काठमाडौं महानगरपालिकाले नयाँबानेश्वरबाट हटाएका फुटपाथ व्यवसायीहरूले आफ्नो रोजीरोटीको विकल्प खोजेका छन्। उनीहरू अहिले बानेश्वर चोकमा बनाइएको फलामको अस्थायी घरमा दैनिक भाडा तिरेर व्यवसाय गरिरहेका छन्।
तपाईंहरू बानेश्वर जानुभयो भने नबिल बैंकको देब्रेतिर तीनतले फलामको घर देख्नुहुन्छ, जहाँ 'सम्पूर्ण फुटपाथ बजार पहिलो र दोस्रो तलामा' भनेर रातो अक्षरमा लेखिएको पहेँलो बोर्ड छ। यहाँ १२० वटा स्टल छन्। भुइँतलामा तरकारी र फास्ट फुडका स्टल छन् भने पहिलो र दोस्रो तलामा लुगाफाटा, जुत्ता, भाँडाकुँडा, बत्ती, सिरक, गरगहना लगायत घरमा उपभोग हुने खिद्रीमिद्री सामान पाइन्छन्। यीमध्ये अधिकांश व्यवसाय पहिले फुटपाथमा सञ्चालन हुँदै आएका थिए।
महानगर प्रहरीले लखेटेर हैरान पारेका यी सडक व्यवसायी कसरी एकठाउँ संगठित भएर व्यवसाय गर्न थाले त?
धेरैले यसमा महानगरकै साथ र सहयोग छ भनेर भनिरहेका छन्। के यो साँचो हो? के उनीहरूलाई व्यवस्थित ढंगले व्यवसाय गर्न काठमाडौं महानगरले नै यो ठाउँ उपलब्ध गराएको हो? कि महानगरबाट लखेटिएका सडक व्यवसायीले आफ्नो रोजीरोटी निम्ति आफैंले विकल्प खोजेका हुन्?
यी सबै प्रश्नको उत्तर जान्न हामी आइतबार बानेश्वरको उक्त बजार गयौं।
सबभन्दा पहिला हामीले तरकारी व्यवसाय गर्ने ४० वर्षीया मीना लिम्बूसँग कुरा गर्यौं। उनी आफ्नो पसल छोपछाप पारेर दुई-चारवटा झोलामा गोलभेडा, साग लगायत तरकारी पोको पार्दै थिइन्।
हामीले सोध्यौं, 'तपाईंहरूलाई यहाँ महानगरले ल्याएर व्यवस्थापन गरेको हो?'
जवाफमा उनले भनिन्, 'सबै जना महानगरले फुटपाथ व्यवस्थापन गर्न हामीलाई यहाँ सारेको भनिरहेका छन्। युट्युबमा पनि त्यस्तै भनेको सुनिन्छ। तर हामीलाई यहाँ कसैले ल्याइदिएको होइन। हामी आफैं आएका हौं?'
'कसरी आइपुग्नुभयो त?'
हाम्रो यो प्रश्नमा मीना लिम्बूले भनिन्, 'फुटपाथमा व्यापार गर्दा नै हामी आफ्ना सामान यहाँ ल्याएर राख्ने गर्थ्यौं। एक किसिमले भन्दा बानेश्वरका फुटपाथ व्यवसायीहरूका निम्ति यो ठाउँ गोदामजस्तै थियो। काठमाडौंका मेयर बालेन शाहले साउन पहिलो सातादेखि हामीलाई फुटपाथबाट लखेट्न थाल्नुभयो। त्यसपछि हाम्रो बिचल्ली भयो। कयौं दिन घरमै बस्यौं। फेरि फुटपाथमा पसल खोलूँ भने महानगर प्रहरीले सामान खोसेर लगिदेला भन्ने पीर! नखोलूँ, हातमुख जोर्नै धौधौ! पहिले बचाएको दुई-चार पैसाले कति दिन घर धान्ने!'
उनले अगाडि भनिन्, 'एकदिन गोदामका घरबेटीले तिमीहरूलाई यहीँ पसल राख्ने व्यवस्था गरिदिन्छु भन्नुभयो। घरबेटीले नै व्यापारको वातावरण बनाइदिन्छु भनेपछि हामी खुसी भयौं।'
यहाँ पसल चलाउन थालेपछि महानगर प्रहरीले लखेट्ला भन्ने डर छैन, तर गुजारा चलाउन सकस भइरहेको मीना बताउँछिन्।
पसल राखेबापत् उनले दिनको करिब हजार रूपैयाँ भाडा तिर्नुपर्छ। यो उनको व्यापार र आर्थिक क्षमताभन्दा धेरै बढी हो।
मोरङकी मीना शंखमूलमा बस्छिन्। उनको एक छोरी छिन्। पसलकै लागि महिनाको लगभग ३० हजार भाडा तिरेर घरखर्च चलाउन र छोरीको पढाइ खर्च धान्न गाह्रो हुने उनी सुनाउँछिन्। त्यसमाथि फुटपाथको दाँजोमा यहाँ व्यापार कम छ। यसले उनलाई थप समस्या परिरहेको छ।
'फुटपाथमा सामान देखेका भरमा किन्ने मान्छे हुन्थे भने यहाँ सामान चाहिएपछि मात्र किन्न आउँछन्। त्यसैले पहिलेजस्तो व्यापार छैन,' उनले भनिन्, 'फेरि मेरो त लुगाफाटो होइन, दिनभरि बिक्री हुनलाई। तरकारी हो, बिहान एकछिन व्यापार हुन्छ अनि साँझ एकछिन।'
हामीले उनलाई बिक्री नभएको तरकारी पोको पारेर राख्नुको कारण पनि सोध्यौं, 'यसरी राख्दा बिग्रिन्न?'
