धादिङको नौबिसे घर भएका मधु लामा वन्यजन्तुका नामी सिकारी थिए। अचुक निसाना लगाउनसक्ने उनलाई तत्कालीन राजपरिवारले आधिकारिक सिकारी नियुक्त गरेको थियो। उनको खास काम चराको सिकार गर्ने थियो। चराका अलावा उनी मृगको पनि सिकार गर्थे। महिनामा एक पटक जंगली सिकार बोकेर राजदरबारमा हाजिर हुन्थे उनी।
राजपरिवार सिकार खेल्न जंगल पस्दा उनको बन्दुक जनावरमाथि सोझिन्थ्यो। मधु लामाका दाइ दिलबहादुर पनि उस्तै नामुद सिकारी थिए।
त्यतिखेरको शक्तिशाली दरबारको आधिकारिक सिकारी बनेर उनीहरूले धेरै वन्यजन्तुको ज्यान लिए।
मधु र दीलबहादुरले जस्तै उनका सन्ततिले पनि बन्दुक समाए। तर त्यो बन्दुकमा वन्यजन्तुको ज्यान लिने गोली नभई ज्यान बचाउने सिरिञ्ज लोड गरिएको हुन्छ।
मानववस्तीमा आएको जंगली जनावरलाई सुरक्षित रूपमा जंगल फर्काउन वा अध्ययन अनुसन्धानका लागि उनीहरूको शरीरमा केही उपकरण राख्नु परे औषधि दिएर लठ्याउनुपर्छ। जसलाई डार्ट गर्ने भनिन्छ। डार्ट गर्न औषधि राखेको सिरिञ्ज बन्दुकमा जोडेर जनावरलाई ताकेर निसाना लगाउनुपर्छ।
पञ्चायतकालमा नामुद सिकारी दाजुभाइ २०४६ सालको राजनीतिक परिवर्तन पछि निष्कृय भए। मधु लामाका दुई भाइ छोरा विष्णुबहादुर र हर्कमान भने त्यसपछि सकृय बन्न थाले। बाबूको बन्दुक चलाउने कौशलतालाई संरक्षणमा लगाए।
उनीहरू बाघ तथा पर्यावरण नामक अनुसन्धानमूलक परियोजना हुँदै राष्ट्रिय प्रकृति संरक्षण कोषमा चार दशक बढी काम गरेर निवृत्त भइसकेका छन्।
सुरूमा चितवन निकुञ्जका वन्यजन्तु गणना गर्ने कर्मचारीकारूपमा काम थालेका उनीहरू अहिले वन्यजन्तुको ज्यान जोगाउन गरिने डार्टको विज्ञ नै मानिन्छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा वरिष्ठ वन्यजन्तु प्राविधिक पदबाट निवृत्त यी दुई दाजुभाइले सेवावधिमा सयौं बाघ, गैंडा, हात्तीजस्ता दुर्लभ, लोपोन्मुख तथा हिंस्रक जंगली जनावरहरुलाई बेहोस बनाए। जसले गर्दा मानववस्तीमा पसेका ती जनावरलाई स्थानान्तरण गर्न र जनधनको क्षति कम हुनमा सहयोग पुग्यो।
वि.सं.२०२९ ताका बाघ र पर्यावरण नामको परियोजना लिएर चितवन झर्ने क्रममा डा.किर्तिमान तामाङले विष्णु र हर्कमानलाई ‘नडराउने भए हिँड म सँग भनेका’ थिए।
‘हामी डराउँदैनौं भनेर धादिङबाट चितवन झर्यौं, अहिलेजस्ता घरहरू थिएनन् राप्ती नजिकैको चौरमै सुत्थ्यौं,’ हर्कमानले सुरूआती दिन सुनाए।
परियोजनाका लागि संरक्षणको काममा खटिँदै आएका हर्कमानले सन् १९८८ बाट वन्यजन्तुको डार्ट गर्न सुरू गरेका थिए। सुरूमा चितवन निकुञ्जको टाइगर टप्स क्षेत्रमा जंगली हात्तीको डार्ट गरेका थिए उनले। त्यसपछि बाघ अनि गैंडाको काम थाले। दाइ विष्णुले उनले भन्दा पहिले डार्ट गर्न थालेका थिए। ‘यो अवधिमा दुई सय बढी बाघको डार्ट गरेँ होला, गैंडा, हात्ती, चितुवा, भालुको पनि खुबै गरियो,’ उनले सुनाए, ‘कहिले हात्तीले हान्यो, कहिले गैंडा, बाघले लखेटेर घाइते बनाए तर भाग्यले बाँच्दै आएँ।’
दाइ विष्णुबहादुर लामाले अनुसन्धानका लागि ३१ र गाउँ आएका बाघलाई जंगल फर्काउन २५ वटालाई डार्ट गरे। सोही हाराहारीमा गैंडा डार्ट गरेको उनले बताए। जंगली र घरेलु हात्ती पनि डार्ट गरे। चितुवा, मृग र भालुलाई पनि डार्ट गर्नु पर्दथ्यो। वन्यजन्तु डार्ट गर्न देशका विभिन्न भागमा पुग्थे उनी। एक पटक जंगली हात्ती डार्ट गर्न भन्दै कोशी टप्पु वन्यजन्तु आरक्ष गएका थिए। डार्ट गर्नुभन्दा पहिल्यै हात्तीले लखेट्न थाल्यो।
‘लखेट्दै बगरमा ल्यायो। बगरमा धन्न हात्ती दौडन सकेन र हाम्रो ज्यान जोगियो,’ लामाले भने।
डार्टले वन्यजन्तुको जीवन जोगाउन सकेको उनीहरु बताउँछन्। ‘जंगल फर्काउन सकिदैन भन्ने लागेमा स्थानीयले जनावरलाई कुटेर मार्थे होलान्। जंगल फर्काउन टोली आउँदैछ भनेपछि स्थानीयले पनि धौर्य गर्ने भए। डार्ट गरेपछि धेरै वन्यजन्तु जोगिएर आफ्नो वासस्थलमा फर्केका छन्,’ उनीहरू भन्छन्।
हर्कमानले राष्ट्रिय प्रकृति संरक्षण कोषको जागिर छोडेको ३ वर्ष भयो। जागिर छोडे पनि उनको मन संरक्षणको काम छोड्न मानेको छैन। आवश्यक पर्दा अझै पनि वन्यजन्तुलाई नियन्त्रणमा लिन सक्ने आँट उनमा छ। ६६ वर्षे उमेरमा पनि उनी चितवन निकुञ्ज र कोषले बोलाएको ठाउँमा हाजिर हुन्छन्, नयाँलाई सिकाउँछन्।
जागिर छोडेपछि उनले केही समय चितवनदेखि पथलैयासम्मको राजमार्गमा वन्यजन्तुको अवस्थाको विषयमा अध्ययन गर्ने एक परियोजनामा काम गरे।
‘अहिले पनि प्रोजेक्टहरूले लौन हाम्रोमा सहयोग गरिदिनुपर्यो भन्छन्,’ चितवन निकुञ्जमा सुरू भएको बाघ गणनाका लागि एउटा समूहको नेतृत्व गरेर जंगल छिर्नुअघि सेतोपाटीसँगको कुराकानीमा हर्कमानले भने, ‘सकेसम्म समय मिलाएर संरक्षणका काम गर्ने गरेको छु। हात, खुट्टाले काम गर्दासम्म त लाग्नै पर्यो नि।’
जागिरको दौरानमा लामा दाजुभाइले वन विज्ञानका कैयौं विद्यार्थीहरूमाझ प्रयोगात्मक ज्ञान बाँडेका छन्। नेचर गाइडहरूलाई तालिम दिएका छन्। पिएचडी गर्न आउनेहरूलाई तथ्यांक संकलनमा सघाएका छन्।
‘३० जना भन्दा बढीलाई पिएचडी गर्नमा विभिन्न तवरबाट सहयोग गरें। अचेल उनीहरु यहाँ आउँदा म र दाइलाई खोज्छन्। ओहो, गुरु भनेर नमस्कार गर्छन्,’ हर्कमान सुनाउँछन्, ‘जिन्दगीमा अरु केही नकमाएपनि इज्जत चाहि कमाएछु जस्तो लाग्छ। बाबू, बाजेले दिएको आशिर्वाद लाग्यो झैं लाग्छ।’
सिक्ने सिकाउनेक्रममा हर्कमान अमेरिका, जापान, चीन, थाइल्याण्ड, भियतनामलगायतका देशहरु पुगे। विष्णुले भियतनाम, थाइल्याण्ड र बंगलादेशमा काम नै गरे।
‘वन र वन्यजन्तुको विषयमा त्यहाँका विज्ञहरुसँग सिकें, यहाँका अनुभवहरु सुनाएँ, आफूले जानेका सिकाएँ,’ उनी भन्छन्, ‘अब बाँकी जिन्दगी पनि यसैगरी संरक्षण कर्ममै बिताउन मन छ।’
