गणेश आधारभूत विद्यालयले कक्षा चारका विद्यार्थीलाई विज्ञान विषयको परीक्षामा एउटा प्रश्न सोधेको थियो- 'बुट्यान भनेको के हो?'
एक विद्यार्थीले उत्तर पुस्तिकामा लेखे- 'बुट्यान भनेको मान्छे झुन्डिने ठाउँ हो।'
ती विद्यार्थीले यसै यस्तो उत्तर दिएका होइनन्। गत माघमा मात्रै उनले आफ्नै गाउँमा रूखमा झुन्डिएर आत्महत्या गरेका मान्छेहरू देखेका थिए।
उनको गाउँ गणेशकुञ्जमा माघको पन्ध्र दिनमै तीन जनाले झुन्डिएर आत्महत्या गरे। तीमध्ये दुई जना त पहिले उनी पढेकै विद्यालयमा पढ्थे। यसबाहेक आफूले चिनेजानेका सात जनाले पछिल्लो एक वर्षमा र चौध जनाले पछिल्ला पाँच वर्षमा आत्महत्या गरेको उनले देखे/सुनेका थिए। गत वर्ष भदौमा उनकै साथी १० वर्षीय बालकले झुन्डिएर आत्महत्या गरेका थिए।
उनीहरू कसैले घरगोठ त कसैले साना रूखमा पासो लगाएका थिए जसको असर ती बालकको मानसिकतामा नराम्रोसँग पर्यो।
चितवनको गणेशकुञ्ज गाउँ घुम्दा यहाँका प्रायः मान्छेको मानसिकतामा यी बालकलाई जस्तै असर परेको महसुस हुन्छ। करिब डेढ सय घर रहेको गणेशकुञ्ज गाउँ माडीको प्रशासनिक केन्द्र वसन्तपुरदेखि १० किलोमिटर दक्षिणपूर्वमा पर्छ।
चुरेको फेदीमा रहेको यो गाउँमा गत माघ ५ गते, १७ गते र २१ गते दुई युवती र एक जना युवकले झुन्डिएर आत्महत्या गरेका थिए।
गाउँमा जे देखियो
माडीका पुराना राजनीतिज्ञ नारदमणि पौडेलले फेसबुकमा एउटा फोटो पोस्ट गर्दै गणेशकुञ्जमा देखिएको आत्महत्याको कहालीलाग्दो विवरण प्रस्तुत गरे। फोटोमा साना विद्यार्थी र स्थानीयवासीहरूलाई केही व्यक्तिले मनोसामाजिक परामर्श दिँदै गरेको देखिन्थ्यो।
त्यो गाउँको आत्महत्याको डरलाग्दो तथ्यांक देखेपछि हामीले पौडेललाई सम्पर्क गर्यौं। उनले त्यहाँको अवस्था जानकारी गराउँदै श्रृंखलाबद्ध रूपमा बढ्दै गएको आत्महत्याले स्थानीयवासीको मनोविज्ञानमा गम्भीर असर परेपछि विज्ञहरूलाई ल्याएर मनोसामाजिक परामर्श दिन थालेको बताए।
त्यसपछि हामीले उनीसँगै गणेशकुञ्ज जाने निधो गर्यौं।
माडी-ठोरी हुलाकी सडकमा रहेको कृष्णनगर (टम्टा बजार) नजिकैबाट दक्षिणतर्फ लागेपछि माडी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने गणेशकुञ्ज गाउँ पुगिन्छ। पौडेल र स्थानीय सगुन मध्यवर्ती उपभोक्ता समूहका सचिव गोकुल लम्साल पनि हामीसँगै त्यहाँ पुगे।
गाउँको पल्लो छेउमा चुरेकै फेदीमा रहेको घरको पिँढीमा बसेर टोलाइरहेका थिए, ४७ वर्षीय नवराज बोट।
नवराजले आफ्नी श्रीमतीलाई गुमाएको बुधबार एक महिना भयो। गत माघ ५ गते उनकी श्रीमतीले घर आडैको गोठमा पासो लगाएर आत्महत्या गरेकी थिइन्।
पौडेलले सहजीकरण गरिदिएपछि श्रीमतीको सम्झनामा टोलाइरहेका नवराज हामीसँग कुरा गर्न तयार भए। पहिलो श्रीमतीले एक छोरा जन्माएपछि उनलाई छाडिन्। त्यसको एक वर्षपछि २०५८ सालमा नवराजले घरबाट पैदल हिँडेर करिब १० घन्टामा पुगिने भारत विहारकी श्रीमतीयासँग विवाह गरेका थिए।
त्यसअघि उनका भिनाजुको भाइले भारत विहारमा विवाह गरेका थिए। उनैको माध्यमबाट चिनजान भएकी श्रीमतीया नवराजकी श्रीमती बनेर भित्रिएकी थिइन्।
नेपालकी बुहारी बनेपछि उनको नाम श्रीमतीयाबाट श्रीमाया बन्यो।
सुरूमा श्रीमाया नेपाली भाषा बोल्न जान्थिनन्। स्थानीय भाषामा बोल्ने बानी परेकी उनलाई नेपाली बुझ्नै एक महिनाजति लाग्यो। बिस्तारै उनले नेपाली बोल्न थालिन्। श्रीमायाका दुई जना छोरी छन्। जेठी १८ र कान्छी १५ वर्षका छन्। जेठीको विवाह भइसक्यो।
कान्छी छोरी जन्मिएको तीन वर्षपछि दुवैको सल्लाहमा श्रीमायाले स्थायी बन्ध्याकरण गरिन्। त्यसपछिका केही वर्ष नवराज रोजगारीका लागि मलेसिया र कतार पुगे। चार वर्षअघि घर फर्किएका उनी घर बनाउने मिस्त्रीको काम गर्न थाले। तीन दाजुभाइमध्येका कान्छा उनको भागमा एक बिघा जमिन छ। त्यो जमिनमा फल्ने अन्नले चार जनाको परिवारलाई जेनतेन पुग्छ।
नवराजले टम्टा बजारको एउटा घर बनाउन मिस्त्री कामको जिम्मा लिएका थिए। माघ ५ गते बिहानै उनी काममा हिँडे। दिउँसो गाउँमा हल्ला चल्यो, उनीहरूको एक जना आफन्तको बाख्रालाई बाघले घाइते बनायो। घाइते बाख्रा ल्याएर मासु टुक्राउन थालेको सुनेपछि जेठानी बेलीमाया र श्रीमाया पनि त्यतै लागे। भुटन खाइवरी आफ्नो भागमा परेको मासु लिएर साँझ दुवै जना घर फर्किए।
श्रीमायाले श्रीमानको भाग मासु कटौरामा राखिदिइन् र आफू बाहिर निस्किइन्।
कामबाट थाकेर फर्किएका नवराज श्रीमती गाउँतिर गएको थाहा पाएपछि आराम गर्न थाले। त्यो रात ९ बजेसम्म श्रीमती घर नआएपछि नवराजले चासो बढाए।
खोजी गर्दै जाँदा श्रीमाया घर आडैको बाख्राको खोरमा झुन्डिएको अवस्थामा भेटिइन्।
'झुन्डिएको देखेपछि होहल्ला भयो, छाती छाम्दा अलिअलि सास फेरेजस्तो लाग्थ्यो,' नजिकै घर भएकी जेठानी बेलीमायाले भनिन्, 'हतार–हतार गरेर पानी खुवाएको सास गइहाल्यो।'
दिउँसो सँगै बसेर मासु खाँदा, गफगाफ गर्दा त्यस्तो कुनै छनक नदेखेको उनले बताइन्।
'दिनभर सँगै भएको मान्छे, एक्कासि पासो लगाएको अवस्थामा देख्दा त छक्कै परेँ,' उनले भनिन्, 'उनीसँग कुरा गर्दा कहिल्यै नराम्रो कुरा सुन्थिनँ।'
नवराज श्रीमतीको अवस्था देखेपछि छाँगाबाट खसेजस्तो भए।
'कहिलेकाहीँ सामान्य भानाभनबाहेक केही समस्या थिएन। उत्तिखेरै कुरा मिलिहाल्थ्यो। एक्कासि त्यो अवस्थामा देख्दा सुरूमा त पत्यारै लागेन,' उनले भने।
श्रीमतीको मृत्युपछि उनले त्यसको कारण के हुन सक्ला भनेर धेरै सोचे। तर कारण यही होला भनेर पहिल्याउन सकेनन्।
'केही महिनाअघि श्रीमायाले दुईवटी छोरी मात्रै छन्, मैले स्थायी बन्ध्याकरण गरेँ, बन्ध्याकरण खोलेर फेरि एउटा छोरो पाउने हो कि भनेकी थिइन्। मैले त्यो कुरामा धेरै चासो देखाइनँ। यही करण पो हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ,' उनले भने।
नवराज विदेश जाँदा श्रीमायाले मदिरा सेवन गर्न थालेकी थिइन्। आफू नहुँदा मदिरा सेवन गर्ने गरेको नवराजले मेसो पाए। त्यसपछि उनीहरूबीच बेलाबेला झगडा हुने गरेको थियो।
'मैले रक्सी खाने काम राम्रो होइन। अबदेखि नखाऊ भनेर गाली गर्ने गर्थें। त्यो विषयमा झगडा नभएको पनि धेरै समय भइसकेको थियो,' उनले सुनाए।
श्रीमतीको वियोगमा रहेका नवराज केही दिनअघिको मनोसामाजिक परामर्श कार्यक्रममा पनि सहभागी भए। त्यसले आफूमा सामान्य परिवर्तन आएको महसुस गरेका छन् उनले।
'यस्तो कार्यक्रममा पहिल्यै सहभागी हुन पाएको भए मेरो घरमा यो घटना हुने नै थिएन जस्तो लाग्छ,' उनले भने, 'श्रीमतीले भनेका कतिपय कुरालाई मैले सानो सम्झिएर बेवास्ता गर्दा त्यसैको कारण पो घटना भयो कि! मैले उसलाई रक्सी नखा भनेर गाली त गरेँ तर किन खान थाली भनेर उसको कुरा बुझ्ने प्रयास कहिल्यै गरिनँ। अहिले सम्झँदा गल्ती गरेछु जस्तो लाग्छ।'
अहिले देउरानी गुमाएकी बेलीमायाले गत मंसिरमा मात्रै आफ्नै बहिनी गुमाएकी थिइन्। तीन छोरा, दुई छोरीकी आमा ३० वर्षीया जयन्ती बोटले गत वर्ष मंसिरमा घर नजिकै जंगलको रूखमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
गत भदौमा उनीहरूकै आफन्त पर्ने ७५ वर्षीय शनिश्चरे बोटले आत्महत्या गरेका थिए। जयन्ती र शनिश्चरेको घर बेलीमायाको घरबाट करिब पाँच सय मिटर पर पर्छ।
नवराज र बेलीमायासँग कुरा गरेपछि हामी पुग्यौं त्यहाँबाट करिब पाँच सय मिटर पर रहेको श्याम माझीको घर।
श्याम पिँडीमा मुढामा बसिरहेका थिए। श्रीमती नाङ्लोमा तोरी केलाइरहेकी थिइन्।
आँगनमा चरिरहेका कुखुरासँग खेल्दै थिए, अढाई वर्षे बालक। यी दूधे बालककी आमा मञ्जु माझीले घर नजिकैको रूखमा झुन्डिएर आत्महत्या गरेको बुधबार १७ दिन भयो।
मञ्जुले काठमाडौंमा ज्यालादारी काम गर्ने काभ्रेका सुदर्शन तामाङसँग विवाह गरेको चार वर्ष भएको थियो। गत दसैंदेखि मञ्जु माइत बस्न थालेकी थिइन्। श्रीमान सुदर्शन पनि उनीसँगै ससुराली आए। आर्थिक अवस्था कमजोर भएका सुदर्शन काम पाउँदा जता पनि जाने गर्थे। पछिल्लो समय मासिक १५ हजार रूपैयाँ आउने गरी वीरगन्जको कुखुरा फार्ममा काम गर्न थालेका थिए।
महिना मरेपछि ससुराली फर्कँदा श्रीमान-श्रीमतीबीच पैसाको कुरा भयो। सुदर्शनले पैसा थोरै मात्र देखाएपछि मञ्जु फन्किइन्। 'यो कुराले दुई जनाको झगडा भयो। बूढाबूढीको झगडा मिलिहाल्छ भनेर हामीले धेरै वास्ता गरेनौं,' बाबु श्यामले भने।
