नवलपुरबाट उडेको एउटा गिद्ध साढे २ वर्षअघि भारत हुँदै पाकिस्तानको सीमा क्षेत्रमा पुग्यो। केहीदिन सीमा आसपासमै डुल्यो। त्यहीँबाट सम्पर्कविहीन बन्यो।
उसको ढाडमा राखिएको जिपिएसले दिएको सूचना थियो त्यो। नवलपुरको कावासोती नजिकै पिठौलीमा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा सञ्चालित जटायु रेष्टुरेन्टमा अहिले ३३४ वटा गिद्ध छन्। यी गिद्धको वास्तविक अवस्था पत्ता लगाउन ढाडमा स्याटेलाइट, खुट्टा र पखेटामा नम्बर ट्याग लगाउने गरिएको छ। यहीँबाट उडेको उक्त गिद्ध सयौं किलोमिटर उडान भर्दै पाकिस्तानसम्म पुगेको थियो।
जटायु रेष्टुरेन्टबाट अहिलेसम्म ७९ वटा गिद्धलाई यसरी स्याटेलाइट र नम्बरका ट्याग लगाएर छाडिएको छ। यीमध्ये ४० वटा जंगली र ३९ वटा प्रजनन् केन्द्रमा जन्मिएर हुर्किएका हुन्।
पूर्व-पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर दक्षिणतर्फ लागेपछि नमूना मध्यवर्ती वन पुगिन्छ। यहाँको एक सय बढी हेक्टर क्षेत्रफललाई ओगटेर जटायु रेष्टुरेन्ट सञ्चालन गरिएको १६ वर्ष भयो।
वनमा अग्ला-अग्ला सिमलका रूख छन्। ती रूखका हाँगामा टनाटन गिद्ध देखिन्छन्। धेरै गिद्ध आकाशमा उडिरहेका पनि देखिन्छन्। यही जंगलभित्र रहेको खुला चौर गिद्धलाई आहारा खुवाउनका लागि छुट्टाइएको छ। दुई दिनमा एक पटक मृत चौपायाको शव चौरमा राखिन्छ। आकाशमा उडिरहेका गिद्धले नजर परेको केही मिनेटमा आहारा भ्याइदिन्छन्।
स्थानीय क्षेत्रमा मरेका पशु चौपायाको शब ल्याएर गिद्धलाई खुवाउने गरिएको छ। केही समयदेखि जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिले सहर र सडकमा छाडा भेटिएका चौपायालाई रेष्टुरेन्ट परिसरमै राख्न थालेको छ।
सन् २००६ अघि यहाँ न ठूलो जंगल थियो न त धेरै वन्यजन्तु र पंक्षी। यहाँ रहेका अग्ला सिमलका रुखमा केही गिद्ध देखिन्थे। तर संख्या धेरै थिएन। अनुसन्धानले गिद्धका प्रजाति संकटापन्न अवस्थामा पुगेको देखाएपछि उक्त क्षेत्रलाई गिद्धको संरक्षणमा प्रयोग गर्न थालिएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति संयोजक डिबी चौधरीले बताए।
उनका अनुसार रेष्टुरेन्ट सुरू गर्नुअघि यहाँ १७ जोडी गिद्धमात्रै भेटिन्थे। १६ वर्षमा गिद्धको संख्या ४५० प्रतिशत भन्दा बढेको छ। १७ वटा गुँडबाट अहिले ६७ वटा पुगेका छन्।
नेपालमा पाइने गिद्धका ९ मध्ये ८ प्रजाति यहाँ देखिने गरेको चौधरीले बताए। तीमध्ये ४ प्रजाति रैथाने हुन्। बाँकी ४ प्रजाति आगन्तुक हुन्। उनीहरू जाडो छल्न र आहाराको खोजीमा अन्य ठाउँबाट यहाँ आइपुगेका हुन्। यहाँ पाइने मध्ये ३ प्रजाति (डङ्गुर, सानो खैरो र लामो ठुँडे गिद्ध)अतिसंकाटपन्न प्रजातिमा पर्छन्। विश्वभरमा २३ प्रजातिका गिद्ध पाइन्छन्।
नेपालमा पाइने चराका प्रजातिमध्ये सबभन्दा बढी संकटमा ९ प्रजातिका चरा पर्छन्। यीमध्ये दुई प्रजाति नेपालबाट पनि लोप भइसकेका छन्। हाल जीवित रहेका अतिसंकटापन्न सात प्रजातिमध्ये चार प्रजाति गिद्धमात्रै हुन्।
‘गिद्धलाई आवश्यकताअनुसार आहाराको व्यवस्थापन गर्ने र तिनको संरक्षणमा काम गर्ने भएकाले जटायु रेष्टुरेन्ट भनिएको हो,’ संयोजक चौधरीले भने, ‘१६ वर्षअघि केही गिद्धमात्रै रहेको ठाउँमा अहिले सयौं पुगेका छन्। सरकार, दातृ निकाय र समुदाय मिलेर काम गर्दा जटायु रेष्टुरेन्ट संसारकै नमूना बनेको छ।’
जटायु रेष्टुरेन्टमार्फत् भइरहेको गिद्ध संरक्षणका कारण पंक्षीका प्रजाति संरक्षणमा नेपाल संसारकै ‘टप लिस्ट’मा पर्न सफल भएको चौधरीले बताए। उनका अनुसार गिद्धको यसरी संरक्षण गरिएको दक्षिण एसियामा यहीँमात्रै हो।
‘अफ्रिका र युरोपका देशमा केही ठाउँमा आहारा दिएर गिद्धको संरक्षण गरिएको छ। समुदाय स्तरमा काम भएको त संसारमै यहीँमात्रै हो,’ चौधरीले भने, ‘हामीले सुरू गरेको लोपोन्मुख र संकटापन्न प्रजातिको संरक्षण अभियान संसारभर अनुकरणीय बन्न पुगेको छ।’
उनले जटायु रेष्टुरेन्टले गरेको काम हेर्न विश्वका विभिन्न देशबाट विज्ञ आउने र प्रभावित भएर फर्कने गरेको बताए।
प्रजाति संरक्षणमा संसारकै नमूना
चितवन राष्ट्रिय निकुञ्जको हेडक्वार्टर कसरानजिकै गिद्ध प्रजनन् केन्द्र छ। यहाँ संरक्षण गरिएका गिद्धले बच्चा जन्माएपछि प्राकृतिक बासस्थानमा छाड्नुअघि जटायु रेष्टुरेण्ट ल्याइन्छ। रेष्टुरेन्ट परिसरमा एउटा सफ्ट रिलिज एभिरी (ठूलो पिँजरा) छ। त्यसमा प्रजनन् केन्द्रबाट ल्याइएका गिद्धलाई ३ देखि ६ महिनासम्म राखिन्छ।
‘त्यसपछि उनीहरूको शरीरमा जिपिएस जोडेर छाड्छौं,’ जटायु रेष्टुरन्टका संयोजक चौधरीले भने, ‘यसबाट प्रजनन् केन्द्रमा जन्मिएका गिद्ध प्राकृतिक बासस्थानमा कत्तिको सुरक्षित रहन्छन् भन्ने थाहा हुन्छ।’
उनका अनुसार प्रजनन् केन्द्रबाट अहिलेसम्म पाँच लटमा गिद्ध रेष्टुरेन्टमा ल्याइएको छ। तीमध्ये चार पटकमा गरेर ३९ वटालाई प्राकृतिक बासस्थानमा छाडिसकिएको छ। केही दिनअघि मात्रै ल्याइएका १० वटा अहिले एभिरीमै छन्।
प्रजनन् केन्द्रमा हुर्किएकालाई जंगली गिद्धको आनीबानी, व्यहोरा खाने तरिकादेखि हरेक कुरा सिकाउनुपर्छ।
‘एभिरीमा राख्दा उनीहरूले बाहिर चौरमा राखिएको आहारालाई अन्यले कसरी आहाराको रूपमा प्रयोग गर्छन् भन्ने कुरा देख्छन्, केही महिनामा उनीहरूले धेरै कुरा जानिसक्छन्,’ चौधरीले भने, ‘अब सजिलै उड्न सक्छन् भन्ने भएपछि सबै सहयोगी संस्थाहरूको उपस्थितिमा छाडिन्छ।’
त्यहाँबाट छाडिएका गिद्ध आहारा खोज्दै दैनिक ५० किलोमिटर परसम्म पुग्ने गरेका छन्। जंगली गिद्ध भने दैनिक १०० किलोमिटर भन्दा टाढा पुग्ने गरेको पाइएको चौधरीले बताए।
