महिनावारीका कुरा
(तीन वर्षअघि सेतोपाटीले महिनावारीका कुरा शृंखला सुरू गरेको थियो। उक्त शृंखलाका स्टोरीमा हामीले सार्वजनिक वृत्तमा चिनिएका महिलाहरूको महिनावारी अनुभवहरू समेटेका थियौं। एक दर्जनभन्दा बढी कलाकार, राजनीतिज्ञ, खेलाडीसँग कुराकानी गर्दा उनीहरूले आ-आफ्नो घरपरिवार, गाउँसमाजदेखि कार्यक्षेत्रसम्म महिनावारी र बार्ने कुचलनका कारण भोग्नुपरेका समस्या सुनाएका थिए। त्यस्तै महिनावारी प्राकृतिक हो, भय वा हेलाको विषय होइन भन्ने कुरा बुझाउने प्रयास पनि गरेका थिए।
हामीले 'महिनावारीका कुरा' शृंखलाको दोस्रो संस्करण सुरू गरेका छौं। यसमा पनि हामी फरकफरक क्षेत्रमा काम गरिरहेका करिब एक दर्जन महिलाहरूसँग कुरा गर्ने छौं। नयाँ संस्करणको सुरूआत गायिका एलिना चौहानको अनुभवबाट:
...
गायिका एलिना चौहान पहिलो पटक महिनावारी हुँदा विद्यालयमा थिइन्। उनी कक्षा १० मा पढ्थिन्।
महिनावारी भएपछि सुरूमा त उनी घर जानै डराइन्। बहिनी पनि त्यही विद्यालयमा पढ्थिन्। त्यसैले आमालाई आफू महिनावारी भएको जानकारी दिन भन्दै पहिले बहिनीलाई घर पठाइन्।
एलिना पहिलो पटक महिनावारी हुँदा १५ वर्षकी थिइन्। यसबारे कोसँग कसरी कुरा गर्ने भनेर उनको मनमा ठूलो डर थियो।
‘स्कुलबाट घर गएर आमालाई भन्न नै डर र लाज लागेको थियो,’ उनले आफू पहिलो पटक महिनावारी हुँदाको क्षण सम्झिन्।
स्कुलबाट घर पुग्न भने उनलाई असहज भएको थियो। घर पुगेर आमालाई जानकारी गराइन्। त्यसपछि आमाले अबदेखि छुट्टै लुकेर बस्नुपर्ने भनेको कुरा उनी अहिले पनि सम्झन्छिन्।
घरमा हजुरआमा हुनुहुन्थ्यो। आफूले चलनको रूपमा पालना गर्दै आएका कुरा अरूले पनि पालना गर्नैपर्छ भन्ने उनको दृढ मान्यता थियो।
‘हजुरआमालाई नातिनी पहिलो पटक महिनावारी भएपछि लुकाउनुपर्छ भन्ने थियो,’ चौहानले भनिन्, ‘परम्पराको नाममा मलाई पनि २२ दिन हजुरआमाले लुकाउनुभयो।’
पहिलो पटक महिनावारी भएपछि चौहानले आफू महिला भएकोमा गर्व महशुस गरिन्। सुरूमा लुकेर बस्दा स्कुल जान नपर्ने र मीठो-मीठो र पोषिलो खानेकुरा खान पाउने भएपछि रमाएकी थिइन् रे।
नेपालको विभिन्न ठाउँ र आफ्नै परम्पराअनुसार पहिलो पटक महिनावारी भएका किशोरीलाई लुकाउने, गुफा राख्ने वा छाउ पठाउने चलन छन्। सोहीअनुसार उनलाई पनि हजुरआमाले २२ दिन लुकाएकी हुन्।
लुकाएर राख्दा घर परिवारले उनलाई भान्छा कोठामा जान नदिने, कसैलाई छुन नहुने, अझ विशेष गरी छोरा मान्छेको नजरमै पर्न नहुने भन्दै गरेका व्यवहारले आफूलाई नराम्रो लागेको बताउँछिन्।
‘मैले अरूलाई छोए भने त्यो व्यक्तिलाई नराम्रो हुन्छ। मलाई पाप लाग्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले छोएको व्यक्तिलाई केही नराम्रो हुने पो हो कि भन्ने डरले पनि अरूले भनेका जति सबै कुरा बार्ने गर्थें।’
महिनावारी हुँदा पुरूषलाई हेर्न हुँदैन, कसैलाई छुन हुँदैन भनेर घरमा लुकाएर राख्ने परम्परा थियो। त्यसैले उनलाई पनि सोहीअनुरूप व्यवहार गरिन्थ्यो।
‘महिनावारी हुँदा मलाई छुट्टै भाँडामा खाना दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘मलाई त्यो हेपेर दिएको लाग्थ्यो। अनि साह्रै चित्त दुख्थ्यो।’
झापाकी एलिनालाई सानैदेखि संगीतमा रूची थियो। आफ्नो रूचीलाई उनले पछ्याउँदै गइरहेकी थिइन्। अरूको कभर गीत गाइरहन्थिन्।
