राम्रो नफल्दा पूरै गाउँ भोकमरीको चपेटामा पर्ने अवस्था देखिएको बताउँछन्।
‘विगतमा आधा वर्षमात्रै खान पुग्ने हाम्रो समुदायले मेहनत गरेर वर्षभरि खान पुग्ने अन्न उब्जाउन थालेका थिए,’ उनले भने, ‘यसपालि मौसमले साथ दिएन, कसरी गर्जो चलाउने हो थाहा छैन।’
पर्याप्त पोषणयुक्त अन्नको अभावमा पहाडी बस्तीका बालबालिकाहरूमा कुपोषणको समस्या देखिने गरेको छ।
स्यामराङस्थित दुङबाङ आधारभूत विद्यालयका प्रधानाध्यापक अतिवल प्रजा अन्न कम उब्जिएपछि बालबालिकाहरूले पर्याप्त खान पनि नपाएको बताउँछन्।
‘घरमा खाने कुरा नभएपछि विद्यालयको दिवा खाजा कार्यक्रमले बालबालिकालाई केही राहत मिलेको छ,’ उनी भन्छन्,‘यो कार्यक्रमका लागि पनि पर्याप्त बजेट छैन, उनीहरूलाई पुग्नेगरी पौष्टिक आहार खुवाउन सकिँदैन।’
प्रधानाध्यापक प्रजाले परिवार नै खानाको अभावमा परेपछि विद्यालय आउने बालबालिकाको संख्या पनि घट्ने गरेको बताए।
‘अल्ली धेरै उमेर भएकाहरू कन्दमूल खोज्न आमाबासँगै जंगल जान्छन्, उनीहरूलाई सम्झाएर विद्यालय पठाउने कोही हुँदैन,’ उनी भन्छन्, ‘स्थानीय तह, सहयोगी संस्थाहरूबाट पनि अहिले खासै सहयोग देखिँदैन।’
चेपाङ समुदायको बाक्लो बसोबास रहेको सबभन्दा विकट क्षेत्र राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्यबहादुर चेपाङले भोकमरीको अवस्था आइसकेको बताए।
गाउँमा यसपटक अन्न कम उत्पादन भएकाले भोकमरीको अवस्था आइसके पनि वडाले समाधान गर्न नसक्ने उनको भनाइ छ।
‘विकास निर्माणका लागि भनेर सीमित बजेट आउँछ, त्यो बजेटले खाने कुरा किनेर बाँड्न मिलेन,’ उनले भने, ‘गैरसरकारी संस्था, सामाजिक संस्थाहरूले बेला–बेलामा सहयोग गर्ने गरेका छन्, त्यसैको भर छ।’
गाउँमा भोकमरी लाग्यो भनेर आफूले उपल्ला निकायहरूमा राखेका कुरा कहिल्यै सुनुवाइ नहुने उनले बताए।
‘त्यसैले अचेल मैले माथि जाँदा यस्ता कुरा राख्ने गरेकै छैन,’ उनले भने, ‘विकासका लागि त स्थानीय तह मात्रै होइन, प्रदेशदेखि संघीय सरकारसम्म पनि पुगेकै छु।’
उनले आधा वर्ष भोकमरी लाग्ने नै ठाउँ हो भनेर बेवास्तामा पर्ने गरेको दाबी गरे।