अनुसन्धानले प्रक्रिया पूरा गरेर छाडिएका गिद्ध जंगली गिद्धसँग घुलमिल हुन थालेको देखाएको छ। चौधरीका अनुसार प्राकृतिक बासस्थानमा छाडिएका तीन वटा गिद्ध अहिले प्रजनन् क्रियामा सहभागी भएका छन्। यी मध्येको एकले जंगली गिद्धलाई जोडीको रूपमा अपनाएको भेटिएको छ।
‘हामी आहारा खुवाउनेमात्र नभई केन्द्रमा हुकिएका र जंगलका गिद्ध कसरी घुलमिल हुन्छन्, सँगै कति टाढासम्म जान्छन्, सँगै बस्छन् कि बस्दैनन् लगायतका कुरामा पनि ध्यान दिन्छौं,’ चौधरीले भने, ‘यस्ता कुराले गिद्धको संरक्षण अभियानमा सघाउ पुर्याउँछ।’
प्रजनन् केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाडिएको संसारमै नेपालमा मात्रै हो।
जटायु रेष्टुरेन्ट सञ्चालन गर्न चितवन राष्ट्रिय निकुञ्ज, डब्लुडब्लुएफ, नेपाल पंक्षी संघ(बीसीएन), जुलोजिकल सोसाइटी अफ लण्डन(जेडएसएल), राष्ट्रिय प्रकृति संरक्षण कोषले सहयोग गर्ने गरेका छन्।
चाख मानेर हेर्छन् पर्यटक
चितवन राष्ट्रिय निकुञ्ज वन र वन्यजन्तु अवलोकनका लागि विश्वभर चर्चित छ। विश्व सम्पदा सूचीमासमेत रहेको निकुञ्ज एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीजस्ता लोपोन्मुख जीवको बासस्थान हो। यहाँ देखिने पंक्षीले पनि पर्यटकलाई आकर्षित गर्ने गर्छन्।
नवलपुरमा रहेको जटायु रेष्टुरेन्ट पंक्षीप्रेमी पर्यटकको रोजाईको पर्यटकीय गन्तव्य हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक गिद्धको दिनचर्या नियाल्न आइपुग्छन्। गिद्धबारे चासो राख्नेहरू धेरै आउने गरेको कर्मचारी यमबहादुर नेपालीले बताए।
कावासोती-७ का यमबहादुरले यहाँ काम गर्न थालेको सुरूआतबाटै हो। उनको काम यहाँ रहेका गिद्धको आहारा जुटाएर खुवाउने हो।
‘आहारा खाँदै गरेको हेर्न धेरै पर्यटक आउनुहुन्छ,’ उनले भने, ‘कोरोना महामारीअघि त विदेशी निकै धेरै आउँथे। अचेल कम आउँछन्।’
गण्डकी प्रदेश पर्यटन बोर्डको अग्रसरतामा भरतपुर महानगरपालिका, लुम्बिनी र पोखरालाई जोडेर बनेको ‘गोल्डेन ट्रयाङगल टुर प्याकेज’ भित्र जटायु रेष्टुरेन्टलाई पनि समावेश गरिएको छ। भरतपुरबाट लुम्बिनी जाँदा राजमार्गबाट नजिकै पर्ने भएकाले यी गन्तव्य घुम्न आउने पर्यटकले जटायु रेष्टुरेन्ट पनि अवलोकन गर्ने गरी टुर प्याकेजमा समावेश गरिने बोर्डका प्रमुख काशीराज भण्डारीले बताए।
नवलपुरमा सफल भएपछि रूपन्देही, दाङ, कैलाली, कास्की, सुनसरीलगायत जिल्लामा पनि गिद्ध रेष्टुरेन्ट खोलिएका छन्।
घरपालुवा चौपायनमा पीडानाशक औषधी डाइक्लोफेनेक प्रयोग गरिने गरेका कारण मृत पशुको सिनो खाएर नेपालमा धेरै गिद्ध मर्ने गरेका छन्। गत वैशाखमा मात्रै नवलपरासीको रामग्राम क्षेत्रमा एकै ठाउँमा ७० भन्दा बढी गिद्ध मरेका थिए। अग्ला सिमलका रूख मासिँदै जानेलगायत कारण प्राकृतिक रूपमा रहने गिद्धको संख्या कम हुँदै जाँदा जटायु रेष्टुरेन्टले गरेको कामले संरक्षणमा मदत पुगेको देखिन्छ।
तस्बिर सौजन्य : कोमलचन्द्र भगत