नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार भएको दुई वर्ष भयो। करिब तीन अर्ब रूपैयाँ खर्चिएर सडक फराकिलो बनाइए पनि पुल निर्माणको काम भने अझै सकिएको छैन।
यो सडकमा पर्ने १९ वटा पुलमध्ये चार वटाको काम पूरा भएको छ। बाँकी १५ वटामध्ये अहिले दस वटा निर्माण भइरहेका छन्। यीमध्ये केही अन्तिम चरणमा छन्। चार वटाको भने निर्माण सुरू नै भएको छैन।
'नारायणगढ–मुग्लिन, नागढुंगा–मुग्लिन सडक आयोजना' का अनुसार निर्माण सुरू हुन बाँकी चार पुलमध्ये दुइटाको काम निकै कठिन छ। मुग्लिनबाट नारायणगढतर्फ अघि बढेपछिको पहिलो खोला खहरे, त्यसपछिका चिसेन्जी, तुइन र कालीखोलाको पुल निर्माण सुरू हुन सकेको छैन।
यीमध्ये चिसेन्जी र तुइन खोलामा भौगोलिक समस्या देखिएको आयोजनाले जनाएको छ।
यी दुई खोलामा हाल धेरै साँघुरा पुल छन्, ठूला गाडी दुईतर्फी चल्दैनन्। साँघुरो पुलमा रातको समयमा दुर्घटना पनि हुने गरेको छ।
यी दुईमध्ये पनि तुइन खोलामा पुल बनाउन सबैभन्दा ठूलो समस्या रहेको आयोजना प्रमुख किरण कार्कीको भनाइ छ।
उनी भन्छन्, 'तुइन खोलामा सडकको सतह र त्यसभन्दा तल पुल निर्माणका लागि ठाउँ छैन। सडकभन्दा माथिल्लो भागमा कडा चट्टानको पहरो छ, प्राविधिक रूपमा कठिन छ।'
यहाँ पुल बनाउन विज्ञहरूले एक वर्षदेखि अध्ययन गरिरहेको उनले बताए।
नारायणगढ–मुग्लिन सडक तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख मार्ग हो। धेरै दिन अवरूद्ध गरेर काम गर्न मिल्दैन। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यो सडकमा दैनिक दस हजारभन्दा बढी गाडी आवतजावत गर्छन्।
आयोजना प्रमुख कार्कीका अनुसार सडक लामो समय अवरुद्ध गर्न सम्भव छैन, अवरुद्ध नगरी पुल निर्माण गर्न पनि सम्भव छैन। पुलको डिजाइन केही दिनअघि स्वीकृत भएको छ र निर्माणबारे छलफल हुँदैछ।
नेपाली सेनाको सहयोग लिएर पहरो फुटाएर पुल बनाउने ठाउँ निकाल्ने विकल्पमा छलफल चलेको कार्कीले बताए। उनका अनुसार नेपाली सेनाको सहयोगमा सकेसम्म थोरै समय सडक बन्द गर्ने गरी पहरो फोर्ने विकल्प सबैभन्दा उत्तम हुने ठानिएको छ।
'वर्षौंसम्मका लागि पुल बनाउनु छ। अहिले गाह्रो भए पनि दिगो हुनुपर्छ भनेर लागेका छौं,' उनी भन्छन्, 'पुरानो पुल पनि बचाउनु पर्यो, यात्रुलाई असर पर्नु भएन।'
पुल निर्माणको काम कहिले सुरू हुन्छ भन्ने आयोजना प्रमुख कार्कीलाई पनि प्रष्ट छैन। सकेसम्म एक महिनाभित्र सुरू गर्ने प्रयास भइरहेको उनले बताए।
चिसेन्जी, खहरे र कालीखोलामा फराकिलो पुल बनाउन पनि सजिलो छैन।
'डिजाइन स्वीकृत भए पनि यी खोलाको भौगोलिक अवस्था नयाँ पुल निर्माणका लागि सहज छैन,' सडक आयोजनाका इञ्जिनियर दीपिका घोरासैनी भन्छिन्।
चिसेन्जीमा पुल बनाउन पहरोमा बम पड्काउनु नपर्ला भन्ने आयोजनाको अनुमान छ। खहरे र कालीखोलामा 'आर्क ब्रिज' बन्दैछ। इञ्जिनियर घोरासैनीले यी तीन वटा खोलामा पुल निर्माणको काम एक महिनाभित्रै सुरू हुने बताइन्।
भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा रहेको रिग्दी खोलाको पुल निर्माणको काम हालै सुरू भएको छ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको छ।
प्याकेज–१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज–२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन्। प्याकेज–१ को प्रगति कम भए पनि प्याकेज–२ तर्फको काम ७० प्रतिशत सकिएको आयोजनाका प्रमुख कार्कीले बताए।
प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रूपैयाँमा र प्याकेज–२ का पुल ५९ करोड ५ लाख ५९ हजार रूपैयाँमा निर्माण गर्न अनक कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
यहाँ तीन वटा पुल ९ मिटर र अरू ११ मिटर चौडा हुनेछन्। अधिकांश पुराना पुल ६ मिटर चौडा थिए। सडक कम्तीमा नौ मिटर फराकिलो भएको दुई वर्ष भइसक्दा पनि पुलहरू भने साँघुरै छन्।
यो खण्ड पार गर्न गाडीलाई हाल औसत तीस मिनेट लाग्ने गरेको र सबै पुलहरू तयार हुँदा दस मिनेट समय घट्ने आयोजनाको भनाइ छ। यो सडकअन्तर्गत मौरी, खानी, दासढुंगा र जलवीरे खोलामा नयाँ पुल बनेर गाडी चल्न थालेको छ।
काम गर्न बजेट अभावः
सडक आयोजनाले बजेटको अभावमा पनि काममा ढिला हुन थालेको जनाएको छ। आयोजना प्रमुख कार्कीले चालु आर्थिक वर्षमा १५ वटा पुलका लागि १५ करोड रूपैयाँ मात्रै बजेट प्राप्त भएको बताए।
उनले भने, 'आएको बजेट ८० प्रतिशत सकिएको छ। अबको पाँच महिना धेरै काम हुने समय हो तर निर्माण कम्पनीलाई पैसा दिन नसक्दा ढिलो हुँदै जाने देख्छु।'
आयोजनाले चालु आर्थिक वर्षकै लागि थप २३ करोड रूपैयाँ माग गरेको छ।
'हामीले थप बजेट माग गरेर पत्र पठाएका छौं,' कार्कीले भने, 'बजेट आयो भने त निर्माण कम्पनीले पनि धमाधम काम गर्ला। आएन भने ढिलो हुनसक्छ।'
बजेट अभाव नभए लक्ष्यअनुसार नै काम पूरा हुने उनले बताए।
सडक योजनाले पुल बन्दै गरेका र बन्नेक्रममा रहेका स्थानमा भएका घर/टहराहरू हटाउन सरकारको सहयोग खोजेको छ। आयोजना प्रमुख कार्कीका अनुसार करिब दुई दर्जन घर/टहराका कारण पुल निर्माणमा समस्या देखिएको छ।
'उनीहरूलाई मुआब्जा दिएर हटाउन आवश्यक छ। हामीले एक करोड दस लाख रूपैयाँ जतिको मूल्यांकन गरेर पठाएका छौं,' उनले भने, 'सरकारले यसतर्फ पनि ध्यान दिए सजिलो हुन्थ्यो।'
आगामी २०८० सालको असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी २०७६ सालको चैतमा १५ वटा पुल निर्माणको सम्झौता भएको हो। सबै पुलको डिजाइन निर्माण कम्पनीले गर्ने र निर्माणपछिको पाँच वर्ष मर्मत पनि गर्नुपर्ने गरी सम्झौता भएको थियो।
इञ्जिनियर घोरासैनीका अनुसार पुलका अतिरिक्त उक्त सडकको १७ किलो, २४ किलो र २६ किलो भन्ने ठाउँमा भासिएको सडक उकास्ने काम पनि भइरहेको छ। यही कार्यालयअन्तर्गत मुग्लिन–नागढुंगा सडक विस्तारको काम पनि सुरू भएको छ।
सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी