चितवनमा पहिलो पटक ‘लामपुच्छ्रे चाँचर’ भेटिएको छ।
यो चरा रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजंगा संरक्षण क्षेत्रमा भेटिन्छ। आगन्तुककारूपमा शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा पनि रेकर्ड भएको लामपुच्छ्रे चाँचर चितवन राष्ट्रिय निकुञ्जमा भने पहिलो पटक भेटिएको वर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष रमेश चौधरीले बताए।
सोसाइटीका आजीवन सदस्य मिलन तामाङ र सोम तामाङले निकुञ्जको नदीतटीय क्षेत्रमा यो चरा फेला पारेका थिए। यो चरा भेटिएसँगै चितवनमा भेटिने चराको प्रजाति संख्या ६५७ पुगेको चौधरीले बताए।
चौधरीकाअनुसार १९ औं शताब्दीमा ब्रायन हड्सन नामका विदेशीले पहिलोपटक नेपालमा यो चरा रेकर्ड गरेका थिए।
शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले उक्त निकुञ्जमा गरिएको हिउँदे चरा सर्वेक्षणमा दुई दर्जनभन्दा बढी अभिलेख गरिएको बताए।
यो चरा नेपालबाहेक भुटान, चीन, भारत, लावस, म्यानमार, थाइल्याण्ड र भियतनाममा पनि पाइन्छ।
चितवनमा यो कति संख्यामा छ र कहाँबाट आइपुग्यो भन्ने विषयमा आगामी दिनमा थप अनुसन्धान गरिने चौधरीले बताए। वाइल्डलाइफ पर्यटनको केन्द्र चितवनमा चरा हेर्नका लागि पनि धेरै पर्यटकहरू आउने गर्छन्।
विभिन्न देशबाट लामो दूरी तय गर्दै चराहरू जाडो छल्नका लागि यहाँ आउने गरेका छन्।
सामान्यतया सामुद्रिक सतहबाट १ हजार ५ सयदेखि ४५ सय २० मिटरसम्मको उचाइको क्षेत्रलाई यो चराको बासस्थान मानिन्छ।