जाडोमा कठ्यांग्रिएका चितवनको राप्ती नगरपालिका–१३ का चेपाङ परिवारलाई विभिन्न संस्था तथा व्यक्तिहरूले सहयोग गरेका छन्।
केही दिनअघि सेतोपाटीमा कपडा नहुँदा अगेनाको छेउमा रात कटाउने परिवारको समाचार प्रकाशन भएको थियो।
उक्त समाचार पढेपछि देश, विदेशमा रहेका विभिन्न संस्था तथा व्यक्तिहरूले चितवनका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायको विषयमा चासो राखेका थिए।
सोमबार राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले राप्ती–१३ कान्दाका दशरथ चेपाङ र सानीमाया चेपाङको परिवारलाई जाडोका लागि उपयुक्त हुने लत्ताकपडा तथा खाना सहयोग गरेको छ।
केन्द्रको सौराहास्थित कार्यालयका प्राविधिक आनन्दराम थापाले जाडोका कारण सबैभन्दा बढी प्रभावित दुई परिवारका लागि फाइबरको सिरक, म्याट्रेस, स्वेटर, ट्राउजर, चामल, सोयाबिन, तेल र नुन सहयोग गरेको जानकारी दिए।
केन्द्रको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेले केन्द्रले चितवनका अन्य ठाउँमा पनि चेपाङ समुदायलाई लक्षित गरेर विभिन्न सहयोग तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
‘केन्द्रले राप्ती-१० र कालिका-११ का विभिन्न ठाउँमा वन्यजन्तुको चोरी सिकारीमा संलग्न भएर जेल परेकाका परिवारलाई जीविकोपार्जनमा सघाउन आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
‘कोराक, पदमपुर, बाँसघारी, सैपाम लगायतका ठाउँमा पनि आयआर्जनका लागि प्राकृतिक स्रोतमा निर्भर हुन नपरोस् भनेर गाई, बाख्रा पालन, उन कात्ने, कार्पेट बुन्ने जस्ता सीपमूलक तालिम, तरकारी फार्मका लागि सहयोग जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ लामिछानेले भने, ‘यो कार्यक्रमलाई विस्तार गर्दै लैजाने योजना छ। छात्राबास विस्तार, छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गर्दैछौं।’
उनले सेतोपाटीमा समाचार पढेपछि तत्कालको राहतका लागि दुई परिवारका २१ जनालाई अत्यावश्यक सामग्री सहयोग गरिएको बताए।
सहयोग पाएपछि दशरथ चेपाङले आफ्ना बालबच्चाहरू बाँच्ने आशा पलाएको बताए।
‘भुइँमा नांगै सुत्नुपर्दा यो जाडोले बच्चाहरूलाई खान्छ कि भन्ने पीर थियो,’ उनले भने, ‘अब त बाँचे भन्ने लागेको छ।’
कान्दामै कुमार–बलराम स्मृति छात्राबास सञ्चालन गरेर चेपाङ समुदायका लागि काम गर्दै आएको संस्था लक्ष्मी प्रतिष्ठानले पनि यसअघि दशरथ चेपाङको परिवारलाई सहयोग गरेको थियो।
छात्राबासका प्रमुख मनोज श्रेष्ठले उक्त परिवारलाई खाना, लत्ताकपडा र ओढ्ने, ओछ्याउने कपडाहरू सहयोग गरिएको बताए।
यो परिवारलाई सहयोग गर्ने बेला कतिपयले गाउँमा रहेको उक्त छात्राबासमा समेत सहयोग गरेका छन्।
एक सय तीस जना विद्यार्थीहरूलाई लायन्स र लियो क्लबअफ खैरहनीले ज्याकेट र स्टेसनरी सामग्री सहयोग गर्यो। कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई चितवनको खैरहनीका समाजसेवी मुरलीप्रसाद गजुरेलको समन्वयमा स्वेटर र स्टेसनरी सामग्री वितरण भएको प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए।
हाल अमेरिकामा रहेका सप्तकोशी–१ फत्तेपुर सप्तरीका ध्रुब पराजुली, चितवनका रोमन पौडेल लगायतले पनि परिवारलाई लत्ताकपडा, खाद्य सामग्री र भाँडावर्तन सहयोग गरेका छन्।
चितवनको राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका पहाडी क्षेत्रमा चेपाङ समुदायको बसोबास रहेको छ।
चेपाङ बाहुल्य पहाडी इलाकामा ५२ प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको राप्ती नगरपालिकाले उल्लेख गरेको छ।
प्रधानाध्यापक थपलियाले जाडोले कठ्यांग्रिएको समाचारले धेरै चेपाङ परिवारले लत्ताकपडा पाएको बताए।