खाली बोतल, प्लास्टिक, कागज, फलाम...!
बुद्धनगरका बस्तीबाट यी सामग्री संकलन गर्दै हिँड्नेलाई म चिन्दिनँ। तर आफ्नै दिनचर्याको हिस्साजस्तो भइसकेको उनीहरूको आवाज परिचित लाग्छ।
उस्तै समयमा, एउटै बाटो आउजाउ गर्ने उनीहरूले पुराना चिजवस्तु व्यवस्थापन गरिदिन्छन् नै, तिनको थोरै भए पनि भाउ छ भन्ने सन्देश हामीलाई दिन्छन्। उनीहरूसँग लामो कुराकानी गर्ने मेसो हत्तपत्त मिल्दैन। रौतहटका बलिराम यादवसँग भने गत साता केहीबेर गफिने मौका जुर्यो।
म सधैं दूध लिन जाने पसलमा उनी अन्डाको खाली क्रेट लिन आएका रहेछन्। कुन्नि के सन्दर्भमा, बलिराम पसले अंकललाई भन्दै थिए, 'अब बबरमहल जानु छ। खाली सिसी र पत्रिका लिन बोलावा आएको छ।'
उनका कुराले मेरा कान चनाखो भए।
ओहो, फोनबाटै मानिसहरूले सम्पर्क गरेर बोलाउने उनलाई। धेरै वर्ष काम गरिसकेका संकलक भएको अड्कल काट्दै सोधेँ, 'काठमाडौं आएको धेरै वर्ष भइसकेछ है दाइ?'
'आउँदा जुँगाको रेखा बसेको थिएन, अहिले दाह्री फुल्न थालिसक्यो। पुरानै भन्नुपर्यो,' फिस्स हाँस्दै उनले भने।
जुँगामा आएको हेरफेरबाट समयको हिसाब निकाल्ने उनले काठमाडौं सहरमा ठ्याक्कै कति वर्ष बिताए, यकिन छैन। हाल ४३ वर्षमा हिँडिरहेका बलिरामले यसरी हिसाब मिलाए, 'आधा जीवन काठमाडौंमा बित्यो।'
कहिल्यै स्कुलको आँगन टेक्न नपाएका उनलाई तिथिमिति सम्झिन गाह्रो लाग्छ। यत्ति याद छ, काठमाडौं आएको वर्ष मलेखूको पुल भत्केको थियो।
अनुमान गर्दा, उनी काठमाडौं छिरेको दुई दशक बढी भइसकेछ।
गाउँका ठेकेदारले राम्रो कमाइ हुने आश्वासन दिएका भरमा उनले रौतहट छाडेका थिए। यसअघि गाउँबाट टाढा नगएका उनलाई सहरमा श्रम बेच्नेको दुःख थाहै थिएन। यहाँ आएर मिलनचोक, मध्यबानेश्वरमा गाउँकै तीन जना साथीसँग बस्न थाले। घर बनाउने ठाउँमा मजदुरी गरे। भारी बोकाएर लखतरान हुन्जेल काम लगाउने ठेकेदारले श्रम शोषण गरिरहेका थिए।
'एक वर्ष काम गर्दा जम्मा पाँच हजार पाएँ। ठेकेदारसँग झगडा गर्दा पनि पैसा उठाउन सकिनँ। त्यसपछि त्यो काम छाडेँ,' उनले भने, 'गाउँकै साथी कवाडी उठाउने काम गर्थ्यो। उसैबाट यो काम सिकेँ।'
ठेकेदारबाट ठगिएका बलिरामलाई पहिलाको तुलनामा नयाँ काम बढी 'स्वतन्त्र' लाग्यो। पहिलाजस्तो अरूको भरमा बस्नु नपर्ने र पैसा पनि चाँडै पाइने भएकाले उनी रमाए। यसमै बीस वर्षभन्दा धेरै अनुभव समेटिसके।
हाल युएन पार्क नजिकैको कारखाना बलिरामको घर र अफिस दुवै हो। रौतहटकै प्रमोद यादवले चलाउने यो कारखानामा बलिराम, उनका भाइ र थप छ जना बस्छन्। कवाडी बटुलेर कारखानामा जम्मा गरेवापत उनीहरूले नगद पाउँछन्। बलिरामका अनुसार संकलित धेरै सामग्री रिसाइकल हुन्छन्। फलाम भने बेलाबेला जीतपुर र वीरगञ्जसमेत लगिन्छ।
अक्सर बिहान चिया पिएर सात बजेतिर निस्किने उनी खाना खान १०/११ बजे कारखाना फर्किन्छन्। यहाँ बस्नेहरूको आ-आफ्नै चुलो र कोठा छ। त्यहीँ खाना बनाउँछन्। केहीबेर आराम गरेर निस्किहाल्छन्। सामान भेटेका बेला भारी घटाउन फेरि कारखाना आउँछन्। बढीमा तीन-चार खेप कारखाना आउजाउ हुन्छ।
बुद्धनगर, तीनकुने, अनामनगर, कालिकास्थान, थापाथली सेरोफेरो उनको डुल्ने क्षेत्र हो। धेरै वर्ष पैदल डुलेका उनले १२ वर्षअघि साइकल किने। त्यतिबेला साहुसँग ऋण मागेर पन्ध्र सय रूपैयाँमा साइकल लिएको उनी बताउँछन्। गाउँमा साइकल नचलाएका बलिरामले यही कामका लागि साइकल सिके।
'साइकल नहुँदा काम गर्न धेरै गाह्रो भयो। भारी बोकेर दिनभर पैदल हिँड्नुपर्थ्यो,' उनले सुनाए। पैदल होस् वा साइकल, बलिरामले घाम, पानी, धूलो झल्दै काठमाडौंको बाटा नापेका छन्। यी बाटामा कतिपय मधेसी मूलका मानिसले दुर्व्यवहार र अपमान भोगेका घटना अहिले पनि बेलाबखत सुनिन्छन्, देखिन्छन्। उबेला त झन् बलिराम यसबाट अलग रहेनन्।
'पहिला पहिला खुबै विभेद भोग्नुपर्यो नि। सडकमा डुलेर काम गर्ने हामीलाई धेरै हेपिन्थ्यो। पैसा लुटिन्थ्यो,' उनले भने, 'अचेल भने यस्तो समस्या भोग्नु परेको छैन। मधेसीलाई काठमाडौंले गर्ने व्यवहार सुध्रिँदैछ।'
कवाडी बटुलेरै काठमाडौंमा बस्न, खान र घरमा पैसा पठाउन सकेकामा उनी सन्तुष्ट छन्। तर आम्दानी निश्चित नहुँदा ढुक्क हुने अवस्था छैन, 'काम हुँदा पाँच-सात सय, नहुँदा दुई सयमा चित्त बुझाउनु पर्छ।'
कोठा भाडा तिर्न नपर्ने भएकाले बलिराम राम्रो कमाइ हुँदा महिनामा १५ हजारसम्म घर पठाउने बताउँछन्। नहुँदा पाँच हजार कममा चित्त बुझाउनुपर्छ।
कोरोनाले धेरै मजदुरको काम खोसियो। बलिराम आफैं पनि पटकपटकको लकडाउनमा कारखानामा थुनिएर बसे। तर यो काममा जति मेहनत गर्न सक्यो उति आम्दानी हुने भएकाले स्थिति सामान्य बनेपछि पहिलाजस्तै कमाउने उनको विश्वास छ।
लकडाउन खुकुलो भएपछि काम गर्न पाएर खुसी देखिएका उनको एउटै कामना छ, फेरि लकडाउन नहोस्।
बलिरामले जीवनका धेरै वर्ष काठमाडौंका ठूला-साना बाटा र गल्लीमा खर्चेका छन्। शंखमूल, बानेश्वर र बुद्धनगर आसपास लामो समय बिताएकाले उनलाई धेरैले चिन्छन्। उनी पनि चिनेका मानिस बाटामा भेटिए हाँस्दै, बोल्दै हिँड्छन्।
उनी बस्ने ठाउँमा सबैजसो रौतहटका भएकाले पनि उनी आफ्नो जन्मथलोसँग जोडिएका छन्। यसरी हिँड्दा हुने बोलचालले उनको घरपरिवार र आफन्तसँग टाढा बस्नुको पीडा एकैछिन भए पनि बिर्साउँछ।
तर यत्तिले जहान परिवारसँग अलग बस्नुको न्यास्रो कहाँ मेटिन्थ्यो!
अक्सर चाडपर्व, धान, गहुँ रोप्ने याममा उनी घर जान्थे। पछिल्लो समय भने एक वर्ष बढी भयो नगएको। एक सन्तानका बुबा बलिरामलाई छोरा र श्रीमतीको याद आएका बेला बतासिएर घर पुगौंजस्तो हुन्छ। तर लामो समय कमाइमा असर परेकाले अलिअलि पैसा नभई के जानू भनेर आफैंलाई सम्झाउँछन्।
यस्तो बेला उनलाई श्रीमती र छोरालाई काठमाडौंमै बोलाएर सँगै बस्ने रहर पनि पलाउँछ। फेरि यहाँको महँगी सम्झेर मन मार्छन्। परिवारसँग बसे कोठाभाडा र खाने खर्च पुर्याउन धौधौ हुन्छ।
'घर-परिवारसँग टाढा भए पनि पैसा पठाउन पाएको छु,' उनले भने, 'गरिब मान्छेले यति सम्झौता त गर्नैपर्यो नि, हैन र?'