नेपालमा १५ वर्षअघि अर्थात सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो। सन् २०१४ मा मृत्युदर बढेर ६० प्रतिशत पुग्यो। सन् २०१६ मा अझै बढेर ६६ प्रतिशत पुग्यो।
सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ।
विज्ञहरुले त्यस यताको ६ वर्षमा नसर्ने रोगबाट मृत्यु हुनेको भार थप वृद्धि भएको अनुमान गरेका छन्।
बुधबार नेपाल एनसीडी एलायन्सको आयोजनामा काठमाडौँमा भएको नसर्ने रोग सम्बन्धि मिडिया एड्भोकेसी वर्कसपमा वक्ताहरुले बढ्दो क्रममा रहेको नसर्ने रोग भारलाई कम गर्न नीतिगत हस्तक्षेप गरेर अघि बढ्नु पर्ने बताए।
स्वास्थ्य पत्रकारहरुका लागि आयोजित सो कार्यशालामा बोल्दै एलायन्सका सह-अध्यक्ष शान्तालाल मुल्मीले बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए।
उनले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन बनाउन र कार्यान्वयनका लागि दबाब दिनेदेखि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउन रोक्ने अभियान कार्यान्वयनमा सञ्चारमाध्यमको महत्वपूर्ण कार्य गरेको बताए।
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा नसर्ने रोगको अवस्था र आफूहरुले गरेका गतिविधिबारेमा प्रकाश पारेका थिए।
यस्तै एलायन्सका संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एड्भोकेसी कार्यशाला गोष्ठीको आवश्यकता र औचित्यका बारेमा बताएका थिए।
उनले अहिले पनि नेपालका स्वास्थ्य पत्रकारहरुले प्रभावकारी ढंगले स्वास्थ्यका विविध विषय उठाइरहेको भन्दै धन्यवाद दिए।
कार्यशालामा त्यसपछि विषयगत रुपमा कार्यप्रस्तुति दिइएको थियो।
केही महिना अघिदेखि दक्षिण पूर्वी एसिया क्षेत्र (सेयर) एनसीडी एलायन्सको सचिवालय नेपाल एनसीडी एलायन्सले सम्हालेको छ।
त्यसको सचिवालय सचिवको भूमिकामा समेत रहेकी डा. मनिता प्याकुरेलले दक्षिणपूर्वी एसिया क्षेत्रमा एनसीडीको बढ्दो प्रभावबारे चर्चा गरेकी थिइन्। नसर्ने रोगको बढ्दो प्रवृत्ति शीर्षकमा कार्यपत्र प्रस्तुत गरेकी उनले नसर्ने रोग के हो? कसरी यसले आफ्नो प्रभाव विस्तारै गर्दैछ। यसलाई नियन्त्रण गर्न के कस्ता कदम चाल्नु पर्छ भन्ने बारेमा बताएकी थिइन्।
धूमपान, मध्यपानको प्रयोग, सुगरी ड्रिंक्सको प्रयोग, शारीरिक निस्कृयता, अस्वस्थकर खाना, प्रदूषण सहितको वातावरण, नसर्ने रोगका लागि प्रमुख कारक तत्व हो यस्तो कुलतमा नलाग्न सबैसँग आग्रह गरिन्।
नेपाल हेल्थका सम्पादक एवं एलायन्सका संस्थापक सदस्य रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा चर्चा गरेका थिए।
उनले नेपालका सञ्चारमाध्यम र सञ्चारकर्मीकै अग्रसरताका कारण कतिपय लुकाइएका र कतिपय लुकेका कानूनका मस्यौदाहरुलाई झिकेर कार्यान्वयनको चरणमा पुगेको बताए।
यस्तै अर्का संस्थापक एवं पत्रकार सरोज ढुंगेलले नसर्ने रोग नियन्त्रणका लागि सरकारले बनाएका नीति र तिनको कार्यान्वयनको अवस्थाका बारेमा बताएका थिए।
यसैगरी अर्का पत्रकार अतुल मिश्रले नसर्ने रोगका सम्बन्धी रिपोर्टिङ प्रबृत्तिबारेमा आफ्नो प्रस्तुति दिएका थिए भने प्रेस काउन्सिलका सदस्य एवं पत्रकार पदमराज जोशीले एनसीडी र मिडिया इथिक्सलाई जोडेर अर्को प्रस्तुति दिएका थिए।
कार्याशालामा स्वास्थ्य विटमा क्रियाशिल ३५ बढी पत्रकारहरुको उपस्थिति थियो। उक्त कार्यशालाको सहजीकरण कोषाध्यक्ष उत्तमा श्रेष्ठले गरेकी थिइन्।