कहिले मान्छे गैंडामा चढेको, कहिले धाप मार्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भए। गैंडासँग सेल्फी खिचाउनु त सौराहा पुग्ने पर्यटकका लागि सामान्य भइसक्यो।
यहाँको सडकमा मात्रै होइन होटलभित्रै पस्छ, एक सिंगे गैंडा ‘मेघौली’।
पर्यटक खाजा खाँदै गरेको ठाउँबाटै मेघौलीसँग फोटो खिचाउँछन्। भिडिओ बनाएर टिकटकमा पोष्ट गर्छन्। 'मेघौली' सौराहाका पर्यटन व्यवसायीका लागि प्रचारको प्रमुख ब्राण्ड बनिसक्यो, पर्यटकका लागि आवश्यकता।
यहाँ आउने पर्यटक सडकमा भौंतारिदै गरेको मेघौली देख्न नपाए खिन्न भएर फर्कन्छन्। व्यवसायी यही गैंडालाई देखाएर पैसा कमाउँछन्।
तर सौराहा नजिकै रहेका खेतमा अन्न उब्जाउने किसानका लागि भने यो गैंडा अभिशाप बन्ने गरेको छ।
सौराहा आसपासका बस्ती-बारी डुल्ने मेघौलीले दु:ख गरेर लगाएको अन्न बाली सोत्तर पारिदिने गरेको गुनासो स्थानीय किसानको छ।
‘धान, मकै, गहुँ तरकारी जे रोपे पनि खाइदिन्छ। राहत पनि पाइँदैन। गैंडाले हैरानै बनाएको छ,‘ स्थानीय किसान राधा अधिकारीले भनिन्, ‘व्यापारीलाई पो पैसा फलाउँछ, हामीलाई त यसले दिक्कै बनाउँछ।’
९ कट्ठा जमिनमा धान रोप्ने अधिकारीले सबै गैंडाले खाइदिएपछि आफूलाई खान चामल बेसाउनु परेको दु:ख सुनाइन्।
‘तैपनि राहत पाउन गाह्रो छ। धेरैतिर धाएपछि अलिअलि राहत पाइन्छ,’ उनले भनिन्, ‘खेती गर्ने जाँगरै मर्न थाल्यो।’
यो गैंडाले सौराहा नजिकको बछौली, झुवानी, चित्र सारीलगायतका क्षेत्रमा लगाइने अन्नबाली खाइदिने गरेको छ। यहाँका अन्य किसानको पीडा पनि राधाको जस्तै छ।
‘बेला-बेलामा जंगलबाट अरू गैंडा पनि निस्कन्छन्। आफैं लखेट्न जाँदा मार्ने हो कि भन्ने डर,’ उनले भनिन्, ‘निकुञ्जले वास्तै गर्दैन।’
उनले सबै बाली गैंडा र अरू जनावरले खाइदिएपछि २०७३ र ०७४ मा दश हजार रुपैयाँ राहत पाएकी थिइन्। तर राहत लिने क्रममा हुने झन्झटका कारण त्यसपछि निवेदन दिनै छाडिन्।
मेघौली करिब चार वर्षअघि पश्चिम चितवनको मेघौली क्षेत्रमा अलपत्र अवस्थामा भेटिएपछि उद्धार गरेर सौराहा ल्याइएको गैंडा हो। बच्चा अवस्थामा साहरा दिन यसलाई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा ल्याइएको थियो। गाई, भैंसीको दूध खाएर मान्छेको वरपर हुर्किएको यो गैंडा ठूलो भएपछि जंगल जान मानेन।
‘मान्छेले पालेर हुर्कियो, वरपर मान्छेमात्रै देख्यो त्यसैले उसको यसैमा बानी भयो। जंगलमा बस्ने बानी नभएकाले यो यतै वरपर डुलिरहने गरेको छ,’ केन्द्रका प्रमुख डाक्टर बाबुराम लामिछानेले भने, ‘खेती खाइदियो भनेर स्थानीय किसानहरूबाट धेरै गुनासो आउने गरेको छ।’
सौराहाको पर्यटन व्यवसायमा यसको प्रभाव सकरात्मक देखिए पनि गाउँका किसानमा नकारात्मक देखिएको उनले बताए।
‘बाली खाइदियो भनेर राहत माग्न आउनुहुन्छ तर पर्याप्त राहत दिन सकिएको छैन,’ उनले भने।
लाभ उठाइरहेको क्षेत्रले क्षति भोगिरहेको क्षेत्रलाई सहयोग गर्ने अवस्था ल्याउनुपर्ने लामिछानेले बताए।
‘हामीले गैंडाले क्षति पुर्याएको किसानलाई उचित क्षतिपूर्ति दिन एउटा कोष बनाउनुपर्यो भनेर सौराहाका पर्यटन व्यवसायीसँग कुरा गरिरहेका छौं। यो बन्यो भने क्षति पुगेको ठाउँमा राहत दिन सहज हुन्छ,’ उनले भने, ‘निकुञ्ज, सामुदायिक वन र कोषले मिलेर राहत दिन सकियो भने दुबै पक्षले लाभ उठाउन पाउने थिए।’
अहिलेसम्म यहाँ डुल्ने गैंडाबाट गरिबले ठूलो मूल्य चुकाउनु पर्ने र लाभ भने धनीले मात्रै लिने गरेका छन्।
केही दिनअघि नेकपा एमालेको राष्ट्रिय महाधिवेशन हुँदै गर्दा बन्दसत्रस्थल नजिकै गैंडा झुल्कियो। महाधिवेशनस्थलको गेटबाट अघि बढेको गैंडाको फोटो खिच्ने, ऊसँग फोटो खिचाउने प्रतिष्पर्धै चल्यो। केही दिनदेखि यो गैंडा सौराहाबाट केही पर व्यावसायिक रूपमा घाँसखेती गरिएको ठाउँमा लुकेको थियो। किसानले गैंडाले घाँस खाइदिएको गुनासो गरेपछि चितवन निकुञ्जको टोलीले धपाएर सौराहाबजारको बाटो हुँदै निकुञ्जको पूर्वी सेक्टर र केन्द्रको परिसरमा रहेको वन क्षेत्रमा ल्याएको थियो।
लामिछानेले वनमै बानी बसाउन धेरै प्रयास गर्दा पनि यो गैंडाले गाउँ, सहर नै मन पराएको बताए।
केही समयअघि ‘मंगलपुरे’ नामको गैंडा पनि मेघौलीसँगै सौराहामा देखिन्थ्यो। मंगलपुर क्षेत्रबाट उद्धार गरिएको मंगलपुरे अचेल कुमरोज क्षेत्रमा देखिन थालेको छ। मुखमा मुसाजस्तो देखिने मुसेभाले र माडीबाट उद्धार गरिएको माडीभाले पनि कहिले जंगल त कहिले यस क्षेत्रमा देखिन्छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा अहिले पुष्पा र अञ्जली नामका केटीकेटी हुर्कँदैछन्। यी दुईलाई गत वर्ष केही महिनाको अन्तरालमा उद्धार गरिएको थियो। सुरूआतमा गाई, भैंसीको दूध खुवाएर हुर्काइएको भए पनि अचेल उनीहरूलाई जंगलको वातावरणमा हुर्काउन सिकाइँदैछ।
‘केन्द्रकै परिसरको जंगलमा डुलाउने, कलिला घाँसका मुनाहरू खुवाउने गरिएको छ,’ लामिछानेले भने, ‘यी पनि ठूला भएपछि मेघौली र मंगलपुरे जस्तै नहुन् भन्नेमा सजग छौं।’
लामिछानेका अनुसार गत वर्ष एउटा केटोलाई पदमपुरमा रहेको इन्क्लोजरमा छाडिएको थियो। तर त्यहाँको वातावरणमा घुलमिल हुननसक्दा उसको केही महिनामै मृत्यु भयो।
‘हतार गरेर छाड्दा पनि समस्या, ढिलो हुँदा पनि समस्या हुने देखियो,’ उनले भने, ‘सबै कुरालाई विचार गरेर काम गर्दैछौं।’