भारतसँगको सीमा नजिकै रहेको एक गैंडालाई डार्ट गरेर (बेहोस बनाउने सुई लगाएर) चितवन फिर्ता ल्याइँदैछ। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नवलपरासीको त्रिवेणी पुगेर एक सिंगे गैंडालाई डार्ट गरेको थियो।
बाघ गणनामा खटिएका वन्यजन्तु चिकित्सक तथा प्राविधिक टोली गणनाको जिम्मा अरूलाई लगाएर गैंडा नियन्त्रणमा लिन त्रिवेणी पुगेको थिए। चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु चिकित्सक डा.विजयकुमार श्रेष्ठ र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु चिकित्सक डा.अमिर सडौलाको नेतृत्वमा रहेको टोली गैंडा समात्न आइतबार नै त्रिवेणी पुगेको थियो।
'६ वर्षअघि नारायणी नदीको बाढीमा बगेर सीमापारी पुगेको यो गैंडालाई ६ वर्षअघि भारतबाटै नियन्त्रणमा लिन खोजिए पनि सकिएको थिएन। तिहारअघि नवलपरासीको सुस्तातिर देखियो भन्ने खबर पाएर गएका थियौं डार्ट नहुँदै भाग्यो,’ वन्यजन्तुलाई डार्ट गर्न निसाना लगाउने प्राविधिक तीर्थ लामाले भने, ‘यसपटक त हामीले समातिहाल्यौं।’
बिहान ७ बजेदेखि नै प्रयास गरे पनि मध्यान्ह १२ बजेर ५ मिनेट जाँदा मात्रै गैंडा माथि निसाना लागेको थियो। ‘लगभग १५ मिनेटमा गैंडा बेहोस भयो, त्यसपछि हामीले खोरमा राखेर ट्रकमा हाल्यौं,’ लामाले भने, ‘अब चितवन निकुञ्ज ल्याउँदैछौं।’
सुस्ताको उखुबारीमा गैंडा चरेको देखेपछि स्थानीयले निकुञ्जलाई खबर गरेका थिए। ६ वटा हात्तीसहित पुगेको वन्यजन्तु चिकित्सक, प्राविधिक र सहयोगीको टोलीले गैंडालाई डार्ट गरि खोरमा राखेर चितवन ल्याउन लागेको हो।
लामाकाअनुसार नियन्त्रणमा लिइएको यो गैंडा अन्दाजी ८ वर्षको पोथी हो। बच्चा अवस्थामा नदीमा बगेर भारत पुगेको यो गैंडा चञ्चले भएकाले पटक-पटक प्रयास गर्दा पनि नियन्त्रणमा लिन सकिएको थिएन। यसअघि यो गैंडा बन्दुकमा सुई राखेर परबाट डार्ट गर्न खोज्दा भागेर फुत्किएको थियो।
सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैंडा फिर्ता गरेको थियो। भारत पुगेर आफैं नेपालतर्फ फर्किएका ३ गैंडालाई पनि सीमा नजिकैबाट डार्ट गरेर चितवन निकुञ्ज ल्याइएको थियो।
‘अहिले भारतले नेपालबाट गएको थाहा पाए पनि वन्यजन्तुहरू नेपाल फिर्ता गर्दैन। पहिले त्यहाँ संरक्षणका लागि बासस्थान तयार नभएकाले राख्न नसकेर फिर्ता गर्थ्यो,’ राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.बाबुराम लामिछानेले भने, 'अहिले त उनीहरुले गैंडाका लागि पर्याप्त बासस्थान तयार पारिसके। वन्यजन्तु जहाँ पुग्छन् त्यहीँ संरक्षण गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता पनि छ।’
भारतबाट ल्याउन नपाए पनि नेपालतर्फको सीमा क्षेत्रमा आएका गैंडालाई भने सुरक्षित स्थानमा ल्याएर छाड्ने गरिएको उनले बताए। आज नियन्त्रणमा लिइएको गैंडालाई सकेसम्म सोमबार नै निकुञ्जको पूर्वी सेक्टर आसपासकै जंगलमा छाडिने उनले बताए।
डा.लामिछानेकाअनुसार भारतीय सञ्चारमाध्यमले अहिले वाल्मीकी टाइगर रिजर्भमा २३ वटा गैंडा रहेको उल्लेख गर्दै ती गैंडा नेपालबाट बगेर आइपुगेको उल्लेख गर्ने गरेका छन्। नेपालका सरकारी निकायसँग यसको यकिन तथ्याङ्क छैन। तर नेपाल फिर्ता हुन नसकेका गैंडाको संख्या २३ भन्दा बढी रहेको लामिछाने बताउँछन्।
‘चितवन निकुञ्जको पश्चिम क्षेत्रमा गैंडाको संख्या धेरै छ, बाढी आउँदा बच्चा र बुढा गैंडाहरू बगेर भारत पुग्ने गरेका छन्,’ उनले भने, ‘विगतमा नेपालबाट गएका गैंडालाई भारतले विभिन्न ठाउँका चिडियाखानामा राख्ने गरेको र नेपालबाट जानेक्रम हरेक वर्ष चलिरहेकाले संख्या २ दर्जन भन्दा बढी नै रहेको अनुमान गर्न सकिन्छ।’