डिसेम्बर २४ का दिन सहरमा क्रिसमसको रन्को थियो। होटल, रेष्टुराँ, सुपरमार्केटहरू ‘एक्समस ट्री’, ‘सान्ता क्लस’ र झिलीमिली बत्तीले सजिएका थिए। जहाँ बालबालिका, युवा युवतीदेखि वृद्धवृद्धासम्म झुमेका देखिन्थे।
‘क्रिसमस इभ’को रातमा ठाउँ-ठाउँमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए। हिन्दू, बौद्ध धर्मका अनुयायीसमेत क्रिसमसमा रमाइरहेका थिए।
राप्ती-१३ कालीटारका मलीमाया चेपाङको परिवारमा भने क्रिसमसको कुनै रंग थिएन।
जुल्याहा छोरा राम, लक्ष्मण र तिनका दाइहरू भुवन र सुमन अगेनाको डिलमा टुक्रुक्क बसेर आगो तापिरहेका थिए।
आमा मलीमाया खाने कुराको जोहो गर्दै थिइन्।
हामीले सोध्यौं–भोलि त तपाईंहरूको महान चाड क्रिसमस, सहरमा आजको रातलाई क्रिसमस इभ भनेर रमाइलो गर्छन्। गाउँ त सुनसान देखिन्छ।
कुरा सकिन नपाउँदै मलीमायाले जवाफ सुरू गरिन्, ‘हामी जस्ता गरिब चेपाङले रमाएर चाड मनाउन कहाँ पाइन्छ र? क्रिसमसमा पनि गरिबलाई त कागलाई बेल पाक्यो हर्ष न विस्मात नै हो। पैसाले नपुगेर पो अर्को धर्म छानेको।’
'अर्को धर्म छान्दा कसरी पैसाले पुग्छ त?' मैले सोध्दा उनले सिधा सिधा उत्तर दिइन्- 'पैसा त यसले पनि दिँदैन। कम से कम कमाएको पैसा चाहीँ बच्छ।'
पुर्खाको धर्ममा भन्दा क्रिश्चियन हुँदा पैसा जोगिएको आफ्नै अनुभव पछि उनको परिवार यता लागेको रहेछ।
मलिमायाले १५ वर्ष अघिका दिनहरु सम्झन थालिन्। त्यतिखेर उनकी छोरी सिर्जना १ वर्षकी थिइन्। उनको स्वास्थ्यमा समस्या आउन थाल्यो।
समाजका जान्ने सुन्नेहरूले पान्दे (चेपाङ समुदायका धामी/ झाँक्री)कहाँ जान सुझाए।
उनी र श्रीमान आइतबहादुर सिर्जनालाई बोकेर गाउँका पान्दे कहाँ घर धाउन थाले।
‘हाम्रा पुर्खाले मान्दै आएको धर्मले पान्देलाई भगवान जस्तै मान्छ, झारफुक गरेपछि रोगव्यादी निको हुन्छ भन्छ। यही कुरालाई मानेर पान्देलाई कुखुराको भाले, बोका, रक्सी, पैसा चढाउनसम्म चढाइयो तर छोरी निको भइनन्,’ मलीमायाले सुनाइन्, ‘त्यसपछि मलाई यतातिर विश्वास लाग्नै छाड्यो।’
समाजको कुरा सुनेर पान्देको पछि लागेकी उनी त्यही समाजको कुरा सुनेर धर्म परिवर्तन गर्ने निचोडमा पुगिन्।
त्यतिखेर क्रिस्चियन धर्म प्रचारकहरू गाउँ–गाउँ डुलिरहेका थिए। पान्देप्रति चेपाङहरूको घट्दो विश्वासले उनीहरूलाई फाइदै भयो। धेरै चेपाङ क्रिश्चियन भए।
‘गाउँमा चर्चहरू बन्न थाले। छिमेकीहरू खर्च कम हुने, पान्देले भन्दा पास्टरले राम्रो उपचार गर्ने भन्दै धर्म परिवर्तन गर्न थाले,’ उनले भनिन्, ‘छोरीलाई सन्चो हुन्छ भने अर्को धर्म मान्दा केही फरक पर्दैन भनेर हामी पनि चर्च जान थाल्यौं।’
तर यो धर्मबाट पनि सिर्जनालाई निको भएन। बरू छोरीको पिरले मलीमाया आफै थला पर्न थालिन्।
अल्लि समयपछि उनकी माइली छोरी पनि बिरामी भइन्।
पान्देमाथि नै आशा राखेर उनीहरू फेरि पुरानै धर्ममा फर्किए। फेरि बोका, कुखुरा चढाउन थाले। तर बिसको उन्नाइस पनि भएन।
‘पान्देको उपचार चल्दाचल्दै माइली छोरीको ज्यान गयो, त्यसपछि भने अब यसको भर पर्नु हुँदैन भन्ने भयो,’ मलीमायाले सुनाइन्।
करिब तीन वर्ष भयो उनीहरू फेरि क्रिस्चियन भएको।
‘घर नजिकै चर्च छ। गाउँका सबै त्यतै लागेपछि हामी मात्रै एक्लो बन्न सकिएन,’ मलीमायाले भनिन्, ‘पान्देले कुखुरा, बाख्रा खाइरहन्थ्यो, अहिले त्यति भने पनि बचेको छ।’
केही वर्षअघि बिरामी छोरी सिर्जनालाई लक्ष्मी प्रतिष्ठान नामको संस्थाले पढाउने जिम्मा लियो। उनी काभ्रे बसेर पढ्न थालिन्।
गंगालाल हृदयरोग केन्द्रमा परीक्षण गर्दा उनको मुटुमा खराबी देखिएको थियो। शल्यक्रिया गर्नुपर्ने भयो।
‘तर हामीसँग अप्रेसनका लागि आवश्यक पर्ने पैसा थिएन,’ उनले सुनाइन्, ‘लक्ष्मी प्रतिष्ठानका प्रमुख विष्णु गौतमले ठूलो सहयोग गरे। हामीले पनि एक लाख रूपैयाँ ऋण खोज्यौं।’
अहिले पनि त्यही ऋण चुक्ता गर्न मरिमेटेर काम गरिरहेको उनले सुनाइन्। उपचारपछि सिर्जनाको स्वास्थ्यमा सुधार आएको छ।
मलीमायाका श्रीमान आइतबहादुर खेती किसानी गर्छन्। काम आइपर्दा मजदुरीका लागि गाउँ बाहिर पनि पुग्छन्। छोरो उदय घरदेखि तीन घण्टा हिँडेर पुगिने कान्दामा रहेको कुमार बलराम स्मृती छात्राबासमा बसेर ५ कक्षा पढ्दैछन्।
सुमन र भुवन घर नजिकैको विद्यालयमा ३ र ६ कक्षा, राम र लक्ष्मण कक्षा १ मा पढ्दैछन्। जेठी छोरी सर्मिला सिलाईको काम गर्छिन्।
आइतबहादुरले विभिन्न कारणले धर्म परिवर्तन गरेपनि छोराछोरीको नाम परिवर्तन नगरेको बताए।
‘मेरो त घरमा राम, लक्ष्मण सिर्जना छन्, कुनै चर्चमा त पास्टर पनि कृष्णबहादुर, श्यामबहादुर छन्,’ उनले भने, ‘उनीहरू पनि प्रायः पान्देकै खर्च धान्न नसकेर त्यता पुगेका हुन्।’
कालीखोलाका कृष्णबहादुर प्रजाले पनि पान्देको झ्याउलो सहनु भन्दा धर्म छाड्न सजिलो लागेको बताए।
‘हप्तामा एक दिन चर्च गयो ५ रुपैयाँ चढायो, प्रार्थना गरेपछि सकिन्छ,’ उनले भने, ‘तर पुर्खाको चलनअनुसार गर्दा त पान्देकै लागि भनेर २–४ वटा बाख्रा, कुखुरा पालिराख्न पर्ने। पैसा साँचेर राख्नुपर्ने भयो।’
दिनभर पसिना बगाएर दुई छाक टार्न पनि मुस्किल पर्ने समुदायले धर्मको नाममा धेरै पैसा खर्च गर्न नसक्ने उनले बताए।
‘हामीलाई न पहिले दसैं आउँथ्यो, नअहिले क्रिसमस लाग्छ,’ उनी भन्छन्, ‘चेपाङका लागि आफू र परिवारले दुई छाक पेटभरी खान पाउनु नै सबैभन्दा ठूलो धर्म हो।’
चर्च नजिकै घर भएका ५२ वर्षीय बुद्धलाल प्रजाका ५ भाइ छोरा र ९ नाति छन्। करिब एक दशकदेखि इसाई धर्म मान्दै आएका उनलाई क्रिसमसको दिनको हेक्का थिएन।
न त क्रिसमस भनेको के हो भन्ने नै थाहा थियो।
‘आवश्यक पर्दा ऋण पाइन्छ भनेर चर्चमा गएको,’ उनले भने, ‘कोषको पैसा सय कडा दुई ब्याजमा पाइन्छ। बाहिर खोज्दा सय कडा तीन पर्छ।’
साविकको लोथर र कोराक गाविसमा पर्ने राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा ५२ प्रतिशत बढी जनसंख्या गरिबीको रेखामूनि रहेको नगरपालिकाको आधिकारिक वेवसाइटमै उल्लेख गरिएको छ। पहाडी क्षेत्रमा अचेल पिता, पुर्खाले मान्दै आएको धर्म मान्नेको संख्या असाध्यै न्यून देखिन्छ।