महिनावारीका कुरा
कमेडियन सीता न्यौपाने कक्षा सातमा हुँदा पहिलोपटक महिनावारी भएकी थिइन्। उमेर थियो ११ वर्ष। वैशाख १२ गते, खाजा खाने समयमा साथीले 'रगत लाग्यो' भनेको उनलाई अझै सम्झना छ।
सीताको स्कुलको ड्रेस निलो स्कर्ट थियो। रातो रङ लाग्दा कालो देखिन्थ्यो। सोही आधारमा साथीले भनेकी थिइन्।
'उसले रगत होला भन्दा मैले मसी पोखियो होला भनेकी थिएँ,' २७ वर्षीया सीताले सम्झिन्।
घर आएर उनले आमालाई भनिन्। आमाले 'तँ पर सरिस् अब, दाइ र बाबाले हेर्न हुँदैन' भनिन्।
सीताले पनि भनिछन्, 'उहाँहरूले हेर्न हुँदैन भने दाइ र बाबालाई नै लुकाउनु न, किन मलाई लुकाउनु!'
विभिन्न ठाउँअनुसार पहिलो पटक महिनावारी हुँदा लुकाउने, गुफा राख्ने वा छाउ पठाउने गरिन्थ्यो। धेरै ठाउँमा यो चलन अझै छ। सोहीअनुसार सीताले पनि लुक्नु पर्यो।
सुरूमा उनलाई अर्कैको घरमा राख्ने भनिएको रहेछ। सीताका दाइ मानेनन्। अनि घरमै छुट्टै कोठामा बसेको उनले बताइन्।
पाँचौं दिनदेखि स्कुल जान थालेकी थिइन्।
अरू बेला आमाले खाए नखाएको खासै वास्ता नगर्ने र भोक लागे झिकेर खान्छे भन्ने सोचे पनि महिनावारी हुँदा एकदमै ख्याल गरिन्। माया गरेर मीठोमसिनो र पोषिलो खानेकुरा खुवाइन्। पछि पनि यो क्रम चलिरह्यो।
'अमिलो-पीरो खान मन लाग्यो होला भनेर तितौरा पनि किनेर ल्याइदिनु हुन्थ्यो,' सीताले सम्झिन्, 'मलाई त स्कुल पनि जान नपर्ने र मीठो-मीठो खान पाएको देख्दा सधैं महिनावारी भए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो सोच गलत रहेछ भन्ने पछि थाहा पाएँ।'
किशोर उमेरमा महिनावारी भएका बेला उनी खुबै लजाउँथिन्। घरमा कोही आफन्त र छरछिमेक आउँदा लुकेर बस्थिन्। अरूसँग कुरा गर्न र आफू महिनावारी भएको कुरा भन्न लाज लाग्थ्य।
'घरमा अरू आउँदा अब त यो आइमाई भई, बच्चा पाउन योग्य भई, बिहे गरेर पठाउँदा हुन्छ भन्ने किसिमको कुरा हुन्थ्यो,' उनी भन्छिन्, 'त्यसैले पनि कोठाबाट बाहिर निस्किन्न थिएँ।'
महिनावारीबारे आमाबाहेक अरूसँग कुरा हुन्थेन। बाहिर भने केटीमान्छेहरूसँग खुलेर कुराकानी गर्थिन्। चार दिन बार्ने नाममा आराम गर्न दिएको भन्ने तर्क गर्छन् कोहीकोही। उनी यो कुरा मान्दिनन्।
'त्यसो भए चार दिन मात्र आराम गर्न दिएर हुन्छ,' उनी भन्छिन्, 'अरू २६ दिन भारी बोक्नेदेखि कामकै भारीले लादेको हुन्छ। शरीरलाई चार दिन मात्र आराम गरेर त पुग्दैन होला नि!
त्यसो त बाहिर काम गर्नुभन्दा घरभित्रकै काम सहज हुने उनको भनाइ छ। घाँस-दाउरा, कुँडो-पानी लगायत गर्न धेरै बल चाहिने भएकाले महिलाहरूलाई शारीरिक भार थपिने र गाह्रो हुने उनको जिकिर छ।
महिनावारी समयमा पोषिलो खानुपर्ने भए पनि हामीकहाँ यस्तो चलन नभएको उनी बताउँछिन्।
'शक्ति दिने रसिलो र झोलिलो खानुपर्छ। तर हामीकहाँ त दूधसमेत खान नदिने चलन पनि छ,' उनी भन्छिन्,' महिनावारी भएकाले काटेको घाँस गाईलाई खुवाउन केही नहुने तर त्यही गाईले दिने दूध खान नहुने रे, कस्तो अचम्म नियम!'
सीता अहिले काठमाडौंमा डेरा लिएर एक्लै बस्छिन्। उनका अनुसार कहिलेकाहीँ हजुरआमा आउँदा बार्ने गरेको छ कि छैन भन्दै सोध्छिन्।
उनी कमेडी शैलीमै जवाफ दिन्छिन्- बार्ने गरेको छ। महिनावारी हुँदा अर्कातिरबाट पकाएर खाने गरेको छु।
कोठाको एउटा कुनामा किचन र सुत्ने ठाउँ त्यही नजिकै हुन्छ। एक्लै बस्ने ठाउँमा कसले बारेर, कसले पकाएर खान दिन्छ? उनलाई यसै भन्न मन लाग्छ।
'तर उहाँहरूसँग झगडा गरेर बस्न सकिँदैन। बुझाउन पनि सकिँदैन। त्यसैले बार्ने गरेको छ भनेपछि कुरै सकिन्छ,' उनी भन्छिन्।
महिनावारी बार्ने घरमा पुग्दा त उनी चुप लागेर केही नभनी बस्छिन्। त्यो गर्दा नै उपयुक्त हुने उनलाई लाग्छ। जसरी आफूमा परिवर्तन बिस्तारै आयो, अरूमा पनि आउँछ भन्ने उनलाई लाग्छ। पहिले महिनावारी भएको समयमा धेरै लजाउने उनी अचेल खुलेर कुरा गर्छिन्।
स्कुले जीवनमै जति कुरा भयो, उति सहज हुने उनको अनुभव छ। उनका शिक्षकले पनि राम्ररी पढाएकाले धेरै कुरा सहज भएको उनले बताइन्। उनीहरूको स्कुलमा लेखा र स्वास्थ्य शिक्षा विषय एउटै शिक्षकले पढाउँथे।
'हाम्रो उमेरका केटाकेटीलाई महिनावारी र स्वास्थ्यबारे ज्ञान दिनुपर्छ भन्ने सोचेर होला, अर्को कोर्स बाँकी राखेरै भए पनि स्वास्थ्यको कोर्स सक्नुभएको थियो,' उनले भनिन्।
त्यस्तै कुनै बेला साथीभाइसँग कतै बाहिर जानु परे महिनावारी नजिकिँदै छ भनेर नजाने कि भनेर सोच्थिन् उनी। अहिले वास्तै गर्दिनन्। महिनावारी अब उनको बाधा बन्दैन।
कमेडी करिअरमा उकालो लागिरहेकी सीता चितवनको रामपुरमा जन्मेकी हुन्। परिवारमा आमाबुवा र दुई दाजु छन्। माइक्रोबायोलोजी विषय पढेकी उनको रूचि भने कमेडीमा थियो। साथीसंगीमाझ सधैं जोक सुनाइरहेकी हुन्थिन्। युट्युबमा आउने स्ट्यान्ड अप कमेडी खुबै हेर्थिन्। त्यसरी हेर्दै जाँदा आफू पनि सक्छु कि भन्ने लाग्यो। यही प्रयासले उनलाई नेपग्याज्म कमेडीमा पुर्यायो। त्यहाँबाट सुरू भएको कमेडी यात्रामा उनले पछाडि फर्किनु परेको छैन।
महिनावारीले उनको काममा कहिलेकाहीँ प्रभाव पार्छ। मुड स्विङ (मुड बदलिरहने) हुन्छ। राम्रो हुँदा त ठीकै हो, झिँजो लागेको, दुखी भएको र रिस उठेका बेला भने उनी चुप लागेर बस्छिन्। अरूलाई हँसाउने काम भएकाले आफ्नो मुड बिग्रेको सकेसम्म थाहा दिन्नन्।
परिवर्तन आजको भोलि सम्भव नहुने र बिस्तारै हुँदै जाने उनको विश्वास छ। अचेल विस्तारै मानिसहरूले महिनावारीलाई सहज मान्दै गएको अनुभव उनले गरेकी छन्।
'कुनै पनि कुरा आजको भोलि परिवर्तन हुँदैन,' उनी भन्छिन्, 'यी सब कुरा बिस्तारै फेरिँदै जाने हुन्। हाम्रा हजुरआमाहरूले एकदमै बार्नुहुन्थ्यो। आमाको पुस्तामा आउँदा अलि कम भयो। एक-एक खुड्किलो गर्दै हुन्छ।'
उनले उदाहरण दिँदै थपिन्, 'पहिलोपटक महिनावारी भयो भन्दा पहिलेपहिले छरछिमेकदेखि आफन्तसम्मले कुरा काट्थे, अचेल त केक काट्छन्। सेलिब्रेसन गर्छन्।'
उनी यो पक्षलाई राम्रो वा नराम्रो दुवै मान्दिनन्। शारीरिक विकासको सामान्य प्रक्रिया भन्ठान्छिन्। तर कसैले यसलाई उत्सव मानेर मनाउँछ भने त्यसलाई नराम्रो भन्न नसक्ने उनले बताइन्।
'यो सबैमा हुने सामान्य कुरा हो। हर्मोन विकास भएको हो। त्यसो भए त केटाहरूको जुँगाको रेखी आउँदा पनि सेलिब्रेट गर्ने त!,' उनले रमाइलो शैलीमा भनिन्, 'तर छुँदै नछोएर दुरदुर गर्नुभन्दा यही राम्रो हो।'
सीता महिनावारीलाई सामान्य र प्राकृतिक नियम भनेर बुझ्नपर्ने बताउँछिन्। शरीरभित्रै रगत हुँदा चाहिँ शुद्ध र बाहिर निस्किएपछि अशुद्ध भन्ने हुँदैन। तर समाज बदलिन पनि समय लाग्छ। आफूभन्दा अगाडिका पुस्तालाई बुझाउन कोशिस गर्दा नसकेको उनको अनुभव छ। नयाँ पुस्तालाई भने बुझाउन सक्नेमा उनी विश्वस्त छिन्।
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)