‘पहिलेदेखि नै कभर गीतहरू गाइरहन्थे,’ उनले भनिन्, ‘कभर गीत गाएको स्रोताहरूले मन पराउन थाल्नुभयो। त्यसपछि संगीतका लागि उनी काठमाडौंमा बस्न पर्ने भयो।’
झापामा महिनावारी बार्ने गरेकी उनी काठमाडौंमा छोइछाइ नबारेको देख्दा छक्क परिन्। सानो ठाउँमा आएर बस्दा बार्ने कुरा सम्भव नभएर पनि होला।
२३ वर्षीया एलिना कामको शिलशिलामा कार्यक्रम गर्न पहिलो पटक बहराइन गएकी थिइन्। त्ससपछि एक महिना अष्ट्रेलिया गइन्। त्यसपछि उनले यी सब अन्धविश्वास मात्रै भएको थाहा पाइन्।
कार्यक्रमहरूमा उनले त्यहाँको चलनचल्ती देखिन्। विदेशमै बस्ने नेपालीहरूले पनि महिनावारी सामान्य रूपमा लिएको देखिन्। त्यसपछि महिनावारीलाई सामान्य रूपमा बुझ्नुपर्छ भन्ने उनलाई लाग्यो।
‘विदेशमा हुँदा त महिनावारी सामान्य रहेछ भन्ने बुझें। सबै महिलाहरू हरेक महिना हुने शारीरिक नियमित प्रक्रिया न हो,’ उनले भनिन्।
उनी आफूले यी कुराहरू बुझे पनि परिवारलाई अझै पूर्ण रूपमा बुझाउन नसकेको बताउँछिन्।
उनी भन्छिन्, ‘महिनावारीमा बार्नुपर्दैन भनेर बुझेकी छु। तर म र मेरो अघिल्लो पुस्ताबीच ग्याप हुँदा उहाँहरूलाई अझैसम्म बुझाउन सकेकी छैन। कयौंपटक यसबारे बुझाउँदा पनि उहाँहरू परम्परागत चलन भन्दै तोड्न तयार हुनुहुन्न।’
एलिना आफूभन्दा माथिका पुस्तालाई परिवर्तन गराउन नस केपनि आउँदो पुस्तालाई महिनावारी सामान्य तरिकाले लिन सिकाउने बताउँछिन्।
एलिना घरकी जेठी छोरी हुन्। उनका दुई जना बहिनी छन्। आमासहित गरेर घरमा पाँच महिला छन्। एलिनाका अनुसार बेलाबखत उनीहरू एकैपटक समेत महिनावारी हुन्थे। त्यस्तो बेला घरमा कसले खाना पकाउने भन्ने हुन्थ्यो।
‘यस्तो धेरै पटक भयो। त्यसपछि त बारेर साध्य नहुने रहेछ भनेर आमा आफैंले खाना पकाउन अघि सर्नुभयो,’ एलिनाले भनिन्।
अहिले उनी महिनावारी हुँदा भान्सामा जाने, खाना पकाउने, सँगै खानेलगायत कुरालाई सामान्य रूपमा लिन्छिन्। तर अझै पनि पूजा कोठा जाने, बाहिरी मन्दिर जाने, पूजाआजा र पितृ कामकार्यमा भने संलग्न हुँदिनन्। तर पनि उनी यी कुराहरू पनि बिस्तारै परिवर्तन हुने विश्वास राख्छिन्।
एलिना पहिले महिनावरीबारे कुरा गर्न सक्थिनन्। अहिले उनी यसबारे खुलेर कुरा गर्न सक्छिन्।
केही वर्ष अघिसम्म उनी स्यानिटरी प्याड खरिद गर्दा पत्रिकामा बेरेर मात्रै घर लग्थिन्। तर अहिले उनी कुनै पनि झोलाबिना नै प्याड बोकेर हिँड्न सक्ने भएकी छन्।
‘पहिले त प्याड कसैले देख्ला कि भनेर लाज हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले घरमा भाइले बहिनीहरूका लागि सहजै प्याड किनेर ल्याइदिन्छ।’
एलिना घरमा हुँदा महिनावारीले धेरै अप्ठेरा हुँदा आराम गर्छिन्। तर स्टेज सो गर्न जाँदा भने आराम गर्न नपाइने बताउँछिन्।
‘स्टेज सोको मिति अगाडि नै तय हुने हुँदा महिनावारीले कठिन बनाएकै कारण रद्द गर्न मिल्दैन,’ उनी भन्छिन, ‘गाह्रो भए पनि औषधी खाएर काम गर्छु।’
गीतहरू रेकर्डिङ गर्दा महिनावारीका कारण गाह्रो हुँदा प्रोड्युसरले समस्या बुझ्ने उनको भनाइ छ।
‘सामान्य रूपमा लिएर आराम गर्नु भन्नुहुन्छ,’ उनले भनिन्।
अहिले केही मानिसहरूले महिनावारीलाई सहज रूपमा लिन थालेको र बिस्तारै सबैले सामान्य लिने उनको विश्वास छ।
‘यो एक शरीरको नियमित प्रक्रिया हो,’ उनी भन्छिन्, ‘महिनावारी विषयमा मेरो आमाको पुस्ताभन्दा ममा परिवर्तन आएको छ। म भन्दापछिको पुस्तामा त महिनावारीप्रति कुनै दृष्टिकोण नै हुँदैन होला, किनकी यो नियिमत प्रक्रिया न हो।’