चितवनको इच्छाकामना गाउँपालिका, वडा नम्बर एक, जाइथलीको पखेरोमा एक जना किशोर बारी जोत्दै थिए। उनलाई गाउँतिर उक्लिरहेका केपी किरण शर्माले देखे। नजिकै गएर उनले सोधीखोजी गरे।
ती किशोरले शक्तिखोरस्थित एक छात्रावासमा बसेर विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका रहेछन्। उमेर रहेछ १७ वर्ष। अगाडि पढ्ने उपाय नभएर गाउँ फर्केका रहेछन्।
ठाउँको ठाउँ केपीले ती किशोरलाई उच्च शिक्षा पढ्न सघाउने निर्णय सुनाए। जाइथलीबाट रत्ननगरस्थित छात्रवासमा ल्याए। नजिकैको पञ्चकन्या माविमा कक्षा ११ मा भर्ना गराइए। ती किशोरले विज्ञानमा १२ कक्षा पूरा गरे।
सात वर्षअघि पखेरामा जोतिरहेको अवस्थामा भेटिएका ती किशोर थिए होमराज चेपाङ।
उनी अहिले सिभिल इञ्जिनियर बनेका छन्। उनले नारायणगढस्थित नेपाल पोलिटेक्निक कलेजमा पाँच वर्ष सिभिल इञ्जिनियरिङ पढेका थिए। होमराजका लागि आवश्यक सबै खर्च केपीले नै जुटाइदिएका थिए।
हाल चेपाङ समुदायमा दुई जना सिभिल इञ्जिनियर छन्। होमराजसँगै भर्ना भएका मनीष प्रजा पनि यसैपालि सिभिल इञ्जिनियर भए। मनीष नेपाल चेपाङ संघ, केन्द्रीय शिक्षा विभागका प्रमुख तिलक चेपाङका छोरा हुन्।
सात वर्षअघि होमराजलाई भेटेको सम्झिँदै केपीले प्रशन्नता प्रकट गरे, 'पखेरामा जोतिरहेको किशोरले अवसर पाए केही गर्छ भन्ने लागेको थियो। साँच्चै गरेर देखायो।'
केपी किरण शर्मा चितवनमा चिनिएका व्यक्ति हुन्। एक दशकदेखि यस्तै सामाजिक काममा सक्रिय रहेका उनले होमराजजस्ता धेरै चेपाङ बालबालिकाको पढाइमा सघाउँदै आएका छन्। चेपाङ समुदायको बसोबास रहेका गाउँमा उनलाई त्यहाँका सबैले 'केपी बा' भनेर बोलाउँछन्।
केपीले रत्ननगर नगरपालिकाको वडा नम्बर–११, मंगलपुरमा गामबेसीको चेपाङ संरक्षण केन्द्र नामको छात्रावास स्थापना गरेका छन्। यहाँ हाल पूर्वप्राथमिकदेखि स्नातक तहसम्म पढ्ने १३५ जना चेपाङ विद्यार्थी बस्छन्।
उनीहरूको बास, खाना, लुगाफाटो र पढाइसम्बन्धी सबै खर्चको बन्दोबस्त छात्रावासले गर्छ। उनीहरूलाई स्थानीय विद्यालय र कलेजहरूमा पढ्ने व्यवस्था केपीले नै मिलाउँछन्। उक्त छात्रावास २०७० सालमा स्थापना भएको हो। यही बसेर हालसम्म २८ जनाले एसइई उत्तीर्ण गरे।
यही छात्रावासमा बसेर दुई कक्षादेखि पढेकी सिम्रन चेपाङ अहिले काठमाडौंमा हेल्थ असिस्टेन्ट (एचए) पढ्दै छिन्। वर्षायाममा खोलो बढेपछि टाढाको विद्यालय पुग्न नसक्ने सात वर्ष उमेरकी सिम्रनलाई केपीले साविकको सिद्धी गाविसको बासपानी भन्ने ठाउँमा बाख्रा चराउँदै गर्दा भेटेका थिए।
'घरमा पुगेर हेर्दा अन्न केही रहेनछ। पारिवारिक अवस्था देखेपछि असाध्यै टिठ लाग्यो,' सिम्रनलाई भेट्दाको क्षण सम्झँदै केपीले भने, 'बाबुआमासँग कुरा गरेर उनलाई लिएर आएँ। छात्रावासमा राखेर आडैमा रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा भर्ना गराएँ।'
स्कुल भर्ना भएपछि सिम्रोनले सरासर पढिन्। हाल एचए दोस्रो वर्षमा छिन्।
'स्कुल अफ हेल्थ साइन्सले निःशुल्क पढाइदिएको छ। खाने, बस्ने, किताबकापी, भाडाको खर्च मैले व्यवस्था गरेको छु,' केपी भन्छन्, 'आगामी वर्ष त ऊ गाउँकै पहिलो महिला एचए बनेर आउँछे।'