हर्कमानका छोरा तिर्थ लामा अहिले बाबूहरूको विडो थामिरहेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु प्राविधिक उनी बाबू, बाजे जस्तै निसानेबाज हुन्। वन्यजन्तुलाई डार्ट गर्नुपर्यो भने तिर्थ लामाको नाम पहिलो नम्बरमा आउँछ। बाबूहरूले बाजेबाट सिके झैं तिर्थले पनि बाबूहरूबाट सिके।
‘तीन कक्षा भन्दा पढ्न सकिनँ। चितवनमा बाघ तथा पर्यावरण परियोजना सुरू भएपछि दाजुभाइ त्यसैमा काम गर्न थालियो। काम सिक्दै संरक्षणमै जम्न थालियो,’ हर्कमानले भने, ‘आफूले छाड्दैगर्दा दुई भाई छोरालाई पनि काम सिकाएको छु। तिर्थले त मैले जसरी नै काम गर्न थालिसकेको छ।’
रत्ननगर नगरपालिका–७ सौराहा घर भएका तिर्थले कक्षा ७ सम्ममात्रै पढेका छन्। सानैबाट बुबा हर्कमान र ठूलो बुबा विष्णुबहादुरको काम देखिरहेका तिर्थले सन् २००१ बाट केन्द्रमा जागिर सुरू गरे। सन् २०१० देखि उनले डार्टको काम पनि थाले। वन्यजन्तु चिकित्सकले जनावरलाई बेहोस बनाउनका लागि आवश्यक पर्ने औषधी राखेर सुटरलाई सिरिञ्ज दिन्छन्। सुटरले आफ्नो बन्दुकमा त्यो सिरिञ्ज लोड गरेर निसाना लगाउँछन्। जंगली जनावरका लागि हितकारी काममा निपूर्णता हासिल गरेका बाबूहरूले तिर्थलाई हात समातेर डार्ट गर्न सिकाएका थिए। अचेल तिर्थसँगै काम गर्ने दिपु चौधरीलाई पनि हर्कमान र विष्णुले नै डार्ट गर्न सिकाएका हुन्।
अहिलेसम्म करिब ५० वटा गैंडा, ३० बढी बाघ, हात्ती, चितुवा, भालु, निलगाईलगायतका वन्यजन्तुलाई डार्ट गरेको तिर्थले बताए।
‘कहिलेकाहीँ प्राविधिक कारणले रनिङ सट(दौडदाको अवस्थामा हानिने)मा चुक्नु अलग कुरा भयो। नत्र मैले हानेको सट कहिल्यै मिस गएको छैन,’ तिर्थ भन्छन्, ‘पुर्खाबाट सिक्दै आएको काम भएर पनि होला यो काममा जोस, जाँगर चल्छ।’
उनी जंगली हात्ती डार्ट गर्न शुक्लाफाँटादेखि कोशीटप्पुसम्म पुगेका छन्। चितुवालाई नियन्त्रणमा लिन पहाडि इलाकाहरू पुगेका छन्। पछिल्ला केही महिनामा चितवनकै विभिन्न ठाउँमा गरेर ४ वटा बाघलाई डार्ट गरेका नियन्त्रणमा लिइएको छ। यो काममा उनी अग्रपंक्तिमा खटिए।
‘मान्छे खाने बाघलाई नियन्त्रणमा लिनु साह्रै जोखिम हुन्छ। रूखमा चढ्दा पनि उफ्रिएर झम्टिन आउँछ,’ उनी भन्छन्, ‘धेरै पटक आक्रमणबाट जोगिन सफल भएको छु।’
काम गर्दा डर नलागेपनि घर आएपछि छोराछोरीलाई भेट्दा ‘भगवानले मलाई यीनैलाई देख्नका लागि बचाएछन्’ जस्तो लाग्ने उनले बताए।
‘मेरो काम देखेर बुबाहरू हाम्रो विडो धानिस् भन्दै खुसी हुनुहुन्छ,’ तिर्थ भन्छन्, ‘उहाँहरू खुसी भएको देख्दा कामप्रति गर्व लाग्छ।’
तिर्थसँगै उनका भाइ गणेश लामा पनि राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्छन्। गणेशले पनि बाबूबाट डार्ट गर्न सिकिसकेका छन् तर काम सुरू गरिसकेका छैनन्।