मीनाले भनिन्, 'एक-दुइटा होटलले अर्डर गरेको थियो। त्यहीँ पुर्याउन जान लागेको। होटलले दैनिक अर्डर गर्ने भएर मात्र व्यापार अलि धानिएको छ। नत्र त यस्तो भित्री ठाउँमा तरकारी पसल चल्नै मुश्किल पर्छ।'
मीनाले फुटपाथमा तरकारी बेच्न थालेको २५ वर्ष भइसक्यो। सुरूमा अनामनगरमा व्यवसाय गर्थिन्। त्यहाँ बस्न नदिएपछि बानेश्वर आएकी थिइन्। फुटपाथमा भाडा तिर्नु नपर्ने भएकाले तरकारी बेचेर जेनतेन गुजारा चल्ने गरेको उनी बताउँछिन्। अब महँगो भाडा तिरेर कसरी जीविका चल्ला भनेर उनी चिन्तित छिन्।
'तैपनि हुँदै नहुनु भन्दा त यही ठिक छ भनेर पसल राखेकी छु,' उनले भनिन्, 'हेरूँ कति दिन धान्न सकिन्छ!'
महानगरले फुटपाथ व्यवसायीलाई विकल्प नदिई यसै हटाएर रोजीरोटीमा लात हानेको उनको भनाइ छ। अहिले पनि व्यवसायीहरू आफैंले विकल्प खोज्दा महानगरले बिनासित्ति जस लिन खोजेको उनले बताइन्।
'हामीलाई पनि मान्छे हिँड्ने बाटोमा व्यापार गर्न मन भएको होइन। तर हामीसँग विकल्प छैन। महानगरले हाम्रो समस्या बुझेर व्यवस्थापनको उपाय ल्याउनुपर्थ्यो। तर उसले हाम्रो व्यवस्थापन गर्न खोजेन, हटाउन मात्र खोज्यो,' मीनाले भनिन्।
उनका अनुसार अहिले पसल राखेको ठाउँ पनि स्थायी होइन। घरबेटीले भोलि भनेका बेला ठाउँ खाली गर्नुपर्छ भनेर सर्त राखेका छन्। त्यसैले तुरून्तै यहाँबाट उठेर जानुपर्यो भने के गर्ने भन्ने उनलाई अर्को चिन्ता छ।
मीना लिम्बूसँग कुराकानीपछि हामी पहिलो तलामा उक्लियौं।
फलामको भर्याङनिर 'फुटपाथका सबै लेडिज सामान माथि' भनेर रातो अक्षरले लेखिएको सेतो बोर्ड थियो। हामी पुग्दा सबै आ-आफ्नो स्टलमा सामान मिलाउन व्यस्त थिए।
तिनैमध्ये एक महिला आफ्नो स्टलमा बच्चाका लुगाफाटो मिलाउँदै थिइन्। उनले आफ्नो नाम बताउन मानिनन् तर कुरा गर्न राजी भइन्।
उनी पनि मीनाजस्तै पहिले फुटपाथ पसल राख्दा आफ्नो सामान यहीँ राख्ने गर्थिन्। घरबेटीले पसल राख्न ठाउँ दिए पनि भाडा महँगो भएकाले धान्न मुश्किल परिरहेको उनी बताउँछिन्।
'सुरूमा दिनको सय-पचास रूपैयाँ भाडा तिर्ने भनेर आएका थियौं तर अहिले दैनिक सात सय तिर्नुपर्छ। बत्तीको पैसा छुट्टै लाग्छ,' उनले भनिन्, 'राम्रो व्यापार हुँदा त केही छैन तर व्यापार नभएका बेला चाहिँ समस्या पर्छ। भोलि दिन्छु भन्दा पनि मान्दैनन्। त्यसमाथि यहाँ फुटपाथमा जस्तो व्यापार हुँदैन।'
भाडा तिर्न नसकेर केही व्यवसायीले स्टल छाडेर हिँडिसकेको उनले बताइन्।
यो ठाउँमा स्टलअनुसार भाडा फरक छ। पहिलो तलाको स्टल दोस्रो तलाभन्दा महँगो छ। झोला र चप्पल बेच्ने २७ वर्षीय सद्दाम हुसेनले पहिले दोस्रो तलामा दिनको डेढ सय रूपैयाँ पर्ने स्टल लिएका थिए। झन्डै एक साता त्यहाँ बस्दा एक रूपैयाँको पनि व्यापार भएन। त्यसपछि उनी पहिलो तलाको तीन सयवाला स्टलमा सरेका छन्।
'के तपाईंको पनि पहिले यहाँ गोदाम थियो?'
हाम्रो यो प्रश्नमा हुसेनले भने, 'मेरो थिएन, तर यहाँ गोदाम राख्ने दाइहरूलाई चिनेको थिएँ। उहाँहरूकै सम्पर्कबाट घरबेटीसँग चिनजान भयो र यहाँ आइपुगेँ।'
उनले अगाडि भने, 'हाम्रो व्यापारको दाँजोमा भाडा महँगै हो, तर नगर प्रहरीको सधैंको कचकच, कति बेला लखेट्न आउला र सामान खोसेर लैजाला भन्ने टेन्सन चाहिँ छैन।'
हामीले कुरा गरेका यी केही प्रतिनिधि पात्र मात्र हुन्। यहाँ व्यापार गर्न आउने केही महिला बिहान अर्काको घरमा भाँडा माझ्ने, लुगा धुन्ने काम गर्छन् र साँझ पसल चलाउँछन्। केही शारीरिक अपांगता भएका व्यक्ति पनि छन्। अरू रोजगारी पाउन मुश्किल भएकाले खिद्रीमिद्री सामान बेचेर जीविका चलाउने गरेको उनीहरू बताउँछन्।
दिनभरि थोरै सामान बेचेर गुजारा गर्नुपर्ने यस्ता साना व्यवसायीहरू कमाइभन्दा बढी भाडा तिर्नुपर्दा आर्थिक भार थपिएको बताउँछन्। महानगरले बिहान र साँझको निश्चित समय फुटपाथमै व्यापार गर्न दिएको भए सजिलो हुने उनीहरूको भनाइ छ।
यहाँका सबै व्यवसायी पहिलेका फुटपाथ बिक्रेता होइनन्। केही अर्को ठाउँको पसल छाडेर आएका छन्। तिनैमध्ये एक हुन्, ५० वर्षीया पूजा शर्मा जो अन्डरगार्मेन्ट पसल चलाउँछिन्।
यहाँ आउनुभन्दा पहिले उनको कस्मेटिक पसल थियो। त्यहाँको घरबेटीले घर भत्काउने भनेपछि उनले पसल छाड्नुपर्यो। उनी केही दिन घरमै बसिन्। त्यसरी गुजारा नचल्ने भएपछि फेरि पसल थाप्ने निधो गरिन्।
बानेश्वरमै अरू ठाउँमा सटर लिन भाडा साह्रै महँगो पर्ने हुँदा सस्तो ठाउँ खोज्दै यहाँ आइपुगेको उनी बताउँछिन्। अहिले उनी दिनको तीन सय भाडा तिर्छिन्।
व्यापारीहरूसँग कुरा गरेपछि हामीले यहाँका घरबेटी मुकेश पाण्डे र व्यवस्थापक वासु पाण्डेसँग कुरा गर्यौं।
'यहाँ पहिलेदेखि फुटपाथ व्यापारीहरूको गोदाम थियो। जब महानगरले फुटपाथमा सामान बेच्न दिएन, तब मलाई बजार बनाउने आइडिया आयो,' घरबेटी मुकेश पाण्डेले भने, 'मैले फलामको संरचना त पहिल्यै बनाइसकेको थिएँ, त्यसलाई कुन रूप दिने भन्ने चाहिँ यकिन थिएन। जब सडक व्यवसायीले व्यापार गर्ने ठाउँ पाएनन्, मैले यही संरचनामा सानो सानो स्टल निकालेर बजारको रूप दिएँ।'
यसको निम्ति थप काम गरेर फलामको संरचना मजबुत बनाएको उनले बताए।
बजार व्यवस्थापक वासु पाण्डेका अनुसार मानिसको बढ्ता आवतजावत हुने ठाउँ हेरेर भाडा तोकिएको छ। भुइँतला, पहिलो तला र भर्याङ छेउछाउका स्टल महँगो छ। भुइँतलाको त दिनकै हजार रूपैयाँभन्दा बढी पर्छ। पहिलो तलामा तीन सयभन्दा बढी तिर्नुपर्छ। व्यवस्थित बजार भए पनि फुटपाथकै झलक आओस् भनेर सानो सानो क्षेत्रफलको स्टल राखिएको उनले बताए।
'फुटपाथमा व्यापार गर्नेहरूको लगानी थोरै हुन्छ। त्यसैले हामीले दैनिक शुल्क उठाउने नियम लगाएका छौं। स्टल राखेको दिन पैसा तिर्नुपर्छ, नराखेको दिन पर्दैन,' उनले भने, 'कतिपय स्टलका मान्छे एक-दुई दिन व्यापार भएन भने अर्को दिन आउनुहुन्न। हामीले कतिलाई त फोन गरेर पनि बोलाउने गरेका छौं।'
अहिले सुरूआती समय भएकाले र अफसिजन चलेकाले व्यवसायीलाई सहज होस् भनेर कतिपय स्टलमा २५ देखि ७५ प्रतिशतसम्म छुट दिइरहेको उनले बताए।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी