६६ वर्षीय हर्कमान लामा १४ वर्ष टाइगर इकोलोजी प्रोजेक्ट र ३२ वर्ष बढी राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गरेर तीन वर्षअघि निवृत्त भएका थिए।
सेवानिवृत्त भए पनि उनी थाकेका छैनन्। आइतबारबाट सुरू भएको बाघ गणनाका लागि उनी एउटा समूहको नेतृत्व गर्दै चितवन राष्ट्रिय निकुञ्जको जंगल पसेका छन्।
सन् १९९४ मा पहिलो पटक भएको बाघ गणनामा पनि उनी वन्यजन्तु प्राविधिकका रूपमा सहभागी भएका थिए।
त्यतिखेर जंगल डुलेर बाघको पाइलाको आधारमा तथ्यांक निकालिन्थ्यो।
'सुरूमा पाइला खोज्दै पैदलै निकुञ्ज सर्लक्कै भ्याउँथ्यौं। पछि रिलवाला क्यामेराले रेकर्ड गर्न थाल्यो, डिजिटल क्यामेरा हुँदै अहिले त स्वचालित क्यामेराले रेकर्ड गर्ने जमाना आयो,' लामाले भने, 'संरक्षणका लागि बुढ्यौलीले पनि छेकेन।'
उनले क्याम्पमै बसेर भए पनि एउटा समूहको नेतृत्व गरिदिन चितवन निकुञ्जले आग्रह गरेपछि खुट्टा दुखेको पनि प्रवाह नगरी हाजिर भएको बताए।
भारतको देहरादुनमा वन विज्ञान पढेका प्रकाश भण्डारी पनि यसपालि बाघ गणनामा खटेका छन्। विगतमा अध्ययनको शिलशिलामा चितवन र पर्सा निकुञ्जमा बाघसम्बन्धी अनुसान्धान गरे पनि गणनामा उनको सहभागिता पहिलो हो।
आइतबार गणनाको औपचारिक उद्घाटन भएपछि उनी बन्दोबस्तीको सामानले भरिएको झोला बोकेर निकुञ्जको टेम्पल टाइगर क्षेत्रतर्फ लागे।
'अध्ययनका क्रममा सैद्धान्तिक ज्ञान हासिल भए पनि प्रयोगात्मक ज्ञान थिएन,' उनले भने, 'यसपटकको अनुभव गज्जबकै होलाजस्तो छ। उत्साहित भएर जंगल पस्दैछु।'
वन विज्ञान अध्ययन संस्थान पोखराकी अम्बिका रेग्मीलाई लामो समय जंगलभित्रै बसेर काममा खट्दा जोखिम र दु:ख प्रशस्तै हुन्छ भन्ने थाहा छ।
तैपनि उनमा आँट र जोश दुबै छ।
'टाइगर टप्स क्षेत्रमा परेकी छु, त्यहाँ जंगली हात्तीको जोखिम छ। ध्रुवे हात्ती अहिले पनि त्यतै छ, क्याम्पमै बस्दा पनि जोखिम छ भन्ने सुनेकी छु,' उनले भनिन्, 'यही क्षेत्रमा केही गर्छु भनेर पढेको हुनाले यस्ता जोखिमलाई सामना गर्नुपर्छ भनेर मन दह्रो बनाएकी छु।'
परिवारले समेत आफूलाई नडराइ जान हौसला दिएको उनले बताइन्।
चितवन निकुञ्जकी गेम स्काउट कौसिला मोक्तान निकुञ्जका हरेक गतिविधिमा सक्रिय देखिन्छिन्। गत वर्ष गैंडा गणनामा पनि खटेकी उनीले बाघ गणनामा जान लागेका अन्य युवालाई प्रोत्साहन गरिरहेको बताइन्।
'मेरो त जंगलमा काम गर्ने बानी परिसक्यो, सबै कुरा सामान्य लाग्न थालिसके। यही विषय पढ्दै गरेकाहरूलाई पनि आफूले जानेको सिकाउने गरेकी छु,' कौसिलाले भनिन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार चितवनबाट बाघको गणना सुरू गरेको हो। सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष नजिकै रहेको जंगलका रूखमा जोडिएको क्यामेरा खोलेर वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ गणनाको उद्घाटन गरे। उनले बाघको संख्या दोब्बर बनाउने गरी नेपाल सरकारले सन् २०१० मा गरेको अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा हुनै लागेको बताए।
विभागका महानिर्देशक रामचन्द्र कँडेलकाअनुसार आइतबार चितवनबाट सुरू भएको गणना पर्सा, बाँके, बर्दिया र शुक्लाफँटा राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वनहरूमा चल्ने छ। बाघको चहलपहल देखिएका पूर्वी नेपालको इलाम र पश्चिमको डडेल्धुरासम्म पनि गणनाका लागि तयारी भइरहेको उनले बताए।
'आगामी वर्षको बाघ दिवसका दिन हामी नेपालमा बाघको नयाँ तथ्यांक सार्वजनिक गर्छौं,' उनले भने, 'हामीलाई लाग्छ नेपालमा बाघको संख्या सरकारले लक्ष्य राखेको भन्दा बढी पुगिसकेको छ।'
सन् २०१८ मा गरिएको पछिल्लो सर्वेक्षणमा नेपालमा बाघको संख्या २ सय ३५ देखिएको थियो। अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा हुन यसपटक बाघको संख्या कम्तीमा १५ ले वृद्धि हुनुपर्छ।
क्यामेरा ट्रयापिङ विधिबाट गरिएको देशभरका बाघ गणनाका लागि तीन वटा कम्प्लेक्स बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदप्रसाद ढकालले बताए।
नवलपरासीको त्रिवेणीदेखि दाउन्नेबाट पूर्व रौतहटको बागमतीसम्मको वन क्षेत्रलाई एउटा कम्प्लेक्स मानिएको छ। बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रलाई अर्को कम्प्लेक्स मानिएको छ। तेश्रो कम्प्लेक्स शुक्लाफँटा क्षेत्र रहनेछ। गणना राष्ट्रिय निकुञ्जमात्रै नभई बाघको बासस्थान मानिने राष्ट्रिय वनमा पनि गरिने ढकालले बताए।
बाघ गणनाका लागि चितवन-पर्सा कम्प्लेक्सलाई तीन वटा ब्लकमा विभाजन गरिएको छ। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती तीन ब्लकमा ८ सय ९५ वटा ग्रिड बनाइनेछ। त्रिवेणी-दाउन्ने-सौराहा (पहिलो ब्लक)मा २ सय ८७, सौराहा-मनहरी(दोश्रो)मा ३ सय १० र मनहरी-बागमती(तेश्रो)मा २ सय ९८ वटा ग्रीड रहनेछन्। बाँके-बर्दिया कम्प्लेक्समा ८ सय १४ र शुक्लाफाँटा-लालझण्डी कम्प्लेक्समा २ सय ६० ग्रिडहरू रहनेछन्।
४ वर्ग किलोमिटर क्षेत्रफलका यी सबै ग्रिडमा दुई/दुईवटा क्यमेरा जडान गरिँदैछ।
'बाघको आवतजावत हुने सम्भावित स्थानमा दुईतर्फ एक-एक वटा क्यामेरा जोडिनेछ। त्यो क्यामराले बाघको फोटो खिच्नेछ,' तिवारीले भने। तीन वटा ब्लकमा पालैपालो क्यामेरा जडान गरेर बाघको रेकर्ड लिइने उनले बताए। ब्लकमा १३ वटा समूह बनाएर काम गरिनेछ। १३ समूहमा एक सय बढी गणक खटिनेछन्। आवश्यकताअनुसार हात्ती, गाडी, मोटरसाइकलको प्रयोग गणनामा हुनेछ।
क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाइन्डर, जिपिएस र रेकर्ड फारम प्रयोग गरी बाघको सर्भेक्षण गरिनेछ। गणनाका लागि क्यामेरालाई १५ देखि २१ दिनसम्म एकै ठाउँमा राखिने उनले बताए।
'त्यो अवधिमा क्यामेराले आफ्नो क्षेत्रमा आवतजावत गर्ने बाघलाई कैद गर्छ। पछि फोटो हेरेर बाघको संख्या एकिन गरिनेछ,' तिवारीले भने।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख बाबुराम लामिछानेकाअनुसार पाटेबाघलाई उसको शरीरमा हुने पाटाबाट पहिचान गर्न सकिन्छ। हरेक बाघको पाटा फरक-फरक हुने भएकाले दोहोरिएको पत्ता लगाउन सकिने लामिछानेले बताए।
'क्यामेरामा कैद भएका फोटाहरूलाई सफ्टवेयरमा राखेर विश्लेषण गरि बाघको संख्या एकिन गर्छौं,' उनले भने, 'केही समयपछि चितवन निकुञ्जको सीमा जोडिएको भारतको वाल्मिकी टाइगर रिजर्भमा पनि बाघको गणना सुरू हुने भएकाले त्यता पनि समन्वय गरी वास्तविक तथ्यांक ल्याउने प्रयास गरिनेछ।'
दुई देशकाबीचमा खुल्ला सीमा रहेका कारण वन्यजन्तुहरू सहज रूपमा सीमा वारपार गर्ने गर्छन्। एक आपसमा समन्वय नहुँदा बाघको संख्या एकिन गर्न अप्ठेरो हुने भएकाले यसपालि समन्वयको प्रयास भइरहेको उनले बताए।
नेपालमा सन् १९९५-०९६ मा वयस्क बाघको संख्या ९३ देखि ९७ वटा रहेको अनुमान गरिएको थियो। सन् २००९ मा भएको गणनामा देशभरमा १२१ वटा पाटेबाघ भेटिएका थिए।
२०१३ मा देशभरमा बाघको संख्या १ सय ९८ थियो। ५ वर्षपछिको गणनामा चितवन र शुक्लाफाँटा क्षेत्रमा घटे पनि अन्यत्र बढेका थिए। सन् २०१८ मा चितवन निकुञ्जमा ९३, बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६ वटा वयस्क बाघ भेटिएका थिए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाघको बासस्थान, आहारा प्रजाति बिस्तारमा सफलता मिल्दै गएकाले बाघको संख्या लक्ष्यअनुसार वृद्धि भएको बताए। नियमित रूपमा गरिने गणनाले बाघको वास्तविक अवस्था थाहा हुने र त्यसले संरक्षण तथा व्यवस्थापन प्रभावकारी बनाउन पनि सहयोग पुग्ने उनले बताए।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले विश्वका १३ देशमा पाटेबाघ पाइनेमा नेपालको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको बताए।
'हामीले बाघको बासस्थान र आहारा प्रजातिको विकासमा राम्रो काम गर्न सक्यौं। यसले गर्दा बाघको संख्या बढ्दो देखिएको छ,' उनले भने, 'हामीले अब यी बाघको व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ। उचित व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ, संख्या बढाएर मात्रै हुँदैन।'
बाघको संख्या बढ्दै जाँदा उचित व्यवस्थापन गर्न नसके मानव र वन्यजन्तु बीचको द्वन्द्व थप बढ्न सक्ने आँकलन विज्ञहरुको छ।
'संख्या कम हुँदा त बाघले बस्ती पसेर मानवीय क्षति गर्ने गरेको छ, यसको संख्या बढ्दा क्षति थप बढ्न सक्ने खतरा पनि हुन्छ,' चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव भन्छन्, 'मानव-बन्यजन्तु द्वन्द्व कम हुनेगरि व्यवस्थापनका योजना सरकारले ल्याउनुपर्छ।'
बाघ गणनाका लागि नेपाल सरकार, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषले ३ करोड ७० लाख रुपैयाँ खर्च गर्नेछन्।