कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड हुन नदिन सबै स्थानीय तहलाई पत्रचार गरेको केही दिन भयो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोधार्थ दिएर सबै स्थानीय तह, सबै जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई पठाएको पत्रमा ओमिक्रोन नेपालमा भित्रिइसकेकाले सतर्क रहन र पूर्वतयारीका साथ रहन निर्देशन दिँदै भीडभाड हुन नदिन, जोखिमका क्षेत्रहरू पत्ता लगाई एन्टिजिन परीक्षण गर्न, सीमामा कडाइ गर्न भनेको थियो।
त्यसयता नेपालमा हरेक दिन कोरोना संक्रमित थपिइराखेका छन्। गत शुक्रबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी ‘विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोनका कारणले अत्याधिक मात्रामा कोभिड-१९ का केसहरू बढ्न सक्ने सम्भावना रहेकाले सबैले थप सजगता अपनाउनुपर्ने देखिन्छ’ भनेको थियो। विज्ञप्तिमा अन्य भेरिएन्टजस्तै यो भेरिएन्टबाट बच्नका लागि पनि जनस्वास्थ्य मापदण्डको पालना (सही तरिकाले मास्क लगाउने, बारम्बार हात धुने तथा दुई मिटरको भौतिक दूरी कायम गर्ने) गर्न अनुरोध गरिएको थियो।
यी तथ्य र चेतावनीको खिल्ली उडाउँदै चितवनमा मेला महोत्सवहरू आयोजना गर्न थालिएका छन्। कोरोना महामारीको खतरा बढ्दै जाँदा ठूलो संख्यामा मान्छेको भीड जम्मा गर्नेगरी चितवनमा महोत्सवहरू सुरू हुन थालेका छन्। स्थानीय तहले ती महोत्सवको प्रवर्द्धन गरेका छन् भने प्रशासनले सहयोग गरेका छन्।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आइतबारदेखि नारायणी नदी किनारमा चितवन महोत्सव हुन थालेको छ। यो महोत्सवलाई भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले प्रवर्द्धन गरेका छन्। आयोजकले महोत्सवमा सहभागी बन्न आह्वान गर्दै जिल्लाका सञ्चारमाध्यमबाट प्रचार-प्रसार गरिरहेको छ।
महोत्सवको पूर्वसन्ध्यामा नारायणगढ क्षेत्रमा निकालिएको झाँकीमा ठूलो संख्यामा मान्छे उपस्थित थिए। यहाँ जम्मा भएको भीडले जनस्वास्थ्यको मापदण्ड पालना गरेको थिएन। सहभागीमध्ये धेरैले मास्कको प्रयोग गरेको देखिए पनि भौतिक दूरी कायम हुन नसक्दा संक्रमण फैलन खतरा देखिन्थ्यो।
महोत्सव उद्घाटनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ल्याउन लागिएको थियो। तर कोरोना संक्रमण पुष्टी भएपछि उनी आउने कार्यक्रम स्थगित भयो। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले महोत्सवको उद्घाटन गरे।
स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतले खतराको चेतावनी दिँदा पनि महोत्सव गर्नु गतल हुने भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले कोरोना संक्रमण बढ्दै जाँदा स्थानीय तह र प्रशासनकै सहयोगमा महोत्सव हुनु जनताको स्वास्थ्य माथिको खेलबाड भएको भन्दै विरोध गरेका छन्।
चितवनकै रत्ननगर उद्योग वाणिज्य संघले मंगलबारदेखि पूर्वी चितवनको टिकौली चौरमा रत्ननगर महोत्सवको आयोजना गर्दैछ। महोत्सव गर्नका लागि भनेर उक्त स्थानमा संरचना निर्माणको काम धमाधम भइरहेको छ। रत्ननगर नगरपालिका यो महोत्सवको संरक्षक हो।
चितवन महोत्सव र रत्ननगर महोत्सव फरक-फरक वर्षमा गर्ने पुरानो चलन रहे पनि यसपटक एकै वर्षमा एउटै समयमा यी दुई महोत्सव आयोजना गरिँदैछ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा दस दिनदेखि चलेको गड्यौली महोत्सव शनिबारमात्रै सकिएको छ। त्यसअघि कालिका नगरपालिकामा पदमपुर महोत्सव भएको थियो।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा आइतबारसम्म कोरोना संक्रमित ८२ जना छन्। उनीहरूमध्ये ७ जनाको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार पछिल्ला दिनमा चितवनमा परीक्षण गरिएका मध्ये २ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ।
‘मन्त्रालयले दिएको निर्देशनअनुसार जिल्लाका अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राख्न थालिएको छ। भरतपुर अस्पतालले आज बैठक बसेर आवश्यक तयारी सुरू गरेको छ। अन्य अस्पतालमा पनि तयारी सुरू भएका छन्,’ तिवारीले भने।
यसअघि मन्त्रालयले संक्रमण बढ्न सक्ने भएकाले सतर्क रहन पत्र पठाएको केही दिनमा अस्पतालका बेडहरू बिरामीले भरिएको भन्दै तिवारीले यसपटक पनि त्यस्तै हुन सक्ने भएकाले सतर्कता अपनाउन थालिएको बताए।
जिल्लामा भइरहेका मेला, महोत्सवले कोरोना संक्रमणको जोखिम थप बढाउने उनले बताए।
‘हामीले सतर्क रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छौं। सरकारले जारी गरेको निर्देशिकाअनुसार हामीले अहिले गर्न सकिने यही नै हो,’ उनले भने, ‘महोत्सवमा भीड नगर भनेर जति भने पनि मान्छेले मान्दैनन्। भीडले जोखिम बढाउने देखिन्छ।’
उनले यो अवस्थामा महोत्सव सञ्चालन गरेर भीड जम्मा गर्न नहुने भए पनि उपल्लो तहले निर्देशन नदिँदा सम्म ‘झ्याप्पै बन्द गर’ भन्न नमिल्ने बताए।
‘अहिले सक्रिय संक्रमितको संख्या एक सयभन्दा कम छ। बढेर ५ सय देखि एक हजार पुग्यो र अस्पतालमा उपचारमा समस्या देखिन थाल्यो भने बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने।
जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले अप्ठेरो लागि-लागि महोत्सवमा सहभागी हुनुपरेको बताए।
'चितवन महोत्सव उद्योग वाणिज्य संघसँग भरतपुर नगरपालिका, जिविस पनि मिलेर आयोजना गर्ने पुरोनो चलन हो। यसपालि महोत्सवको निर्णय गर्दा कोरोना संक्रमण खासै नभएकाले जिसस पनि प्रवर्द्धक बन्यो। तर सुरू हुने बेलामा महामारी फैलिने अवस्था देखिँदैछ,' उनले भने, 'म पनि आज अप्ठेरो मानी-मानी उद्घाटनस्थल पुगेर फर्किएँ। यो मजबुरी भयो।'
उनले जिल्ला तहले चाहेर पनि महोत्सव रोक्न नसक्ने भएकाले संघीय र प्रदेश सरकारले चासो दिनुपर्ने बताए।
'स्वास्थ्य कार्यालयले जनस्वास्थ्यका मापदण्ड पूरा गर्नु भनेको छ। आयोजकले पनि मास्क र स्यानिटाइजर लगाऊ भनेको छ तर यत्तिले अब पुग्दैन,' उनले भने, 'महोत्सवमार्फत कोरोना संक्रमण फैलिन नदिन संघीय सरकारको चासो पुग्नुपर्यो।'