तपाईंहरूलाई याद छ आफू कक्षा पाँचको परीक्षामा पास भएपछि ६ कक्षामा जाने दिन गन्दै बसेको? नयाँ किताब, कपी, कलम बोकेर नयाँ कक्षामा कहिले पाइला टेकौं झैं भएको?
तर हाम्रै देशमा यस्ता विद्यार्थी छन् जो पास त हुन्छन् तर त्यस्तो नयाँ खुसी अनुभव गर्न पाउँदैनन्।
चितवनका पहाडी क्षेत्रमा केही यस्ता विद्यालय छन् जहाँका विद्यार्थीमा कक्षा उत्तीर्ण हुँदा उमंग भन्दा निराशा बढी देखिन्छ। कक्षा उत्तीर्ण भएपछि पढाइ सकिने र त्यससँगै सपना पनि सकिने भन्दै उनीहरू चिन्तित देखिन्छन्।
सिमना चेपाङ राप्ती नगरपालिकाको वडा नम्बर–१३ स्यामराङमा रहेको दुङवाङ आधारभूत विद्यालयको कक्षा ५ मा दोहोर्याएर पढ्दै छिन्। दोहोर्याउनुको कारण फेल भएर भने होइन। गत वर्षको अन्तिम परीक्षामा सिमना सी ग्रेडमा कक्षा ५ उत्तीर्ण गरेकी थिइन्। तर विद्यालयमा कक्षा ६ सञ्चालन नहुँदा उनले उपल्लो कक्षा पढ्न पाइनन्।
स्यामराङ गाउँबाट दुई घण्टा भन्दा बढी हिँडेपछि पुगिने कालीटार गाउँमा रहेको आधारभूत विद्यालयमा यस वर्ष कक्षा ६ को पढाइ सुरू भएको छ। तर दिनहुँ त्यहाँसम्म पुगेर पढ्ने अवस्थामा स्यामराङका बालबालिका छैनन्।
'पढ्न मन लाग्छ तर यहाँबाट दिनहुँ पैदल हिँडेर कालीटार पुग्न सम्भव छैन, त्यहीँ बसेर पढ्न बुबाआमाले खर्च पुर्याउन सक्नुहुन्न,' सिमनाले भनिन्, 'पढेका कुरा बिर्सन नदिन र पढाइको भोक मेटाउन फेरि ५ कक्षामै भर्ना भएकी छु।'
१८ वर्षीया सिमनाले अभिभावक शिक्षित नहुँदा विद्यालय भर्ना हुन पनि ढिलो भएको बताइन्। धेरै पढ्ने इच्छा भएपनि गाउँमा कक्षा ५ भन्दा माथिको पढाइ हुन्न। पढ्ने चाहना पनि पूरा हुन्न।
१८ वर्षीया उजेली चेपाङ पनि गत वर्ष कक्षा ५ को परीक्षामा उत्तीर्ण भएकी थिइन्। टाढाको विद्यालयमा कक्षा ६ मा पढ्न जान नसकेपछि उनी गाउँमै थन्किइन्।
'बिहान, बेलुका घरको काम गर्छु, दिउँसो यसै थन्किएर बस्न भन्दा स्कुल गयो भने केही भने पनि सिक्न पाइन्छ भनेर फेरि उही कक्षा दोहोर्याएँ,' उनले भनिन्, 'कक्षा थप गर्दै जाने कुरा थियो। थपिदिए त ठूलो कक्षा पनि पढ्न पाइन्थ्यो होला।'
सिमना र उजेली जस्तै रविना चेपाङ, सपना चेपाङ, सन्तोष चेपाङ, सुमन चेपाङ र दिपु चेपाङ पनि अहिले यस विद्यालयको कक्षा ५ मा दोहोर्याएर पढिरहेका छन्।
सन्तोष, सुमन र दिपु भने गाउँ बाहिर गएर ज्यालादारी काम पनि गर्छन्। काम नहुँदा विद्यालय जान्छन्। यस विद्यालयको कक्षा ५ मा अहिले १३ जना विद्यार्थी पढ्छन्।
उपल्लो कक्षा पढ्न नपाएर कक्षा दोहोर्याउने चलन यो गाउँमा नौलो होइन।
केही वर्षअघि एउटै कक्षामा पाँच वर्षसम्म दोहोर्याएर पढ्ने विद्यार्थी पनि भेटिन्थे। २०७३ सालमा तेश्रो पटक ५ कक्षा पास गरेपछि पढाइ छाडेका अमृता चेपाङ र पिपला चेपाङ विवाह गरेर अर्कै गाउँ पुगेका छन्।
तीन वर्षसम्म एउटै कक्षामा पढेपछि पनि कक्षा ६ को पढाइ सुरू नभएपछि हरिराम चेपाङ, मित्र चेपाङ र सुदिप चेपाङले पढ्नै छाडे।
गत वर्ष कक्षा ४ बाट उत्तीर्ण भएर ५ मा पुगेकी १४ वर्षीया दीपा चेपाङले कक्षा ६ थप्न विद्यालयले प्रयास गरिरहेको सुन्दा पनि खुसी भएकी छन्।
'हाम्रो विद्यालयमा अर्को वर्ष कक्षा ६ पनि थपिने हल्ला सुनेको छु, थपियो भने त पढ्न पाइन्छ भनेर खुसी भएकी छु,' उनले भनिन्।
विद्यालयले कक्षा ६ सञ्चालनको अनुमति केही वर्ष अघि नै पाएको हो। तर आवश्यक जनशक्ति नहुँदा पढाइ सुरू गर्न भने सकेन। विद्यालयका प्रधानाध्यापक अतिवल प्रजाले जिल्ला शिक्षा कार्यालयले २०७३ सालमै कक्षा थपको स्वीकृति दिए पनि पढाउने जनशक्ति नथपिदिँदा पढाइ सुरू गर्न नसकेको बताए।
जनशक्ति थप गरिदिए उपल्लो कक्षाको पढाइ सुरू गर्न तयार रहेको उनले बताए।
'उपल्लो कक्षा पढ्न नपाउँदा धेरै बालबालिकाहरू कक्षा ५ मै पढिरहे। पाँच वर्षअघि कक्षा ५ मा पाँच वर्षसम्म पढिरहेका विद्यार्थी पनि थिए। हामीले भयो अब नआऊ, ठूलो कक्षा पढाइ हुने अन्य विद्यालय जाऊ पनि भन्नुपर्यो,' उनले भने, 'बालबालिका पढ्न मन गर्छन्, अभिभावकहरू नजिकै विद्यालय भए पढाउन हुन्थ्यो भन्छन् तर पनि पढाउन सकिएको छैन।'
उनले गाउँको विद्यालयमा कक्षा थप गर्न नसके अन्यत्रको विद्यालयमा आवासीय पढाइको व्यवस्था गरिदिनुपर्ने बताए।
'छिमेकी गाउँ कालीटारमा कक्षा ६ थप गरिएको छ। अब त्यहाँ परबाट आउनुपर्ने विद्यार्थीका लागि आवासीय पढाइको व्यवस्था गरिदिए यहाँका विद्यार्थीहरू त्यहाँ गएर पढ्न सक्थे,' उनले भने, 'सबैलाई पायक पर्ने ठाउँमा कक्षा ५देखि १० सम्म आवासीय पढाइको व्यवस्था मिलाइदिए विकट गाउँका धेरै विद्यार्थीले उपल्लो कक्षा पढ्न पाउँथे।'
स्यामराङ गाउँको जस्तो समस्या अन्य गाउँमा पनि छ। केही विद्यालयले भने पछिल्ला वर्ष उपल्लो तहको पढाइ सुरू गरेका छन्। राप्ती–१३ कै कान्दा गाउँमा रहेको कान्देश्वरी आधारभूत विद्यालयमा पनि केही वर्ष अघिसम्म यस्तै समस्या थियो।
गत वर्षबाट कक्षा ७ को पढाइ पनि सुरू गरेपछि यहाँका बालबालिकाले पढ्ने अवसर पाएका छन्। तर अब कक्षा ८ चलाउन स्रोत र जनशक्तिको अभाव रहेको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन्।
छ सय बढी घरधुरी र चार हजार बढी जनसंख्या रहेको वडा नम्बर १३ मा ७ कक्षासम्म पढाइ हुने विद्यालय कान्देश्वरी मात्रै हो।
त्यसभन्दा उपल्लो कक्षा पढ्न वडा नम्बर १२ को यउरालीटारस्थित गणेश माविमा पुग्नुपर्छ। यहाँ करिब २० जना विद्यार्थीहरू अटाउने आवासीय छात्राबास पनि बनेको छ।
राप्ती नगरपालिकाको शिक्षा शाखाका उपसचिव शम्भुप्रसाद पौडेलकाअनुसार चेपाङ समुदायको बाहुल्यता रहेको वडा नम्बर १२ र १३ मा एक दर्जनभन्दा बढी विद्यालय छन्।
ती अधिकांश विद्यालयमा विद्यार्थीको संख्या कम छ। कम विद्यार्थीका लागि कक्षा थप गर्न र आवश्यक जनशक्ति दिन नसकिएका कारण कक्षा दोहोर्याउनु पर्ने वा पढ्ने चाहना हुँदाहुँदै पढाइ छाड्नुपर्ने अवस्था लामो समयदेखि देखिँदै आएको उनले बताए।
'थोरै विद्यार्थीका लागि धेरै कक्षा सञ्चालन गर्न मुस्किल छ। सबै विद्यालयलाई आवासीय बनाउन नगरपालिकासँग स्रोत छैन,' पौडेलले भने, 'अहिलेका लागि पायक पर्ने ठाउँमा गएर पढ्ने नै विकल्प हो।'
उनले सरकारी विद्यालयलाई आवासीय बनाउन नगरपालिकाले आवश्यक योजना तयार पारिरहेको बताए।
'तर ती योजना नगरपालिकाले कार्यान्वयन गर्न सक्दैन। हामी त्यो योजना राष्ट्रिय योजना आयोगलाई बुझाउँछौं। संघीय सरकार वा प्रदेश सरकारले बजेटमा सहयोग गर्यो भने विद्यार्थीहरूले सहजरूपमा पढ्न पाउँछन्,' पौडेलले भने।
पौडेलले हाल राप्ती नगरपालिकामा ४ वटा विद्यालयमा आवासीय सुविधा छ। ती मध्ये कान्देश्वरी आधारभूत विद्यालयको छात्राबास लक्ष्मी प्रतिष्ठान नामको सामाजिक संस्थाले सञ्चालन गर्दै आएको छ।
यउरालीटारस्थित गणेश माविको २० जना विद्यार्थी बस्न मिल्ने, राप्ती–११ थाकलटारस्थित राष्ट्रिय माविको ३० जनासम्म बस्न मिल्ने र राप्ती–१० समिटारको १२ जनासम्म बस्नमिल्ने छात्रबास नगरपालिकाले नै तयार पारेको हो।
वडा नम्बर–१३ को कालीटारमा यस वर्ष कक्षा ६ सुरू भएको र यहाँ १० कक्षासम्म आवासीयरूपमा पढाइ सञ्चालन गर्नेगरी योजना बनेको पौडेलले बताए।
उनले भने, 'यति गर्न सकियो भने उपल्लो कक्षा पढ्न नपाएर कक्षा दोहोर्याउने क्रमको अन्त्य हुन्छ।'