महिनावारीका कुरा
भोजपुरको पौवादुङमा गाउँपालिकामा जन्मिएकी हुन् अल्ट्रा धावक मीरा राई। विश्व अल्ट्रा रनिङमा आफूलाई स्थापित गर्दै आएकी धावक मीरा नेसनल जोग्राफिकले सन् २०१६ मा सार्वजनिक गरेको 'वर्षकै साहसी व्यक्ति' को सूचीमा परेकी थिइन्।
उमेरले तीन दशक पार गरेकी उनी पहिलोपटक महिनावारी हुँदा कति वर्षकी थिइन्, उनलाई यकिन छैन।
'१४ वर्षकी थिएँ होला,' उनी अनुमान गर्छिन्।
मीरा गोठालो गएकी थिइन्। एक्कासि उनलाई शरीर भारी भएको अनुभव भयो। अनि बल्ल उनले आफू महिनावारी भएको महसुस गरिन्। घर गएर आमालाई सुनाइन्।
'मैले महिनावारी भएँ भन्नासाथ आमाले गाईको दूध एक गिलास ल्याएर दिनुभयो,' उनले त्यो क्षण सम्झिँदै भनिन्।
आमाले दूध खान दिनुको कारण उनलाई थाहा छैन। महिनावारी भएपछि शरीर कमजोर हुने भएकाले तागतिलो खानेकुरा खानुपर्छ भन्ने ज्ञान आमामा भएको हो कि भन्ने उनलाई लाग्छ।
'घरमै भइराख्ने र तागतिलो पनि हुने भनेर दूध दिनुभएको होला,' उनले भनिन्।
त्यो बेला अहिलेजस्तो स्यानिटरी प्याड, ट्याम्पुन र मेन्स्ट्रुअल कप लगायत सामग्री पाइँदैन थियो। सहरबजारमा प्याड पाइहाले पनि महँगो पर्थ्यो। त्यसैले प्रायः सूतीको कपडा, सारी, सिरकको खोल, तन्नादेखि अलि नरम कपडा जे छ, त्यसकै टालोले प्याडको काम गर्थ्यो। उनकी आमाले पनि उनलाई सिरकको पुरानो खोलको कपडा लगाउन दिएकी थिइन्।
यसबाहेक महिनावारी उनका लागि सोच्ने विषय नै भएन। उनका अनुसार राई समुदायमा महिनावारी बार्ने कुचलन छैन। छोइछिटो हुँदैन।
'आमा र अरूले कहिल्यै बारेको थाहा पाइनँ। हाम्रो संस्कृतिमा बार्ने चलन नै छैन,' उनले भनिन्, 'त्यसैले महिनावारी बार्नुपर्छ भन्नु भ्रम र अन्धविश्वास हो। नबार्दा केही त भएको छैन।'
महिनावारी हुँदा बोटबिरूवा छुन नहुने, कीरा लाग्छ, फल झर्छ भन्नेजस्ता अनावश्यक कुरा सबै भ्रम रहेको बताउँछिन्।
'महिनावारी बेलामा बोटबिरूवा छुँदा कुहिने, झर्ने कुराहरू असम्भव नै हो,' उनी भन्छिन्, 'महिनावारी हुँदा खेती किसानी नगर्ने भन्ने त हुँदैन। अहिलेसम्म मैले त्यस्तो केही पनि भएको देखेकी छैन।'
त्यस्तै बार्ने कुरामा कसैलाई जबरजस्ती गर्न नहुने पनि उनी बताउँछिन्।
'आफूले मानेको कुरा अरूलाई मन भए पनि, नभए पनि बार्नैपर्छ भनेर थोपरिदिने गरेको सुनेकी र देखेकी छु। त्यो गर्नु गलत हो,' उनी भन्छिन्, 'आफूलाई बार्न मन छ भने बार्दा भयो। तर आफूले बार्ने कुरा अरूले पनि बार्नैपर्छ भनेर त्यसैको पछि लाग्न हुँदैन।'
पहिल्यैदेखि मीराको घरमा महिनावारीलाई सामान्य र प्राकृतिक मानिन्थ्यो। नबार्ने चलन भएपछि कुनै समस्या नै भएन। त्यसैले पनि उनले महिनावारी यस्तो, उस्तो भनेर कुनै किसिमको धारणा नै बनाउन परेन।
महिनावारी बेला अरू महिलाले पनि आफ्नो समुदायमा जस्तै व्यवहार हुने भए धेरै परिवर्तन हुने उनलाई लाग्छ।
महिनावारी हुँदा शरीर भने कमजोर हुने भएकाले पोषिलो खाना खानुपर्ने उनी बताउँछिन्।
'महिनावारीमा शरीरमा कमजोरी हुन्छ,' उनले भनिन्, 'त्यस्तो समयमा भगवान, समाज वा मान्छेको डरका नाममा नपकाउने, नखाने, बार्ने गरेर बस्नु हुँदैन। बरू तागतिलो प्रोटिन, भिटामिन र क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ। यस्ता खानपानमा ध्यान दियो भने शरीर बलियो र तागतिलो हुन्छ।'
तर पहिले र अहिले महिनावारीका विषयमा धेरै कुराहरू फेरिएको महसुस उनले गरेकी छन्। अचेल महिनावारीबारे सहरतिर खुलेर कुरा हुन्छ। गाउँघरमा पनि धेरै महिलाहरू यसमा सहज हुँदै छन्। पत्रपत्रिकादेखि टिभी, सामाजिक सञ्जालहरूमा पनि यसबारे कुरा हुन्छ। यसबारे जानकारी र ज्ञान पनि सानैदेखि हुन थालेको छ।
तर मीराको जमानामा यस्तो थिएन। काकीले लुगा धुने बेलामा उनको लुगामा रगत देखेपछि मात्रै मीराले महिनावारीबारे थाहा पाएकी थिइन्। आमालाई गएर उनले काकीको लुगामा कसरी रगत लाग्यो भनेर सोधिन्। यसपछि आमाले उनलाई बुझाइदिएकी थिइन्।
आफ्नो समुदायमा महिनावारी एकदमै सामान्य कुरा भएकाले यसबारे चर्चा वा जिकिर भएन। महिनावारीमा अप्ठ्यारा भोगाइहरू भने हुन्थे।
स्कुलदेखि घरसम्मै त्यो बेला व्यवस्थित शौचालय हुँदैन थिए। महिनावारीका बेला साह्रै मुश्किल हुन्थ्यो।
'त्यति बेला स्कुलमा पनि शौचालय थिएन,' उनी भन्छिन्, 'शौच गर्न पनि जंगलमै जानुपर्थ्यो। त्यस्तो बेलामा महिनावारी हुँदा कठिन हुन्थ्यो।'
अचेल शौचालयहरू भएकाले यो कठिनाइ भोग्न पर्दैन। यसले महिलाहरूलाई सहज वातावरण सिर्जना भएको छ।
मीरा आफैंलाई पनि महिनावारी भएको समयमा शारीरिक रूपमा कमजोरी हुन्छ। अझ खेल क्षेत्रमा लागेकी उनले नियमित अभ्यास गर्नुपर्ने हुन्छ। अरू बेला सहजै अभ्यास गर्ने उनलाई महिनावारीका बेला गाह्रो हुन्छ। त्यसैले हल्का अभ्यास मात्रै गर्छिन्।
'महिनावारीका बेला शरीरमा तागत र बल कम भएको हुन्छ। असहजपन पनि महसुस भइरहेको हुन्छ। यस्ता कुरामा विशेष ध्यान दिएर सोही अनुसार हलुका काम र अभ्यास मात्र गर्ने गरेको छु,' उनले भनिन्।
अल्ट्रा खेलाडी उनले महिनावारीकै कारण शारीरिक कठिनाइ भएर दुइटा खेल छुटाउनु परेको थियो।
'महिनावारी हुँदा स्टामिना कम हुन्छ। राम्रोसँग सोचेअनुरूप आफूले फिल्डमा प्रदर्शन गर्न सकिँदैन। यसरी नै कतिवटा गेम नराम्रो पनि भएको छ,' उनी भन्छिन्, 'महिनावारीकै कारण दुइटा गेम मिस नै गरेकी छु।'
उनले एक पटक मैदानमा गेमको बीचमै प्याड झरेर अप्ठ्यारो भएको पनि सुनाइन्।
'यसै त महिनावारी बेला गाह्रो हुन्छ,' उनी भन्छिन्, 'अरू बेला समयअनुकूल व्यवहार गर्दै जाँदा पनि त्यस बेला गाह्रो भएको थियो।'
उनी अचेल प्याडको सट्टा मेन्सट्रुअल कप प्रयोग गर्छिन्। खेलकै सिलसिलामा इटाली पुग्दा महिनावारी कपबारे जानकारी पाएकी थिइन्। महिनावारी कप लगाउन थालेपछि कठिनाइ भोग्नु नपरेको उनी बताउँछिन्।
मीरा १४ वर्षको कलिलै उमेरमा माओवादी युद्धमा समेत सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिम लिइन्। त्यो बेला महिनावारी हुँदा पनि कुनै किसिमको कठिनाइ नभोगेको उनी बताउँछिन्। महिनावारी भएको समयमा गाह्रो हुँदा कमान्डरले सजिलो तालिम दिन्थे रे।
'त्यति बेला सबै समान हुन् भनेर नै जनआन्दोलन सुरू भएको थियो। सो बेलामा महिनावारी बार्ने लगायत, अप्ठ्यारो भयो भनेर महिलालाई नराम्रो व्यवहार गर्ने त कुरै थिएन,' उनले भनिन्।
माओवादी र सरकारबीच शान्ति प्रक्रियापछि सेना समायोजन क्रममा मीरा 'अयोग्य लडाकू' मा परिन्। यसपछि उनको खेल जीवन सुरू भएको थियो।
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)
२- कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ)
३- सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ)