स्थानीय तहहरूले दूग्ध उत्पादक किसानलाई राहत दिने भनेर उत्पादित दूधमा अनुदान दिने गरेका छन्। जिल्लाका स्थानीय तहहरू कुनैले किसानलाई प्रतिलिटर ३ रुपैयाँ, कुनैले २ रुपैयाँ अनुदान दिने गरेका छन्।
रत्ननगर नगरपालिकाले भने दूधमा नभई गाईमै अनुदान दिन थालेको छ। यस नगरपालिकाले विपन्न किसानलाई पचास प्रतिशत अनुदानमा गाई दिन थालेको छ। किसानलाई गाईमा अनुदान दिन यस वर्ष आन्तरिक स्रोतबाट एक करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको मेयर नारायण वनले बताए।
‘केही गरौं भन्ने जाँगर भएका तर आर्थिक अभावका कारण काम अघि बढाउन नसकेका किसानलाई लक्षित गरेर गाई वितरण कार्यक्रम सुरू गरिएको छ,’ मेयर वनले भने, ‘नगरपालिकाका कर्मचारीले अनुदानमा गाई दिन आवश्यक किसानको पहिचान गरेपछि वितरण गर्ने गरेका छौं।’
नगरपालिकाले छुट्टाएको एक करोड रुपैयाँलाई ५० प्रतिशत मानेर २ सय भन्दा बढी गाई वितरण गरिने उनले बताए। यो कार्यक्रमले किसानलाई उद्यमी बन्न सघाउने दाबी मेयर वनको छ।
‘विकास निर्माणका कामहरू धेरै भए तर जनतालाई प्रत्यक्ष फाइदा हुने काम पनि नगरपालिकाले गर्नुपर्छ भनेर यो कार्यक्रम ल्याइएको हो,’ मेयर वनले भने, ‘यो कार्यक्रमले स्वदेशमै बसेर केही गरौं भन्ने सोच भएका व्यक्तिहरूलाई सहयोग पुग्नेछ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले अन्य स्थानीय तहले दूधमा अनुदान दिने गरेका छन् हामी पनि त्यस्तै गर्ने कि भन्ने छलफल चले पनि अन्ततः किसानलाई गाई दिँदा उपलब्धी हुने देखेर निर्णय गरिएको बताए।
‘पातमा औषधी छर्न भन्दा जरामै छर्ने भनेर विपन्न समुदायका लागि गाईमा अनुदान दिने कार्यक्रम ल्याइयो,’ उनले भने, ‘थोरै दूधमा अनुदान दिनुभन्दा किसानलाई गाई नै दिएपछि धेरै दूध उत्पादन गरेर बढी फाइदा लिन सक्छन्।’
यो कार्यक्रमले किसानलाई थप मेहनती बनाउने मेयर वनले बताए।
नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख शालिग्राम पौडेलले बिहान-बेलुका गरेर कम्तीमा १० लिटर दूध दिने ८० हजार रुपैयाँ मूल्यसम्मका गाईहरूमा पचास प्रतिशत अनुदान दिन थालेको बताए।
‘यसरी खरिद गरिएका गाईको बीमा अनिवार्य गरिएको हुनुपर्छ। गाई हस्तान्तरणपछि नगरपालिकाले नियमित अनुगमन गर्छ,’ पौडेलले भने।
नगरपालिकाले गाईसँगै गोठ सुधारको लागि १० हजार रुपैयाँ समेत प्रदान गरेको छ। नगरपालिकाले प्रदान गरेको १० हजारमा किसानले १० हजार थप गरी २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ।
नगरपालिकाले यसअघि लागत साझेदारीमा बंगुर र बाख्रा पनि वितरण गरेको पौडेलले बताए। ‘पशुपालन व्यवसाय उत्पादन लागत घटाउन नगरपालिकाले घाँस खेती, बीउ, आवश्यक मेसिनहरूमा अनुदानको व्यवस्था गरिएको छ,’ उनले भने।
रत्ननगर-१४ बुद्ध टोलका उद्धव दवाडीले विभिन्न देशमा रोजगारीमा जाँदा उपलब्धी नभएपछि घर फर्किएर गाई पालन सुरू गरेको बताए। हाल दैनिक १८ लिटर दूध बिक्री गर्दै आएका उनले बिहीबार नगरपालिकाको पचास प्रतिशत अनुदानमा नयाँ गाई भित्र्याए।
‘गाई थप्दै जाने, यहीँ केही गर्ने भन्ने सोच भएर पनि लगानी गर्न सकिरहेको थिइनँ। स्थानीय तहको सहयोगमा व्यवसाय बिस्तारमा सहयोग मिलेको छ,’ दवाडीले भने, ‘दूधको उत्पादन लागत बढी छ, यो घटाउन वा दूधको मूल्य बढाउन सरकारले सहयोग गरिदिए काम गर्ने जाँगर बढ्थ्यो।’
रत्ननगर-१३ अमिलियाकी पदमकुमारी न्यौपानेले नगरपालिकाले किसानलाई अनुदानमा गाई वितरण गर्ने कार्यक्रम ल्याएर ठूलो गुन लगाएको बताइन्।
‘अर्काको घरमा मजदुरी गर्ने मैले केही वर्षदेखि नगरपालिकाकै सहयोगमा गाई, भैंसी, बाख्रा पाल्दै आएकी छु। यसबाट राम्रो आम्दानी हुन थालेको छ,’ उनले भनिन्, ‘अनुदानको पैसा यसै खेर गइरहेको सुनिन्छ, हामीजस्ता वास्तविक किसानले अनुदानमै गाई पाइएला भन्ने सोचेको पनि थिएनौं।’
नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख पौडेलकाअनुसार उक्त नगरपालिकामा हाल दैनिक ५० हजार लिटर दूध उत्पादन हुन्छ। सरकारले दूग्ध क्षेत्रलाई आत्मनिर्भर घोषणा गरिसकेकाले आत्मनिर्भर अभियानलाई सफल बनाउन स्थानीय तहले पनि काम गर्दै आएको बताए।
सरकारले गत चैतमा दूग्धजन्य पदार्थमा देश आत्मनिर्भर बनेको घोषणा गरेको थियो। केही महिनाअघि चितवनका दूग्ध उत्पादक किसानहरूले जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरेका थिए।