यही छात्रावासमा बसेर पढेका तीन जना छात्रा हाल स्टाफ नर्स भएर सेवारत छन्। भेटरनरी र जेटिए पढेका दुई जनाले हेफर इन्टरनेसनल नामक विदेशी संस्थामार्फत गाउँमै रोजगारी पाएका छन्।
राप्तीको बाक्राङका सन्दीप चेपाङ सोही छात्रावासमा बसेर शहीद स्मृति बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्ष पढ्दै छन्। दुई जना बैरिया माविमा भेटरनरी र जेटिए विषयको तीन वर्षे डिप्लोमा गर्दै छन्। यसपालि ११ जना विद्यार्थी एसइईमा सामेल भएका छन्।
केपी किरण शर्मा २०३४ सालमा गोर्खाको दर्बुङमा जन्मिएका हुन्। उनी ३१ वर्षको हुँदा रोजगारीका लागि दुबई पुगेका थिए। नेपालमा छ महिनाको पत्रकारिताको तालिम लिएका उनले अन्य कामसँगै दुबईमै प्रकाशन हुने नेपाली समाचार साप्ताहिक नामको पत्रिकामा संवाददाताका रूपमा पनि काम गरे। रिपोर्टिङ गर्दागर्दै त्यही पत्रिकाका सम्पादक भए। दुबईमा पाँच वर्ष काम गरेर नेपाल फर्के।
त्यो समय केपीकी श्रीमती अम्बिका चितवनमा विकट मानिने साविकको सिद्धी गाविसको नाम्दारस्थित एक विद्यालयमा पढाउँथिन्। श्रीमतीले पढाउने स्कुल हेर्ने इच्छाले केपी त्यहाँ पुगे। चितवनको समथर भूभाग र सुखी जीवन देखेका उनलाई पहाडी गाउँको अवस्था देखेर कहाली लाग्यो।
'नाम्दार गाउँमा बस्ने चेपाङ समुदायले खान, बस्न, लगाउन नपाएको दर्दनाक अवस्थाले मलाई ठूलो पीडा दियो। समथर चितवनको सुखसयल देखेको म चेपाङको अवस्था देख्दा तीन छक खाएँ,' उनले भने, 'क्यामरा झिकेर त्यहाँका मान्छे, उनीहरूको लवाइ, खवाइ, बसोबासको अवस्था सबै कुराको तस्बिर खिचेँ।'
विद्यालयका अध्यक्ष महेन्द्र चेपाङलाई भेटेर 'यो गाउँका लागि सकेको काम गर्छु' भनेर उनी त्यहाँबाट फर्के।
दुबईबाट फर्केपछि केपीले 'गामबेसीको खबर' नामको मासिक पत्रिका प्रकाशन गरे। पहिलो अंकमा चितवनको पहाडी गाउँ सिद्धीका चेपाङ समुदायको अवस्थाको सचित्र वर्णन गरिएको थियो। उनले उक्त पत्रिकामा हरेक महिना गाउँका खबर प्रकाशन गरिराखे। जिल्लाले बिस्तारै अनकन्टार गाउँहरूको खबर पनि थाहा पाउन थाल्यो। चेपाङका दिनचर्या, संस्कृति, रहनसहनले राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यानाकर्षण गर्न थाल्यो।
गाउँमा धेरै बालबालिकाले पढ्न चाहेर पनि नपाएको अवस्था थाहा पाएपछि केपीले सहयोग संकलन गरेर उनीहरूलाई पढाउने निधो गरे। दस वर्षअघि, २०६९ वैशाखमा, सिद्धीका २५ जना चेपाङ बालबालिकालाई सहर लगे। रत्ननगरको खोलेसिमलमा रहेको बिन्देश्वरी आधारभूत विद्यालयसँग सहकार्य गरेर त्यहाँका दुइटा कोठामा उनीहरूलाई राखेर पढाउन थाले।
त्यसै वर्ष सिद्धीका बन्दिपुरे चेपाङ नामका वृद्ध ओडारमा बस्ने गरेको खबर प्रकाशित भयो। त्यो समाचारले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ध्यान तान्यो। महिनाको एक दिन कुनै समुदायमा पुगेर त्यहीँको कुनै घरमा खानेबस्ने गरेका प्रधानमन्त्री भट्टराईको शैलीको प्रशंसा भइरहेको थियो। २०६९ साउनमा बन्दिपुरे चेपाङसँगै खाना खाने योजना बनाएर भट्टराई सिद्धी पुगे।