माघ १६ गते बिहान दुवै जनाले आफ्ना सामान झोलामा राखे। मञ्जु झोला बोकेर नारायणगढ जान्छु भनेर घरबाट निस्किइन्। पैसा छैन कि भनेर सोध्दा मञ्जुले दुई सय रूपैयाँ रहेको बताएपछि आमाले ५० रूपैयाँ थपिदिइन्।
श्यामका दाइको सौराहा नजिकै बसोबास छ। मञ्जु कहिलेकाही त्यहाँ जाने भएकाले श्यामलाई ठूलो बुवाकहाँ जान्छे 'फ्रेस' भएर फर्किन्छे भन्ने लाग्यो। १७ गते उनले दाइलाई फोन गरेर सोध्दा मञ्जु नपुगेको चाल पाए।
'छोरी कता गइछ भनेर सोच्दै थिएँ, घरबाट केही पर जाँदा त छोरीलाई रूखमा झुन्डिरहेको अवस्थामा पो देखेँ,' श्यामले भने, 'श्रीमानसँग रिसाएर हिँडेकी छ। रिस मरेपछि फर्किहाल्छे भनेर ढुक्क भएको थिएँ, त्यो अवस्थामा देख्दा त पत्याउनै गाह्रो भयो।'
मृत श्रीमतीको दाहसंस्कार गर्न घर लिएर गएका ज्वाइँ फर्किएर नआएको उनले बताए।
'अरूले कुरा काट्दा पनि रिसाएर मेरा बालाई जे पनि भन्ने भनेर गाली गर्ने मेरी छोरीले किन यति सजिलै संसार छाडी, केही भेउ पाउन सकेको छैन,' उनले भने।
करिब दुई सय मिटर अघि बढेपछि खरले छाएको सानो घरमा एक युवती सात वर्षीय छोरो लिएर बसेकी थिइन्। उनको नाम गंगा गुरूङ हो। उनले श्रीमान विकास गुरूङलाई गुमाएको बुधबार १३ दिन भयो।
२७ वर्षीय विकास र गंगा डेढ वर्षीय छोरो च्यापेर पाँच वर्षअघि भारत पुगेका थिए। लद्दाखमा इँटा बनाउने काम गरेका उनीहरू डेढ लाख रूपैयाँ जम्मा गरेर गत भदौमा घर फर्किए।
खरले छाएको सानो झुप्रोनजिकै टिनले छाएको तीनकोठे घर बनाउने उनीहरूको योजना थियो। त्यसका लागि जमिन सम्याउने, ब्लक बनाउने, सामान किन्ने काम सुरू गरेका थिए। घर बनाउन चाहिने पाँच लाख रूपैयाँ आफ्नो नाममा रहेको सात कट्ठा जमिन धितो राखेर ऋण लिने योजना थियो।
जमिन धितो राखेर ऋण लिने सल्लाह गर्न माघ २१ गते बिहान गंगा माइती वसन्तपुर गइन्। ऋण लिनुअघि जग्गाको मालपोत कर तिर्नुपर्ने थाहा पाएपछि त्यसका लागि माइतबाट १० हजार रूपैयाँ मागेर उनी घर फर्किइन्।
ठूलो वर्षा भइरहेको थियो, विकास घरबाट निस्किए। नजिकै कतै जान खोजेको होला भनेर वास्ता भएन। धेरै समय हराएपछि खोजी गर्दा घरदेखि करिब दुई सय मिटर पर बाटोनजिकै रूखमा झुन्डिएको अवस्थामा उनी भेटिए।
'भारतमा एक हजार इँटा बनाएको चार हजार रूपैयाँ आउँथ्यो। हामी दुई जनाले दुई दिनमा त्यति इँटा बनाउँथ्यौं। विकासलाई जन्डिसको समस्या भएकाले काम गर्न गाह्रो भएर घर फर्कियौं,' उनले भनिन्, 'बेलाबेला बिरामी हुनुहुन्थ्यो, अरू कुनै समस्या थिएन। म ऋण लिने भनेर तयारीमा लागेँ, उहाँले आत्महत्या गर्नुभयो।'
उनले कहिलेकाहीँ सामान्य विवादबाहेक श्रीमान-श्रीमतीबीच कुनै समस्या नरहेको बताइन्।
'आत्महत्या नै गर्नुपर्ने कारण केही देख्दिनँ। के सोचेर त्यसो गर्नुभयो, बुझ्न सकेको छैन,' उनले भनिन्।
गंगाको घरनजिकै घर भएकी २२ वर्षीया सुस्मिता भट्टले गत वर्ष माघमा त्यसैगरी आत्महत्या गरेकी थिइन्। यही गाउँका १० वर्षीय विश्वास परियारले गत वर्ष भदौमा घरमै झुन्डिएर आत्महत्या गरेका थिए। दाइले भाँडा माझ भनेर गाली गरेपछि आवेशमा आएर आत्महत्या गरेको स्थानीय बताउँछन्।
यो त्यही गाउँ हो जहाँ केही वर्षअघि एक व्यक्तिले दसैंको समयमा मासु किन्ने पैसा नभएपछि आत्महत्या गरेका थिए। बाह्र जना छोराछोरीका बाबु ५० वर्षका धनबहादुर परियारले दसैं मनाउने खर्च नहुँदा भान्सा कोठाको दलिनमा झुन्डिएर आत्महत्या गरेका थिए।
साविकको अयोध्यापुरी गाविसका अध्यक्ष रहेका माडीका समाजसेवी नारदमणि पौडेलले गरिबी, चेतनाको कमी, मदिरा सेवन लगायत कारणले आत्महत्याको क्रम बढ्दै गएको बताए। आत्महत्याको विकल्प नरोजी यी समस्यासँग लड्न प्ररित गर्ने गरी गाउँमा मनोपरामर्शदाताकै उपस्थितिमा सचेतना कार्यक्रम सञ्चालन गरिए पनि पर्याप्त नभएको उनको भनाइ छ।
उक्त क्षेत्रमा रहेको सगुन मध्यवर्ती उपभोक्ता समूहका सचिव गोकुल लम्साल आत्महत्याका घटना बढ्दै जाँदा यसको ठूलो मनोवैज्ञाननिक असर गाउँका अन्य धेरै व्यक्तिमा परिरहेको बताउँछन्।
'यो गाउँका प्रायःको आर्थिक अवस्था कमजोर छ, चेतनाको कमी छ। कतिपय मान्छे गरिबीका कारण आजित भएर यसरी बाँचेर के अर्थ भन्ने भावको कुरा सुनाउँछन्,' उनले भने, 'आत्महत्याको घटना देखिरहँदा धेरैलाई केही गाह्रो, अप्ठेरो भइहाल्यो भने अन्तिम उपाय आत्महत्या नै रहेछ भन्ने परेको देखिन्छ।'
बेरोजगारी, ऋण, गरिबीले कृषि र अन्य व्यवसाय राम्रोसँग अघि बढाउन नसक्ने समस्याका कारण मान्छेहरूमा निरासा बढ्दै गएको देखिएको उनले बताए।
माडीमा केही वर्षदेखि मानसिक स्वास्थ्यका लागि काम गर्दै आएको गैरसरकारी संस्था 'उज्यालो जीवन नेपाल' का मनोपरामर्शदाता मोहन पोखरेलका अनुसार मान्छेले आफ्नो समस्या अरूलाई बताउन नसक्दा आत्महत्याको विकल्प रोज्ने गरेको पाइएको छ।
पोखरेलसहितको टोलीले दुई दिन गणेशकुञ्जमा पुगेर एक सय बीस जना भेला गरी आत्महत्याको सोच कसरी आउँछ, यसको व्यवस्थापन कसरी गर्ने, समाजले मानसिक स्वास्थ्यमा समस्या भएका मान्छेलाई कस्ता लाञ्छना लगाउन सक्छ, यसलाई कसरी व्यवस्थापन गर्दै अघि बढ्नेजस्ता विषयमा जानकारी गराएको थियो।
'हामीले कसैलाई आफ्ना समस्या भन्ने मान्छे नभएर गाह्रो भएको छ भने हामीलाई भन्नुहोला, हामी समस्या सुनेर समाधानको प्रयास गर्छौं भनेर फोन गर्दा पैसा नलाग्ने टेलिफोन नम्बर छाडेर फर्कियौं। केही दिनमा त्यही गाउँबाट १५ वटा फोन आएको छ,' पोखरेलले भने, 'उनीहरूले फोन गरेर आफ्ना समस्या सुनाएका छन्।'
स्थानीय तहले जनताको मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रूपले नलिँदा यो समस्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए।
'कुनै संस्था कार्यक्रम लिएर आइदिए स्थानीय तह सहकार्य गर्न तयार छन् तर आफैं सचेतना कार्यक्रम गरेर जनताका समस्या कम गर्ने विषयमा गम्भीर देखिँदैनन्,' उनले भने।
उनका अनुसार कोरोना महामारीपछि पहिलोपटक भएको लकडाउनयता माडी नगरपालिकाभित्र मात्रै एक सय जनाले आत्महत्या गरेका छन्। यो तथ्यांकले माडीमा कम्तीमा एक जना मनोचिकित्सकको आवश्यकता देखाएको पोखरेल बताउँछन्।
'अनुसन्धानले एक व्यक्तिले गरेको आत्महत्याको असर १० व्यक्तिमा पर्छ भन्छ, यहाँ देखिएको यति ठूलो संख्याको असर कतिमा पर्ने हो, यस विषयमा ध्यान दिन अब ढिला गर्न हुँदैन,' उनले भने, 'बालबालिकादेखि वृद्धवृद्धासम्मलाई ठूलो असर पारिरहेको छ।'
गणेशकुञ्ज गाउँबाट माडी नगरपालिकामा प्रतिनिधित्व गर्ने वडासदस्य घनश्याम दवाडीले यहाँको समस्याको विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएर सचेतना अभियानका लागि योजना निर्माण गर्न दबाब दिने बताए।
विद्यालयका प्रधानाध्यापक भन्छन्– विद्यार्थीहरु रिस उठ्यो भने मर्दिन्छु भन्दा रहेछन्
स्थानीय गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक तोयानाथ अधिकारीले गाउँमा धेरैले आत्महत्या गरेको देखिरहँदा त्यसको ठूलो असर विद्यार्थीमा देखिएको बताए।
उनका अनुसार यही विद्यालयमा अध्ययन गरेका तीन जनाले आत्महत्या गरेका छन्। आफूले चिनेका मान्छे धेरैले साना रूखमा पासो लगाएर आत्महत्या गरेको देखेपछि बालबालिकामा त्यो रूखको काम नै त्यही हो कि भन्ने परेको उनले बताए।
'आफूले चिनिराखेका मान्छेले गरेका कामको असर विद्यार्थीमा पर्ने नै भयो,' प्रधानाध्यापक अधिकारीले भने, 'सानो कुरामा रिस उठे पनि मर्दिन्छु भन्दा रहेछन्। अभिभावकहरू मेरो छोराछोरीले यस्तो भने सम्झाइदिनुपर्यो भन्न आउनुहुन्छ।'
उनले विद्यार्थीहरूले कक्षामै पनि सानो–सानो कुरामा घुर्क्याउने र मरिदिन्छु भनिहाल्ने गर्ने गरेको बताए।
'मान्छेको चोला घरी–घरी आउँदैन, मर्ने कुरा गर्नु हुँदैन। जीवनमा केही गरेर देखाउनुपर्छ भनेर सम्झाउँछौं,' उनले भने, 'शुक्रबार हुने अतिरिक्त कार्यक्रममा सचेतनामूलक कुरा सिकाउन थालिएको छ। सर-मेडमहरूलाई राम्रोसँग सम्झाउनू। जीवनप्रति उत्साहित हुन प्रेरित गर्नू भन्ने गरेको छु।'
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार चितवनमा गत आर्थिक वर्ष २ सय १९ जनाले आत्महत्या गरेका थिए। उनीहरूमध्ये १ सय ४१ जना पुरूष, ६५ जना महिला, ८ जना बालक र ५ जना बालिका थिए।
यस वर्षको अहिलेसम्म ९९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरहरी अधिकारीले बताए। उनीहरूमध्ये ५१ पुरुष, ४० महिला, ३ बालक, २ बालिका र १ जना पहिचान नखुलेका रहेको अधिकारीले जानकारी दिए।