महिनावारीका कुरा
एलिन भण्डारी पारलैंगिक पुरुष (ट्रान्सम्यान) हुन्। छोरीका रूपमा जन्म लिए पनि उनले आफ्नो लैंगिक पहिचान पुरूषका रूपमा गरेका छन्।
तीस वर्षअघि काठमाडौंको महाराजगञ्जनमा जन्मिएका उनको नाम एलिना थियो। उमेर बढ्दै जाँदा उनलाई आफू महिला नभएर पुरूष भएको महशुस हुन थाल्यो। आठ कक्षा पढ्दा आफू पुरूष नै भएको पक्का भयो।
उनले आफूलाई एलिनका रूपमा चिनाउन थालेको भने एक दशक भयो।
आफ्नो लैंगिक पहिचान पक्का नहुँदै एलिनको महिनावारी भएको थियो, १३ वर्षको उमेरमा।
पहिलोपटक महिनावारी भएपछि उनलाई परिवारले अर्कै घरमा लगेर राख्यो। एक सातासम्म लुकाइयो। पहिलो पटक महिनावारी हुँदा घरमा बस्नु हुँदैन र घरका पुरूष सदस्यलाई हेर्न हुँदैन भन्ने मान्यता थियो।
'स्कुल जाने बेलामा ट्वाइलेट गएको थिएँ। शरीरबाट रगत आइरहेको रहेछ,' एलिनले त्यो पल सम्झिँदै भने, 'त्यसपछि आमालाई गएर भनेँ। आमाले ओहो तँ त पर सरिछेस्, महिनावारी भइछेस्, तँ बाहिर निस्किन हुँदैन भनेर लुकाउनुभयो।'
लैंगिक पहिचानको मानसिक संघर्ष चलेको बेला एलिनको शरीरले महिलामा हुने परिवर्तन देखाइरहेको थियो। उनको ध्याउन्न आफूलाई पुरूषका रूपमा चित्रण गर्ने हुन्थ्यो। शरीर महिलाको र भावना पुरूषको! यो अन्तर्द्वन्द्वसँग लामो समय चल्यो। यो सबै के भइरहेको थियो भन्ने भेउ भएन।
'शरीरमा आएको परिवर्तन के हो, कस्तो हो भइरहेको थियो,' उनले भने, 'त्यसैले आफ्नो शरीर देखेर म खुसी थिइनँ।'
महिनावारी पछिका दिनहरूमा झन् कठिनाइ बढ्यो। जीवनमा एकदमै ठूलो परिवर्तन भएको महशुस भयो। महिनावारीकै कारण शरीरको बनावटमा आएको परिवर्तनले उनलाई मानसिक रूपमा गाह्रो बनाइरहन्थ्यो।
'महिनावारी भएपछि शरीरमा परिवर्तन आयो। महिलाको जस्तो कर्भ हुन थाल्यो,' उनी भन्छन्, 'छाती ठूलो हुन थाल्यो। तब मैले थाहा पाएँ, म मेरो शरीरसँग खुसी रहेनछु। मेरो मन र मस्तिष्क मेरो शरीरसँग मिल्दैन भन्ने लाग्यो।'
मनले आफूलाई पुरूष मानेपछि उनलाई महिनावारीका समयमा सधैं कठिनाइ हुन्थ्यो। महिनावारीले 'तँ पुरूष होइन महिला होस्' भनेझैं लाग्थ्यो।
महिनावारी हुँदा उनको घरमा बारिन्थ्यो। भान्छा र पूजा कोठामा पस्न रोक थियो। छुट्टै भाँडामा खान दिइन्थ्यो। यस्तो व्यवहार उनलाई पटक्कै मन पर्दैन थियो। छोरा र छोरीमा विभेद गरेझैं लाग्थ्यो।
'घरमा दाइलाई कुनै कुरामा रोक थिएन। ऊ जता जहाँ पनि जान पाउँथ्यो। तर हामीलाई चाहिँ महिनावारीका नाममा रोक लगाइन्थ्यो,' उनले भने।
एलिनले आफ्नो शरीर र मनको भिन्नताको रहस्य खोल्न लामो समयसम्म कसैलाई भन्न सकेनन्। लुकाएरै राखे। उनलाई आफ्नो भावना अरूले नबुझ्लान् र स्वीकार नगर्लान् भन्ने डर थियो।
आफ्नो लैंगिकताबारे उनी प्रस्ट भएका ब्लु डाइमन्ड सोसाइटी (नीलहिरा समाज) पुगेर हो। यो संस्थाले लामो समयदेखि लैंगिक तथा अल्पसंख्यक समुदायको उत्थान र अधिकारका निम्ति काम गर्दै आएको छ। एलिनले त्यहाँ पुगेपछि आफू यही समुदायअन्तर्गत पर्ने पारलैंगिक पुरूष (ट्रान्सम्यान) रहेछु भन्ने थाहा पाए।
आफू यकिन भएको केही समयपछि उनले आफ्नो पहिचानबारे दाइलाई भने। तर त्यसअगाडि नै उनी हर्मोन लिन थालिसकेका थिए। उनको शरीरमा महिलाका विशेषता कम हुँदै गए। दाह्रीजुँगा पलाउन थाल्यो। उनको मनजस्तै शरीर पनि पुरूषको जस्तो हुन थाल्यो।
यही हर्मोनले उनको महिनावारी पनि रोक्थ्यो।
'म हरेक महिना हर्मोन लिन्थेँ। तर कुनै बेला छुट्यो भने फेरि महिनावारी भइहाल्थ्यो। यो मलाई फिटिक्कै मन पर्दैन थियो,' उनले भने, 'महिनावारी हुँदा जहिले पनि सकस हुन्थ्यो। पाठेघर फालेपछि महिनावारी हुँदैन भन्ने बुझेको थिएँ।'
उनले महिनावारीको झमेलाकै कारण शल्यक्रिया गरेर पाठेघर निकाले। यसपछि महिनावारी हुन छाड्यो।
'आजभोलि महिनैपिच्छे महिला भएको आभाष हुन छाड्यो,' सन्तोक मान्दै उनले भने, 'तर पाठेघर निकाल्दा निकै सकस भोग्नुपर्यो। सरकारी अस्पतालमा कानुनी जटिलता छ। त्यसैले चर्को शुल्क तिरेर गर्नुपर्यो।'
सामान्य परीक्षणका लागि पनि पारलैंगिक पुरूषहरूलाई समस्या हुने गरेको उनी बताउँछन्।
धेरै पारलैंगिक पुरूषहरूको नियमित महिनावारी हुन्छ। त्यसैले समयसँगै अब महिला मात्र महिनावारी हुन्छन् भन्ने सोच बदल्नुपर्ने उनको भनाइ छ।
'महिलाहरू मात्र महिनावारी हुने होइन, जो पनि हुन सक्छन्,' उनले भने, 'त्यसैले अबको शिक्षामा पनि यो कुरा समावेश हुनुपर्छ।'
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)
२- कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ)
३- सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ)
४- अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ)
५- रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ)