सेवाग्राहीको भीडले जिल्ला प्रशासन कार्यालय, चितवनको नागरिकता फाँटको झ्याल छोपिन थालेको छ। कोरोना संक्रमणको त्रासले केही दिन जिल्ला प्रशासनले अति आवश्यक सेवामात्र दिएको थियो।
यो हप्ता नागरिकता, राहदानी लगायतका सेवा पनि दिन थालेपछि कार्यालयमा एकाएक चाप बढेको छ।
जिल्ला प्रशासन कार्यालयमा देखिएको यस्तो भीडले २५ जनाभन्दा बढी मान्छे एक ठाउँमा भेला हुन रोक लगाएको उसकै निर्णयलाई गिज्याइरहेको देखिन्थ्यो।
त्यो भीडदेखि केही पर एउटा नौलो दृष्य देखिन्थ्यो। कार्यालयको चौरमा एक किशोर र एक किशोरी पल्टिरहेका थिए।
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी ती दुई जनालाई हेर्दै तिनका अभिभावकसँग कुरा गर्दै थिए। एक कर्मचारी त्यहीँ फारम भराउने र ल्याप्चे लगाइदिने काम गर्दै थिए।
केहीबेरमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले ती किशोर-किशोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिए। हातमा नागरिकता परेपछि उनीहरू त्यसमा टाँसिएको आफ्नो फोटो हेरेर मुस्कुराए।
जिल्ला प्रशासन कार्यालयको चौरमा सुतेरै नागरिकता बुझ्नेहरू हुन् १८ वर्षीय सन्तबहादुर चेपाङ र १७ वर्षीया राममाया चेपाङ।
इच्छाकामना गाउँपालिका–२ को डुलेडाँडा गाउँमा छ सन्तबहादुरको घर।
चेपाङ समुदायको मात्र बसोबास रहेको उक्त गाउँबाट गाडी चल्ने बाटोमा पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ। त्यो अनकन्टार पहाडी गाउँमा जन्मिएका सन्तबहादुर जन्मजातै अपाङ्गता भएका व्यक्ति हुन्।
उनी उठ्न र बोल्न सक्दैनन्।
राममायाको गाउँ इच्छाकामना–२ को बल्र्याङ हो। उनी पनि सन्तबहादुरजस्तै जन्मेदेखि नै ओछ्यानमै छिन्। उनीहरू दुवै जनालाई खाना खान पनि अर्को व्यक्तिको सहारा चाहिन्छ।
वडाध्यक्ष पञ्चबहादुर चेपाङको सहयोगमा उनीहरूले चार वर्षअघिदेखि अपाङ्गता भत्ता पाउँदै आएका थिए। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता बुझ्ने बेलामा झमेला आइपर्यो।
उनीहरू दुबै जनाको नागरिकता पाउने उमेर भइसकेका कारण भत्ता पाउन नागरिकता प्रमाणपत्र चाहिने भयो।
नागरिकता प्रमाणपत्र बनाउन जिल्ला सदरमुकाम भरतपुर जानुपर्ने भयो। यही मंगलबार सबेरै पृथ्वीमानले आफ्नी श्रीमतीको पछ्यौराले बेरेर छोरा सन्तबहादुरलाई बोकेर गाडी चल्ने ठाउँ बल्र्याङ पुर्याए। त्यहाँ उनीहरूको भेट राममाया र उनका बाबु चन्द्रबहादुरसँग भयो।
वडाध्यक्ष पञ्चबहादुरले बाटो खर्च दिएर चारै जनालाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पठाए।
पञ्चबहादुरले भरतपुरका चिनेजानेका साथीभाइलाई फोन गरे। जिल्ला प्रशासन कार्यालय पुगेर सहयोग गरिदिन आग्रह गरे।
बल्र्याङबाट करिब दुई घण्टा कच्ची सडकमा गाडीमा यात्रा गरेपछि पृथ्वी राजमार्गमा पुगिन्छ। त्यहाँबाट अर्को करिब दुई घण्टामा भरतपुर पुगिन्छ।
‘अपाङ्गता भएका व्यक्तिहरू नागरिकता बनाउन आएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले राम्रो सहयोग गर्यो। प्रमुख जिल्ला अधिकारी आफैंले सहजीकरण गरिदिए। किशोर, किशोरी दुवैले कुनै झन्झटबिना नागरिकता प्रमाणपत्र पाए’, वडाध्यक्ष पञ्चबहादुर चेपाङ भन्छन्, ‘नागरिकता बनेपछि अब उनीहरूको भत्ता नरोकिने भयो, म असाध्यै खुसी छु।’
सन्तबहादुरका बाबु पृथ्वीमान थोरै पाखो बारीमा अन्न उब्जाउँछन्। त्यो अन्नले पाँच जनाको परिवारलाई तीन महिनाजति खान पुग्छ। अरू महिना अन्न, नुनतेल, लत्ताकपडा र अन्य आवश्यक वस्तु जुटाउन सकस पर्छ।
पृथ्वीमानलाई छोरा सन्तमानको भत्ताले भरथेग गरेको छ। उनी मासिक चार हजार रुपैयाँ पाउँछन्। पृथ्वीमान भन्छन्, ‘यही छोरोको भत्ताले गर्जो टरेको छ।’
उता चन्द्रबहादुरलाई पनि अपांगता भएकी छोरी राममायाको भत्ताले परिवार पाल्ने टेको दिएको छ। ‘एक जनाको दिन त उस (रामाया) को स्यहार गर्दैमा बित्छ। धन्न, सरकारले भत्ता दिएको छ र सजिलो भएको छ।’
चन्द्रबहादुरलाई छोरीको स्याहार सुसारमा पनि सजिलो भएको छ।
वडाध्यक्ष पञ्चबहादुर भन्छन्, ‘सन्तबहादुर र राममायाले पाएको भत्ताले उनीहरूको परिवारको उद्धार भएको छ।’
पञ्चबहादुर अपांगता भएका व्यक्तिको दुःख राम्ररी बुझ्छन्। उनको एउटा गोडामा अपांगता छ। उनी केही वर्षअघि ‘अपाङ्ग समाज’ को गाविस सचिव पनि भएका थिए। त्यस बेला उनले गाउँका अपाङ्गता भएका व्यक्तिहरूको ‘अपाङ्गता परिचयपत्र’ बनाउन सहयोग गरे।
उनका अनुसार इच्छाकामना–२ मा ५० जनाभन्दा बढीले अपाङ्गता भत्ता पाउँछन्। उनीहरूले अपाङ्गताको अवस्थाअनुसार मासिक २ हजारदेखि ४ हजार रुपैयाँसम्म बुझ्ने गरेका छन्।
सन्तबहादुर र राममाया सुरूमा गाविसबाटै मासिक ५ सय रुपैयाँ भत्ता बुझ्थे। बढ्दै बढ्दै ४ हजार रुपैयाँ पुग्यो।
वडाअध्यक्ष पञ्चबहादुरका अनुसार उनी तीन महिनामा एक पटक बैंकको टोली गाउँमै बोलाउँछन्। भत्ता बुझ्नेहरू वडा कार्यालय पुग्छन्।
उनी भन्छन्, ‘बैंकका कर्मचारीका लागि आउने-जाने भाडा र खाना म र वडाका कर्मचारी मिलेर व्यक्तिगतरूपमा व्यहोर्ने गरेका छौं।’
आफूले अपांगता भएका भएका व्यक्तिहरूको समस्या बुझेको हुनाले बैंकबाट गाउँमै भत्ता बुझ्ने व्यवस्था मिलाएको पञ्चबहादुरको भनाइ छ।