मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइने भएको छ। सोमबार पत्रकार सम्मेलन गरेर मितिनी नेपालले उक्त दिवस भोलि (जेठ ३ गते) मनाइने जानकारी दिएको हो।
महिला समलिंगी, द्धयलिंगी र ट्रान्सजेन्डर व्यक्तिहरूको मानव अधिकार र सम्मानका लागि काम गर्दै आएको मितिनी नेपालले मे १७ अर्थात् भोलि उक्त दिवस मनाउन लागेको हो।
‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भन्ने विश्वव्यापी नाराका सााथ दिवस मनाइने मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले जानकारी दिइन्।
उपराष्ट्रपतिको प्रमुख अतिथिमा गरिने कार्यक्रममा सातै प्रदेशका दश-दश जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू आउने केसीले बताइन्। उक्त दिवस हरेक वर्ष मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउँदै छन्।
सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक नभएर प्राकृतिक प्रक्रिया भनेर घोषणा गरेको थियो। सोही दिनदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्दै उक्त दिवस मनाउँदै आएको छ। यो समुदायको प्रतिनिधित्व हुनु भनेको रोग नभई प्राकृतिक प्रक्रिया रहेको भन्दै उक्त दिवस मनाउन लागेको उनले बताइन्।
पत्रकार सम्मेलनमा बोल्दै मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले एउटा महिलाले अर्को महिलाप्रति आर्कषित हुनु भनेको मानसिक रोग नभई भावना रहेको बताइन्। त्यसकारण यस समुदायका व्यक्तिलाई स्विकार गर्ने परिवार र समलिंगी जोडीलाई पनि भोलिको कार्यक्रममा सम्मानित गर्न लागेको उनले जानकारी दिइन्।
यस्तै, उक्त दिवस देशभरमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन्।