केपीले भट्टराई र उनीसँगै आएका विभिन्न मन्त्रालयका सचिव तथा अन्य उच्च पदस्थलाई चेपाङ समुदायको अवस्थाबारे जानकारी गराए। प्रधानमन्त्री भट्टराईले चेपाङ बालबालिकालाई पढाउन व्यक्तिगत रूपमा एक लाख रूपैयाँ केपीलाई दिए।
भट्टराईकै निर्देशनमा उक्त गाउँमा गरिबी निवारण कोषमार्फत एक करोड रूपैयाँको स्वरोजगार कार्यक्रम पुग्यो। गाउँका चेपाङ समुदायलाई बाख्रा पालनमा सक्रिय बनाउन उक्त कार्यक्रमले ठूलो सहयोग गर्यो।
केपी उक्त कार्यक्रमलाई चेपाङ समुदायमा पुर्याउन खटे। उनकै सक्रियतामा २७ वटा समूह बने। धेरैले व्यावसायिक बाख्रापालन सुरू गरे। उक्त कार्यक्रम सुरू भएको पहिलो वर्ष दसैंमा सिद्धीका बासिन्दाले ५० हजार रूपैयाँको खसीबोका बेचे। त्यसको नौ वर्षपछिको दसैंमा आठ करोड रूपैयाँको खसीबोका बेचे।
'प्रधानमन्त्रीको आगमनपछि गाउँमा ठूलो आर्थिक परिवर्तन भयो। पहिले गाउँभरमा एउटा साइकल थियो, अहिले सयौं व्यक्ति मोटरसाइकल चढ्छन्। धेरैको कमाइ त्यही बाख्रापालन हो,' केपीले भने।
एकातिर बाबुआमालाई बाख्रा मिलेको थियो, अर्कातिर केपी सहयोगीहरूसँग हात फैलाएर चेपाङका छोराछोरी पढाउँदै थिए। ती बालबालिकाबारे जानकारी पाएपछि सिप्रदियन सहायता संस्था चितवन आइपुग्यो। उक्त संस्थाले ती सबै बालबालिकालाई स्नातक तहसम्म पढाउने जिम्मा लिने भयो। चेपाङ बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै केपी फेरि गाउँ पसे।
'त्यतिन्जेलमा मैले आफ्नो उद्देश्य निकै ठूलो बनाइसकेको थिएँ,' उनले भने, 'चितवनमा सिद्धी जस्ता धेरै गाउँ छन् जहाँ प्रशासनको एक नजर पनि पुगेको छैन। मैले ती ठाउँका चेपाङका लागि पनि केही गर्नुपर्छ भन्ने थियो।'
सिद्धीबाट काउले हुँदै कोराकसम्म एक फेरो लगाउँदा उनले पढ्न नपाएका २७ जना बालबालिका फेला पारे। रत्ननगरको जयमंगलामा एउटा भाडामा लिएर उनीहरूलाई राखे। यही समय गामबेसीको चेपाङ संरक्षण केन्द्र नामक संस्था दर्ता गरे। त्यसैमार्फत बालबालिकालाई नजिकका स्कुलहरूमा पढ्ने व्यवस्था मिलाए।
सामाजिक काममा केपीको सक्रियताले धेरैको ध्यान तान्न थालेको थियो। उनले जम्मा गरेका छात्रछात्राका लागि विदेशबाट पनि सहयोग आउन थाल्यो।
'स्थानीय र राष्ट्रिय मिडियाहरूले चेपाङ बालिबालिकाबारे खबर प्रकाशन गरे। कोहीले सामाजिक सञ्जालहरूमा फोटा राखे। स्वेदश र विदेशमा बस्ने नेपालीको सहयोग प्राप्त हुन थाल्यो,' उनले भने, 'खाडी देशबाट फर्किएर पनि यस्तो सामाजिक काम गर्न सकिने रहेछ भनेर धेरै मान्छे हेर्न आए। चाडपर्वहरूमा र आफ्नो जन्मदिनमा सहयोग गरे।'
सहयोगीहरूको लहरले उत्साहित केपी भाडाको घरको विकल्प खोज्न थाले। उनले रत्ननगर नगरपालिका–११, मंगलपुरमा पञ्चकन्या समुदायिक वनको १६ कट्ठा पर्ती जग्गा फेला पारे। स्थानीय पञ्चतेजज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरको पहलमा उनले उक्त जग्गामा छात्रावास सञ्चालनको अनुमति पाए।
जग्गा त भयो तर त्यहाँ भवन बनाउनु कम चुनौतीको काम थिएन। शर्माले विभिन्न माध्यमबाट देश–विदेशमा रहेका दातासँग सहयोग आह्वान गरे। जापानमा रहेका चितवनका युवा दीपकबाबु नेपालले सबैभन्दा पहिले ३ लाख १६ हजार रूपैयाँ संकलन गरेर पठाइदिए। उक्त रकमले दुई कोठे टहरो बनाउन सुरू भयो।
गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएका तत्कालीन अध्यक्ष जीवा लामिछानेले संघका तर्फबाट एक लाख रूपैयाँ दिए। कतारमा बस्ने घनश्याम पराजुलीको सक्रियतामा तीन लाख १२ हजार रूपैयाँ प्राप्त भयो।
यति भएपछि गामबेसीको चेपाङ संरक्षण केन्द्रको आफ्नै टहरो तयार भयो। भाडाको घरमा बस्दै आएका बालिबालिकाले आफ्नै घर प्राप्त गरे। लगत्तै सौराहाका पर्यटन व्यवसायी श्रीलाल परियारको पहलमा अष्ट्रियामा बसोबास गर्ने माया मुलारको सहयोगमा एउटा हल बन्यो। बालबालिकालाई पढ्ने, खाना खाने र कार्यक्रम गर्ने हल पनि तयार भयो। केपीले गाउँमा पढ्न नपाएका थप बालबालिका जम्मा गरे। छात्रावासबारे थाहा पाएका विपन्न अभिभावकहरू छोराछोरी बोकेर आउन थाले।
बालबालिकाको संख्या बढ्दै जाँदा आवास विस्तार गर्नु पर्ने भयो। जर्मनीमा बस्ने एनआरएनका संस्थापक मध्येका एक रामप्रताप थापाले ४० लाख रूपैयाँ सहयोग गरे। यसले छात्राहरूका लागि छुट्टै भवन तयार भयो। काठमाडौं बस्ने चितवनका मिलन ढकालले ८० जना छात्रका लागि भवन बनाउन मेड नेपाल नामक संस्थामार्फत ३९ लाख रूपैयाँ सहयोग गरे।
सहयोग संकलन गर्दै केन्द्रले अहिले ८ वटा टहरा बनाइसकेको छ। जंगलको आडैमा रहेको छात्रावास वन्यजन्तुबाट सुरक्षित राख्न पर्खाल, लगाइएको छ। केपीका अनुसार यी सबै संरचना तयार गर्दा हालसम्म करिब साढे ६ करोड रूपैयाँ खर्च भएको छ।
गामबेसीको चेपाङ संरक्षण केन्द्रमा अहिले १३५ जना बालबालिका छन्। उनीहरूमध्ये ४५ जना छात्रा छन्। उनीहरू चितवनका सबै स्थानीय तहका, धादिङ र मकवानपुर जिल्लाका हुन्।
केपी भन्छन्, 'गाउँतिर जाँदा आर्थिक र भौगोलिक अवस्थाका कारण पढ्न नपाएका बालबालिका भेटिए भने यहीँ ल्याएर पढाउने क्रम चलिरहेकै छ।'
केन्द्रमा चेपाङ संग्रहालय पनि छ। यहाँ चेपाङ समुदायको संस्कृति, वेशभुषा, रहनसहन झल्कने सामग्री राखिएका छ।बालबालिकालाई दूध खुवाउन केन्द्रमा दुइटा गाई पालिएका छन्। केही जमिनमा तरकारी खेती गरिएको छ। आम्दानीको नियमित स्रोत नहुँदा बालबालिकाका लागि बिहान, बेलुकाको छाक जुटाउन समस्या हुने गरेको केपीको भनाइ छ।
'भौगोलिक विकटता र खाद्य अभावका कारण बञ्चितहरूलाई पढाउने चाहना अझै बढिरहेको छ। गाउँ जाँदा दुःखमा परेकलाई यसै छाड्न सक्दिनँ, डोर्याएर छात्राबासमा ल्याउँछु। तर दातासँग हात नफैलाउँदासम्म उनीहरूको खान्की जुटाउन सकिएको छैन,' कपीले भने।
सरकारले ग्रामीण क्षेत्रका सबै विद्यालयमा आवासीय सुविधा र खानासहित छात्रावास व्यवस्था गरिदिए धेरै समस्याको समाधान हुने उनको भनाइ छ।
'सरकारले त्यति गरिदिए पहाडका विपन्न समुदायका बालबालिकालाई पढाउन व्यक्तिले दुःख गर्नुपर्ने थिएन।'
दातासँग सहयोग मागेर जोडेको करोडौं मूल्यको छात्रावासको संरचना स्थानीय सरकारलाई हस्तान्तरण गरेर निवृत्त जीवन बिताउने केपीको इच्छा छ। त्यसअघि चेपाङ समुदायका समस्या समाधानमा सक्रिय रहन चाहन्छन्।