जंगली मत्ता(भाले हात्ती)को प्रसंग आउँदा सबैभन्दा बढी चर्चा ‘ध्रुवे’को हुन्छ।
उसको उपद्रोका कारण नेपाली समाजमा ‘ध्रुवे’ नाम अराजकताको पर्याय नै बनिसकेको छ। मान्छेमाथि आक्रमण गर्ने, धनको क्षति पुर्याउने ध्रुवेले कुनै समय निकुञ्जको सुरक्षा संयन्त्रलाई नै चक्मा दिएको थियो। उसलाई मार्न भनेर सरकारले लाखौं रुपैयाँ खर्च गर्यो तर ऊ उम्किएर बाँच्न सफल भयो।
चितवनमा ध्रुवेलाई मात दिन सक्ने अर्को हात्ती पनि छ, ‘रोनाल्डो’।
ध्रुवेभन्दा कमको यो पनि छैन। यी दुबैको प्रतिष्पर्धाको रोचक कहानी छ। पहिला त रोनाल्डोकै कुरा गरौं।
रोनाल्डोले अहिलेसम्म २२ जना मान्छेको ज्यान लिइसकेको छ। झट्ट हेर्दा ध्रुवे भन्दा हृष्टपुष्ट, बलियो देखिने यो हात्तीले खेतमा पुगेर अन्नबाली नास गर्नेदेखि मान्छेको घर भत्काइदिने, भकारीमा थन्काइएको धान खाइदिने गर्छ।
यही रोनाल्डो कहिलेकाहीँ भने निकै शान्त बनेर पर्यटकका सामू पनि प्रकट हुन्छ। कहिले घरपालुवा हात्ती(ढोई)को प्रेमी बनेर रासलीला गर्छ।
गत हप्ता जंगली हात्ती ध्रुवेले चितवन राष्ट्रिय निकुञ्जको हेडक्वाटर कसरा नजिकै नेपाली सेनाका अमल्दारमाथि आक्रमण गर्यो। साइकलमा गस्ती जाँदै गरेका सैनिक ध्रुवेको निसानामा परेका थिए। उपचारका क्रममा उनको मृत्यु भयो।
उनको मृत्युको दुई दिनपछि सौराहादेखि पर खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा रोनाल्डो र गोविन्दे नामका मत्ता एकैसाथ आइपुगे।
यो खबर सुन्दा सौराहा बजारमा खैलाबैला भयो।
त्यतिखेर केही पर्यटक प्रजनन् केन्द्रमा साङ्लाले खुट्टा बाँधेका हात्ती र छावाको गतिविधि हेरेर रमाइरहेका थिए। त्यहाँ एक्कासी प्रकट भएर रोनाल्डो र गोविन्दे बेपर्वाह डुलिरहे।
परिवारसहित त्यहाँ घुम्न पुगेका भरतपुरका युवा व्यवसायी सुलभ सिग्देलले ती जंगली हात्ती भएको थाहा पाएपछि खुब डर लागेको बताए।
‘ध्रुवेले मान्छे मार्यो भन्ने सुनेको एक-दुई दिनमात्रै भएको छ, ऊ जस्तै खतरानाक हात्तीहरू आँखा सामुन्ने आइपुग्दा एकछिन त डरै लाग्यो,’ सिग्देलले भने, ‘तर उनीहरूको व्यवहार अस्वभाविक नदेखेपछि डर भाग्यो, ऊसँग सेल्फी खिच्यौं, रोनाल्डोलाई देखाएर टिकटक पनि बनायौं।’
धेरै मान्छे देखेपछि गोविन्दे जंगल फर्किहाल्यो। रोनाल्डो भने फोटोका लागि पोज दिएझैं गरी निकैबेर उभिइरहयो।
‘यो हात्ती यहाँ पोथी हात्तीसँग शारीरिक संसर्ग गर्नका लागि आएको हो। अहिले धेरै मान्छे देखेका कारण त्यो गतिवधिमा सरिक नभई रातको प्रतीक्षा गरिरहेको छ,’ प्रजनन् केन्द्रमा भेटिएका चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने, ‘एक महिनाको अवधिमै रोनाल्डोले खोरसोरका चार वटा हात्तीसँग संसर्ग गरिसकेको छ।’
चारमध्ये एउटा हात्तीको उमेर बढी भइसकेका कारण तीन वटा हात्ती रोनाल्डोसँगको संसर्गबाट गर्भवती भएको हुनसक्ने अनुमान उनको छ।
हात्ती प्रजनन् केन्द्रका नायव सुब्बा मनपुरन चौधरीका अनुसार यहाँ अहिले १० वटा बच्चा १२ वटा ठूला गरी २२ वटा हात्ती छन्। तीमध्ये ५ वटा हात्ती (ऐश्वर्यामाला, तीर्थमानकली, तमरकली, हिमालीकली र लोकतन्त्रकली)ले अबको एकदेखि दुई महिना भित्रमा बच्चा जन्माउँदैछन्।
‘यी सबै हात्तीलाई प्रजनन् योग्य बनाउनमा जंगली हात्ती रोनाल्डो, ध्रुवे र गोविन्देकै योगदान छ,’ चौधरीले भने, ‘उनीहरूमध्ये कुनै दुई-तीन दिन बिराएर यहाँ आइराख्छन्, पोथी हात्तीसँग रोमान्स गरिराख्छन्।’
ती ५ वटा हात्तीले तीन जंगली मत्तामध्ये कसको बच्चा जन्माउँदैछन् भन्ने एकिन नभएको उनले बताए।
सहायक संरक्षण अधिकृत श्रेष्ठले प्रजनन् केन्द्रमा अहिलेसम्म ५० बढी छावा जन्मिएको बताए।
तीमध्ये २५ भन्दा बढी रोनाल्डोको योगदानबाट जन्मिएको अनुमान केन्द्रका कर्मचारीहरूको छ।
अन्य ध्रुवे, गोविन्दे, रोमियो र नानापाटेकरबाट जन्मिएका हुन्। रोमियो र नानापाटेकर भने मरिसके। यी दुई हात्ती मरेपछि निकुञ्जका पोथी हात्तीसँग नजिक हुन रोनाल्डो र ध्रुवेका बीच प्रतिष्पर्धा चल्दै आएको छ।
पर्साबाट चितवन भित्रिएको गोविन्दे पनि पछिल्ला वर्ष यो प्रतिष्पर्धामा सामेल भइरहेको छ।
गोविन्दे कम उमेरको र तुलनात्मक रूपमा सानो पनि भएकाले ध्रुवे र रोनाल्डोसँग जोगिएर हिँड्छ। बेला-बेलामा उसको गठजोड रोनाल्डो वा ध्रुवेसँग देखिने गरेको हात्तीसम्बन्धी अनुसन्धान गर्दै आएका हाल बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत सहायक संरक्षण अधिकृत अशोक राम बताउँछन्।
गोविन्दे अन्दाजी १२-१५ वर्षको हात्ती हो। ध्रुवे र रोनाल्डो भने ४५ वर्ष हाराहारीका हुन्। रामका अनुसार मान्छे र हात्तीको उमेर र प्रजनन् योग्य उमेर उस्तै हुन्छ।
रोनाल्डो र ध्रुवेका बीचमा धेरै समानता भए पनि सम्बन्ध भने राम्रो छैन।
रामकाअनुसार उनीहरू एक अर्काका शत्रुजस्तै हुन्। एक पटक यी दुई बीच भिडन्त हुँदा ध्रुवेले रोनाल्डोको शरीरमा दाह्रा कोपिदिएको थियो। केही समय घाइते अवस्थामा पुगेको रोनाल्डो पुन: पहिलेकै अवस्थामा फर्कियो। हाल रोनाल्डोको शरीरमा रेडियोकलर नरहेका कारण उनीहरू कतिसम्म नजिक छन् भन्ने रेकर्ड हुन सकेको छैन।
ध्रुवे रौतहटसम्म पुग्ने गरेको छ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन्। ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ। गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने राम बताउँछन्।
'हात्तीहरू प्राय: समूहमा बस्छन्। ७-८ वटाको एउटा समूह हुन्छ, समूहमा बस्दा नियमविपरीत काम गर्ने निष्कासित हुन्छ। समूहबाट निकालिएको हात्ती थप अराजक हुन्छ र मातेर जनधनको क्षति गर्न थाल्छ,' राम भन्छन्, 'यी तीन वटैको व्यवहार हेर्दा त्यस्तै देखिन्छ।'
२०६६ माघ २३ गते ध्रुवेले निकुञ्ज सुरक्षामा खटिएका एक सैनिकलाई निसाना बनाएको थियो। उसको आक्रमणबाट नेपाली सेनाका ऋद्धवीर दोहीको मृत्यु भएको थियो। त्यतिखेर ऊ ३० वर्ष भन्दा बढीको थियो। १२ वर्षपछि उसले फेरि सैनिकमाथि धावा बोल्यो। यसबीचमा ध्रुवेले अन्य १७ जनालाई आक्रमण गरेर मारेको तथ्यांक चितवन निकुञ्जसँग छ।
यद्यपी यो अवधिमा ऊ सैनिकमाथि भने उत्रिएको थिएन। मान्छेमाथि आक्रमण बढेपछि निकुञ्जले २०६९ सालको पुसमा ध्रुवेको शरीरमा रेडियोकलर जोडेर निगरानी सुरू गरेको थियो। तर ऊ केही दिनमै रेडियोकलर फालेर हिँड्यो। माघमा पर्सा निकुञ्जको जंगलमा रेडियोकलर भेटिएको थियो। पछि २०७७ सालमा फेरि रेडियोकलर जोडियो। यसले अहिले ध्रुवे कुन ठाउँमा छ भन्ने देखाउँछ।
रोनाल्डोले शरीरमा जोडिएको रेडियोकलर फालिसकेको छ, नयाँ जोडिएको छैन। त्यसैले ऊ कुन ठाउँमा छ भन्ने पत्ता लगाउन गाह्रो छ।
१२ वर्षअघि सैनिक माथि आक्रमण गरेपछि नै ध्रुवेको पहिचान गरिएको थियो। तर नाम भने पछि राखियो। नाम राख्नुको कथा पनि रोचक छ।
एकदिन निकुञ्जको भिम्ले पोष्टमा कार्यरत एक सैनिकको जम्काभेट एउटा जंगली हात्तीसँग भयो। आफ्नो आगाडि अजङको हात्ती प्रकट भएपछि सैनिक डरले हायलकायल भए।
हात्तीको अगाडि उनी लम्पसार परेर सुते। हात्तीलाई नमस्कार गरेर आफूलाई केही नगर्न बिन्ती गरे। उनको बिन्तीलाई मानेर हात्तीले उनलाई केही गरेन। ती सैनिकको नाम ध्रुव थियो। उनैको नामबाट त्यो हात्तीको नाम ध्रुवे राखियो।
निकुञ्ज भित्रका जंगली/घरपालुवा हात्तीको नाम यस्तै तरिकाबाट राख्ने गरिन्छ।
जंगली हात्तीको नाम तत्कालीन समयमा चर्चामा रहेको विषयसँग जोडेर राख्ने गरिएको छ। रोनाल्डोको पहिचान हुँदा फूटबल खेलाडी क्रिष्टियानो रोनाल्डो फुटबल जगतमा चर्चाको शिखरमा थिए।
बलिउड कलाकार नानापाटेकर सर्वाधिक चर्चामा रहेको समयमा देखिएको हात्तीको नाम नानापाटेकर नै राखियो।
घरपालुवा हात्तीको नाम भने विगतमा राजपरिवारले राख्ने चलन थियो। जन्मिएको एक-दुई वर्षमा छावालाई तालिम दिने चलन छ। त्यो समयमा राजपरिवारको अनुमतिमा हिन्दू परम्पराअनुसार छावालाई नाम दिने चलन थियो। राजतन्त्रको अन्त्यपछि निकुञ्ज प्रशासन आफैंले नाम राख्न थालेको छ।